अण्डामा मनपरी मूल्य, चरम ठगी,उत्पादकले १७ मा बेच्ने,उपभोक्ताको भान्सामा २५
काठमाडौं,२४ पुस । व्यापारी र बिचौलियाको मिलेमतोमा अण्डामा मनपरी मूल्य कायम गर्दै चरम ठगी र कालोबजारी भइरहेको छ । बजारमा यसरी खुलेआम ठगी र कालोबजारी हुँदा पनि सरकारी निकायले भने प्रभावकारी अनुगमन र कारबाही गर्न सकेको छैन ।
अण्डा व्यापारी, बिचौलियाको सिन्डिकेटका कारण अण्डा उत्पादक र उपभोक्ता दुवै मारमा परेका छन् । उत्पादकले प्रतिगोटा ठूलो १७ रुपियाँमा बेच्ने मूल्य राखेको अण्डा खुद्रा पसलले २५ रुपियाँमा बेच्ने गरेका छन् । अण्डा उत्पादककले लागत मूल्य १६ रुपियाँ ५७ पैसा पाउँदा बिचौलिया र पसलेले पाउने मूल्य भने अत्यधिक धेरै छ । उत्पादकको तुलनामा पसले र बिचौलियालाई भने १० गुणाभन्दा बढी फाइदा हुने देखिएको हो ।
नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलले कृषकद्वारा उत्पादित ठूलो अण्डाको लागत मूल्य १६ रुपियाँ ५० पैसा र सानोको १५ रुपियाँ ५० पैसा रहेको बताउनुभयो । ग्रेडिङ, कार्टुन, ढुवानी, कमिसन सबैको खर्च कटाएर पसलसम्म आइपुग्दा १९ देखि २० रुपियाँ पुग्ने र पसलवालाले २२ रुपियाँ ५० पैसामा बेच्नुपर्ने कुखुरा पालक संघले बताएको छ । तर, त्यसभन्दा पनि निकै बढी २५ रुपियाँमा बेचेर खुलेआम कालोबजारी गरिएको हो ।
प्रतिव्यक्ति वार्षिक ७५ देखि ८० ओटा अण्डा खाने गर्दा वार्षिक १ अर्ब ६० करोड अण्डा खपत हुने संघले जानकारी दिएको छ । कृषकले काठमाडौंमा रहेको वितरक, वितरकले साइकल सेल्स म्यानलाई, सेल्स म्यानले पसलेलाई दिने र पसलेले उपभोक्तालाई दिने गरेको पाइएको छ । जसमा बिचौलिया तथा लागत खर्च उच्च देखिने गरेको हो ।
उता, अण्डा संघको कार्टेलिङ र सरकारी नियमन फितलो हुँदा अन्डाको मूल्यमा मनलाग्दी भएको उपभोक्तावादीले बताएका छन् । कुनै आधिकारिक तथ्यांक नभए पनि उत्पादन कम र दानाको मूल्य बढेको बहानामा मूल्य बढाइएको पाइएको छ । अण्डा उत्पादक संघले समेत आफूखुसी अण्डाको मूल्य राख्ने, अण्डा बिचौलियाले र खुद्रा पसलले बढी मूल्य लिने गरेको पाइएको छ ।
कानुनअनुसार अण्डा उत्पादक संघले आफूखुसी मूल्य बढाउन नपाउने व्यवस्था भए पनि सरकारी निकायको उपस्थिति कमजोर हुँदा बिचौलिया सलबलाएका छन् । नेपाल अण्डा उत्पादक संघको फेसबुक पेजमा अण्डाको उपभोक्ता मूल्य प्रतिगोटा १७ रुपियाँ तोकिएको छ । महासचिव प्रवीण केसीले पुस १२ गते हस्ताक्षर गरी निर्धारण गरेको ठूलो अण्डाको फार्म मूल्य प्रतिकार्टुन ४ सय ५० र बिक्री मूल्य ४ सय ५५ रुपियाँ छ ।
त्यसै गरी मझौला अण्डाको फर्म मूल्य ४ सय ३५ र बिक्री मूल्य ४ सय ४० तोकिएको छ । अण्डा व्यवसायीको मूल्यलाई हेर्दा पनि उपभोक्ताले २५ रुपियाँ तिर्नुपर्ने देखिँदैन । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, जिल्ला प्रशासन कार्यालय, स्थानीय तहलगायत सरकारी निकायलाई बजार अनुगमन गर्न र अराजक बिचौलियालाई कारबाही गर्ने अधिकार दिएको छ । तर, सबै कमिसनको चक्करका कारण कुनै कारबाही नगरिएको र उपभोक्ताले महँगो मूल्य तिर्नुपर्ने बाध्यता रहेको उपभोक्तावादीले बताएका छन् ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेललले व्यापारीले अण्डाको मूल्य आफूखुसी राख्न नपाउने बताउनुभयो । उहाँले कृषकले भन्दा बिचौलिया तथा पसलको नाफा जोडेर बजारमा २५ रुपियाँमा बेच्नु भनेको कालोबजारी भएको हुँदा कालोबजारीमा आफूहरूले कारबाही गर्न नमिल्ने बताउनुभयो । ‘बजारका धेरै तहहरू छन् । कालोबजारी ऐनअनुसार कारबाही गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयको हो ।
बजारको तह घटाउन वाणिज्य विभागले कुनै भूमिका खेल्न सक्दैन । हाम्रो कानुनले पनि अधिकार दिँदैन’ –पौडेलले नेपाल समाचारपत्रसँग भन्नुभयो । यस्तै, खुद्रा व्यापार संघका अध्यक्ष पवित्र वज्राचार्यले खुद्रा पसलले ६ सयमा किनेर ६ सय ५० प्रतिक्यारेटमा बेच्ने गरेको बताउनुभयो । उहाँले किन्दा नै महँगो पर्ने भएको हुनाले र फिर्ता पैसा दिन झन्झट भएका कारण प्रतिगोटा २२ रुपियाँ लिने गरेको जानकारी दिए पनि बजारमा प्रतिगोटा २५ रुपियाँसम्म बिक्री भइहेको छ । समाचारपत्रबाट