५ माघ २०८१, शनिबार | January 18, 2025

रुसको शक्ति घटेको हो ?


December 18, 2024
664
Shares

एजेन्सी, ३ पौष । मध्य मस्कोमा रुसी सेनाका जर्नेल इगोर किरिलोभ मारिएपछि युक्रेनले त्यसको जिम्मेवारी लिएको छ । रुसी आक्रमणले तहसनहस भइसकेको युक्रेन मध्य मस्कोमा बम हमला गरी रुसी रसायनिक प्रतिरक्षा फोर्स कमाण्डरकै हत्या गर्न पुगेपछि तरंग आएको छ । युक्रेनलाई पेल्दै लगिरहेको रुसमा यो हमला ठूलै धक्का हो ।

रुसी प्रभाव रहेको सिरियामा हालैमात्र बसर अल असदको सत्ता ढलेको छ । उनी भागेर रुस पुगेका छन् । त्यहाँ पूर्व अलकायदा निकट समूहले सत्ता कब्जा गरेको छ । रुसकै प्रभाव रहेको इरानमाथि इजरायली हमला भयो केही महिना अघि ।

युक्रेन युद्धका कारण चुनौती झेलिरहेको रुसको शक्ति घटेको त होइन ? यो प्रश्न उठेको छ अहिले । उसले एकपछि अर्को प्रभावक्षेत्र गुमाइरहेको छ । विशेषगरी एशिया र यूरोपमा रुसमाथि चुनौती बढेको हो ।

विश्वकै सबैभन्दा बढी शक्तिशाली आणविक हतियारले सम्पन्न रुसले अमेरिकाबाट चुनौती भोगिरहेको छ । यूरोपका बेलायत, फ्रान्स र जर्मनी जस्ता देश पनि रुसविरुद्ध उभिएका छन् । तर, रुसले पूर्वी यूरोपका देशमा प्रभाव बढाइरहेको छ । जर्मनी र फ्रान्सको सत्ताधारी संकटमा पर्नुमा रुसलाई हेर्ने दृष्टिकोण पनि मुख्य कारण हो ।

अफ्रिकाको माली, बुर्किना फासो जस्ता देशहरुमा सैनिक कू हुनुमा रुसको भूमिका छ । त्यहाँ फ्रान्सलाई चुनौती बढेको छ अहिले । रुसले आफ्नो पुरानो प्रभाव क्षेत्र गुमाउँदै गर्दा नयाँ क्षेत्रमा पकड बलियो बनाइरहेको छ । यसले रुस कमजोर भइसकेको छैन । तर, शक्तिराष्ट्रहरु अमेरिका, रुस, बेलायत, चीन र फ्रान्स जस्ता देशको टकरावले विश्वभर अस्थिरता र अशान्ति बढिरहेको छ ।

प्रतिक्रिया