एमाले छाडेका पूर्व आइजीपी सर्वेन्द्र खनालले के गर्लान्
काठमाडौं, २१ पौष । नेकपा एमाले परित्याग गरेका पूर्वआइजीपी सर्वेन्द्र खनालको भावी योजनाबारे चासो बढेको छ । एमाले छाडेर स्वतन्त्र रहेको घोषणा गरेका खनालले आफू राजनीतिक र सामाजिक क्षेत्रमा सक्रिय नै रहने जनाएका छन् । तर, उनले के गर्लान् ?
खनाल लोकप्रीय प्रहरी अधिकृतका रुपमा रहेका थिए । उनले गुण्डागर्दी नियन्त्रण, ठगी नियन्त्रणलगायतमा कडा कदम चालेर जनतालाई शान्तिसुरक्षाको प्रत्याभूति दिलाउन भूमिका खेलका थिए । आइजीपी हुँदा सुन तस्करी नियन्त्रण, ललिता निवासको जग्गा हडपेको घटनाको अनुसन्धान जस्ता कदम चालेका थिए । त्यसैले उनी लोकप्रीय रहे ।
एमालेमा रहेर २०७९ को प्रतिनिधि सभा निर्वाचनमा काठमाडौंबाट र उपनिर्वाचनमा तनहुँबाट उम्मेदवार बनेका थिए । उनले सहकारी ठगी प्रकरणमा पीडितको पक्षमा उभिएर आवाज बुलन्द गरे । तर, एमालेमा ललिता निवास जग्गा प्रकरणमा दोषी ठहरिएका मीनबहादुर गुरुङको जग्गा दानको घटनापछि असन्तुष्ट थिए । सहकारी प्रकरणमा पनि एमाले नेताहरु धमाधम तानिन थालेपछि खनाल झन् असन्तुष्ट भई एमालेबाट टाढिए । त्यसपछि उनी एमाले छाड्ने निर्णयमा पुगे ।
विश्वस्त स्रोतका अनुसार खनाल राजनीतिक शक्ति निर्माणको तयारीमा छन् । उनीलगायत समाजमा प्रभावशाली व्यक्तिहरुले शक्ति तयार गर्दैछन् । त्यसको घोषणा चाँडै हुने बुझिएको छ ।