८ पुस २०८१, सोमबार | December 24, 2024

ओलीको भ्रमण मिलाउन दिल्ली पुगेकी आरजुलाई किन भारतीय अधिकारीले भेट्न मानेनन्


December 23, 2024
747
Shares

काठमाडौं, ८ पौष । चीनसँग बिआरआई फ्रेमवर्कमा हस्ताक्षर भएपछि भारत लाई विश्वासमा लिन आफ्नो युरोप भ्रमण लम्ब्याउँदै परराष्ट्र मन्त्री डा. आरजु राणाले दिल्ली भ्रमण गर्ने निर्णय लिएकी थिइन् । ‘दिल्लीमा सबै मिलाउँछु, बिआरआई पछि इंडियालाई फकाउने र जसरी पनि प्रधानमन्त्री ओलीको भारत भ्रमण मिलाएर आउँछु’ भनेर उनी युरोप भ्रमणमा लागिन्। देशभित्र उनले ओलीको भ्रमण मिलाउने विषयको हल्लीखल्ली भयो ।

काठमाडौंबाट युरोप लागेकै दिन उनले दिल्ली स्थित नेपाली दूतावासलाई भारतको विदेश मंत्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेश सचिव विक्रम मिश्री संग भेटघाट मिलाउन निर्देशन दिएकी थिइन्। यो सँगै उनले व्यक्तिगत रूपमा पनि डा जयशंकरलाई भेट्न आग्रह गर्दै वाट्सेपमा म्यासेज पठाइन्। १९ डिसेम्बरको बिहानै दिल्ली पुग्ने, र २१ मा साँझ फर्किने योजना बनाइन् ।

उनले आफ्ना निकटवर्तीहरुलाई दिल्लीमा एउटा कार्यक्रम आयोजना गर्न लगाइन्। दिल्लीको एउटा गैर सरकारी संस्था संग मिलेर काठमाडौं विश्वविद्यालयको एक विभागले संयुक्त रूपमा कार्यक्रमको आयोजना समेत गर्यो। ७ डिसेम्बरमा पठाएको म्यासेजको १५ डिसेम्बर सम्म पनि कुनै जवाफ नआए पछि उनलाई अप्ठ्यारो लाग्यो। पछि उनले आफ्ना राखी भाइ विजय चौथाइवाला लाई पनि म्यासेज गरेर भेट्न आग्रह गरिन्।

बाहिर निजी भ्रमण र स्वास्थ्य उपचारको लागि भ्रमण भने पनि उनको इच्छा यो भ्रमणलाई आधिकारिक बनाउने थियो। तर भारतले खासै चासो लिएन ।

१९ डिसेम्बर बिहान दिल्ली पुग्दा उनलाई विमानस्थलमा स्वागत गर्न नेपाली दूतावासका कर्मचारीहरु पुगेका थिए। भारतको तर्फबाट विदेश मन्त्रालयका नेपाल डेस्क हेर्ने उपसचिव अमित मिश्र प्रोटोकल को लागि मात्रै उपस्थित थिए। उनलाई न त सुरक्षा प्रदान गरिएको थियो न उनको लागि गाडीको व्यवस्था गरिएको थियो।

उनले पटक पटक आग्रह गर्दा र नेपाली दूतावासले लगातार प्रयास गर्दा पनि भारत सरकारको कसैले पनि आरजुलाई भेट दिएनन्। पछिल्लो पटक भारतका प्रधानमन्त्री मोदीलाई समेत भेटेकी आरजुलाई यस पटक अजित दोभाल, एक जयशंकर, विक्रम मिश्रीले त परै जाओस् नेपाल डेस्क हेर्ने एडिसनल सेक्रेटरी मनु महवारले पनि भेट्न मानेनन्।

गजब को कुरा के रहेछ भने आरजु देउवा दिल्ली पुगेकै दिन नेपाल डेस्क हेर्ने महवारले कार्यवाहक राजदूत सुरेन्द्र थापालाई आफ्नै कार्यकक्षमा भेटे तर आरजुलाई भेट्न मानेनन्।

दोभाल चीनबाट फर्केर आए पछि२१ डिसेम्बरमा मोदीसँग कुवेत भ्रमणमा गए। जयशंकर पनि कुवेत तिरै लागे। विदेश सचिव विक्रम मिश्री मरिशश गएर फर्के। यी सबै भेटघाटमा नेपाली दूतावासलाई वि विल अपडेट यु मात्रै भनियो।

कसैले भेट्न नमाने पछि आरजु ले आफ्नो भ्रमण दुई दिन अझै लम्ब्याइन् । उनलाई के विश्वास थियो भने कुवैत बाट फर्केर विदेश मंत्री जयशंकर र सुरक्षा सल्लाहकार अजित दोभाल ले पक्कै पनि भेट्छन्।

यसै बीचमा आरजुले भारतका शक्तिशाली एकजना अधिकारी देखि नेपाल डेस्क हेर्ने सहसचिव लाई समेत भेट्ने आग्रह गरिन् तर कसैले पनि वास्ता गरेनन्।
कुवेतबाट फर्केपछि पनि कसैले पनि भेटन् चाहेनन्। दिल्ली मा उनलाई न त उनको राखी भाइ चौथाइवालेले भेटे न उनले माइत भनेकी भाजपा कोषाध्यक्ष राजेश अग्रवालले नै भेटे।

अन्तिम दिन काठमाडौं फर्किनु भन्दा पहिले उनले अनेक प्रयास गरेपछि इंडिया फाउण्डेशनले परिचयात्मक कार्यक्रम आयोजना गरियो। जहाँ उनको भेटघाट राम माधव संग भयो। भाजपा का पूर्व सचिव राम माधव र उनको पुरानो चिनजान भएको कारण उनले भेट्न बोलाए। राम माधव अहिले न भाजपा मा छन् न राष्ट्रिय स्वयंसेवक संघको कुनै दायित्वमा छन्।

आरजुले प्रधानमन्त्रीको दिल्ली भ्रमण बारे त परै जाओस् आफ्नो सम्बन्ध पनि सामान्य बनाउन असफल भएकी छिन्। दिल्लीले उनलाई खाली हात फर्काई दिएको छ ।

प्रतिक्रिया