२४ पुस २०८१, बुधबार | January 8, 2025

हिन्दू जागरणका लोकप्रीय अभियन्ता सन्तोष आचार्यको निधनमा श्रद्धाञ्जली सभा


January 7, 2025
17.1k
Shares

काठमाडौं, २३ पौष । हिन्दू जागरणका लोकप्रीय अभियन्ता सन्तोष आचार्यको निधनमा श्रद्धाञ्जली सभा आयोजना भएको छ । सोमबार साँझ हिन्दू स्वयंसेवक संघले गौरीघाटस्थित केशवधाममा श्रद्धाञ्जली सभा आयोजना गरेको हो ।

सभामा स्वर्गीय आचार्यको सम्झना गर्दै हिन्दू स्वयंसेवक संघका राष्ट्रिय संघचालक कल्याणकुमार तिमिल्सिनाले निडर र दृढसंकल्पित हिन्दू अभिन्ताको निधनले अपुरणीय क्षति भएको बताए । उनले आचार्यलाई सत्य र धर्मका लागि आक्रामक ढंगले लेख्ने साहसी लेखक भने । आचार्यले हिन्दू एकता, समरसता र वैभवशाली बनेको हेर्न चाहेको भन्दै त्यो सपना साकार पार्न सबैले आ आफ्नो ठाउँमा निष्ठावान भएर काम गर्नुपर्ने बताए ।

हिन्दू स्वयंसेवक संघका राष्ट्रिय प्रचार प्रमुख डा. दीपककुमार अधिकारीले आचार्यलाई हिन्दू धर्मको रक्षाका लागि अहोरात्र खटिने कार्यकर्ताका रुपमा स्मरण गरे । लामो त्याग र तपस्याबाट आचार्य लोकप्रीयताको उचाईमा पुगेको भन्दै उनको निधनले संघले मात्र नभई नेपाल र विश्वभरका हिन्दू समुदायले साहसी लेखक तथा विचारक गुमाएको बताए ।

हिन्दू स्वयं सेवक संघका ललितपुर प्रचार प्रमुख समेत रहेका पत्रकार डा. दीपेश केसीले आचार्यलाई आक्रामक लेखक भन्दै हिन्दू समुदायले होनहार युवा गुमाएको बताए । उनले स्वर्गीय आचार्यमा विलक्षण प्रतिभा र जस्तोसुकै दुःखको सामना गर्ने क्षमता रहेको बताए । आचार्यप्रति सच्चा सम्मान गर्न उनको योगदानलाई स्मरण गर्दै हिन्दू एकता र समृद्धिका लागि थप काम गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा आचार्यसँग काम गरेका पत्रकारहरु केशव प्रसाद अधिकारी, रवि रिमाल, कृष्ण हुमागाईँलगायतले आचार्यको स्मरण गर्दै श्रद्धाञ्जली व्यक्त गरे ।

श्रद्धाञ्जली सभामा समाजका विभिन्न तह र तप्कामा सक्रिय रहँदै आउनुभएका महानुभावहरुको उपस्थिति थियो ।

सन्तोष आचार्यको १२ पौषमा भारतको नयाँ दिल्लीमा उपचारका क्रममा निधन भएको हो । उहाँका धर्मपत्नी, एक छोरा, माता र दुई दाजुभाई हुनुहुन्छ । पाँच वर्ष अघि आचार्यको छोराको निधन भएको थियो । १० महिना अघि उहाँको पिताको निधन भएको थियो । जस्तोसुकै पीडा पनि सहन सक्ने क्षमताका आचार्य जीवनको अन्तिम समयसम्म पनि कर्ममै खटिनुभयो ।

प्रतिक्रिया