१३ पुस २०८१, शनिबार | December 29, 2024

२ दिन लगाएर सकियो रविको बयान


December 28, 2024
332
Shares

पोखरा,१३ पुस । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेत मुद्दाका प्रतिवादी पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिएको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलाससमक्ष बिहीबार र शुक्रबार लामिछानेको बयान भएको हो ।

अदालतका स्रेस्तेदार राजन खनालले भने, ‘उहाँ ९लामिछाने० को बयान सकियो । भर्खरै श्रीमान्को सहीछाप भयो ।’ बयानपछि प्रतिवादी तथा न्यायाधीश दुवैले सहीछाप गर्नुपर्ने हुन्छ । खनालका अनुसार बिहीबार दिउँसो १ बजेदेखि सुरु भएको बयान शुक्रबार साँझ ५ बजेसम्म लागेको थियो ।

स्रोतका अनुसार लामिछानेले अभियोगपत्रमा लगाइएका आरोपहरुको खण्डन गरेका छन् । कास्कीसहित विभिन्न जिल्लाका सरकारी वकिलसमक्ष प्रहरीले लिएको बयानमा समेत उनले आफूलाई राजनीतिक प्रतिशोध साँधिएको र सहकारी ठगीलगायतका क्रियाकलापमा संलग्न नभएको जिकिर गर्दै आएका छन् ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन अभियोगमा गत २ कात्तिकमा पक्राउ परेका लामिछाने करिब ७० दिनयता कास्की प्रहरी हिरासतमा छन् । उनलाई सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेतका मुद्दा लगाइएको छ ।

अब हाल हिरासतमा रहेका बाँकी ४ जनाको बयान हुनेछ । यसअघि, गोर्खा मिडियाका पूर्व संचालक पूर्व डिआईजी छविलाल जोशी र गुल्मी मुसिकोट नगरपालिका–४ की लीला पछाईंको मात्र बयान सकिइसकेको छ ।

प्रतिवादीहरु रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ, पूर्व सांसद मीना गुरुङ र आरती गुरुङको बयान लिन बाँकी छ ।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीका न्यायाधिवक्ता कमला काफ्लेका अनुसार आइतबारदेखि प्रतिवादी रामबहादुर खनालको बयान सुरु हुनेछ ।

कास्की जिल्ला अदालतमा सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलन सम्बन्धमा सहकारी ठगी मुद्दा गत वर्षदेखि नै विचाराधीन छ । १८ असोज, २०८० मा सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष जिबी राईसमेत १९ जनालाई प्रतिवादी बनाई मुद्दा दायर भएको थियो । कास्की प्रहरीको पछिल्लो अनुसन्धान प्रतिवेदनसँगै जिल्ला सरकारी वकिल कार्यालय कास्कीले सोही मूल मुद्दामा थप प्रतिवादी बनाई पूरक अभियोगपत्र दायर गरेको हो । गत आइतबार दायर पूरक अभियोगपत्रमा रास्वपा सभापति लामिछाने, जोशीसमेत ४४ जनालाई प्रतिवादी बनाइएको छ । तीमध्ये ३१ जना व्यक्ति, ८ कम्पनी छन् । अन्य ५ जनाको सम्पत्ति जफत गर्न थप अभियोजन दर्ता गरिएको थियो ।

कुल ६३ प्रतिवादीविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ ३ पैसा बिगो कायम गरेर दायर मुद्दामा हिरासतमा रहेका प्रतिवादीहरुको बयान लिन थालिएको हो ।

बयानपछि थुनछेक बहससँगै प्रतिवादीहरुलाई ३ मध्ये एक आदेश हुनेछ । पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी वा साधारण तारेखमा रिहामध्ये एक आदेश हुनेछ । राजधानी दैनिकबाट

प्रतिक्रिया