ओली र मीनबहादुर जोडिएको लेनदेनमा अदालतको आदेशले तरंग
काठमाडौं, २ पौष । विशेष अदालतबाट ललिता निवास जग्गा अपचलनमा भ्रष्टाचारी ठहर भएका मीनबहादुर गुरुङ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच जग्गा लेनदेन विवादास्पद छ । एमालेलाई मीनबहादुरले दानका रुपमा दिएको भनिएको जग्गाको विषयमा व्यापक बहस भयो । अदालतमा मुद्दा दायर भयो त्यसविरुद्ध ।
तर, न्यायधीशहरु अब्दुल अजिज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलाशबाट रिट खारेज भएको छ । रिट खारेज भएसँगै अब राजनीतिक दलहरुले भ्रष्ट वा अपराधी जोसुकैसँग पनि अरबौं खरबौं पर्ने जग्गा जमिनको लेनदेन गर्न सक्ने बाटो खुलेको सत्य र न्यायको खोजी अभियानका ध्रुवलाल श्रेष्ठले बताएका छन् ।
कानून अनुसार राजनीतिक दलले २५ हजार भन्दा बढी आर्थिक सहयोग बैंकिङ चेक वा बैंकिङ ट्रान्सफर मार्फत् मात्र गर्न सकिने व्यवस्था छ । तर, कानूनकै उपहास गरेर अदालतबाट रिट खारेज भएको छ ।
यो रिट खारेज गराउन ओलीले अदालतमा दबाब दिएको र केही वकिलहरु योजनावद्ध रुपमा लागेको विषय बाहिर आएको छ । ‘हामी कहां छौं, यहां के भैरहेको छ भन्ने कुराको थप जानकारी आम नेपालीहरुलाई आदेशको पूर्ण पाठ प्राप्त भएसंगै संलग्न वकीलहरुको नामावली सहित गराउने छौं,’ श्रेष्ठले सामाजिक सञ्जालमार्फत् लेखका छन् ।