३ माघ २०८१, बिहिबार | January 16, 2025

सभापति देउवाले पार्टी चलाउन सक्नुभएन,पार्टी तदर्थवादमै चल्यो –गुरूराज घिमिरे


December 14, 2024
913
Shares

काठमाडौं, २९ मंसिर । नोपली कांग्रेसका नेता गुरु घिमिरेले वर्तमान सरकारको सात बुँदे प्रतिवद्धतामाथि प्रश्न उठ्न थालेको टिप्पणी गरेका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस–एमाले गठबन्धन सरकार निर्माण हुँदै गर्दा भएको सात बुँदे प्रतिवद्धता लागू नभएको र जनताले प्रश्न उठाउन थालेको बताएका हुन् ।

नेता घिमिरेले सरकार गठन हुँदाको बेलाका प्रतिवद्धता संविधान संशोधन, तीव्र भौतिक विकास, सुशासन, भ्रष्टाचारको न्यूनीकरणलगायतका विषय अगाडि बढ्नै नसकेको बताए । ‘सात बुँदे सहमतिमा खासगरी राजनीतिक स्थिरता, सुशासन, संविधान संशोधन, भ्रष्टाचार नियन्त्रण र तीब्र भौतिक विकास यी मुख्य बुँदाहरु हुन् । यी बुँदाहरुमध्ये प्राथामिकता दिएर सरकार चलाउँछ होला, मुलुकमा रोकिएका सबै कामहरु, मुलुकका विकासका सम्भावनाहरु अगाडि बढाउँछ होला भन्ने एकप्रकारको जनअपेक्षा थियो । त्यो थोर–बहुत अझै पनि बाँकी नै छ,’ उनले भने, ‘तर, सरकार बनेको पाँच महिना भइसकेको छ । यो बीचमा सात बुँदे सहमति भएको थियो, त्यसलाई उच्च प्राथामिकताका साथ अगाडि बढाएको देखिँदैन ।’

जनताले प्रश्न उठाएपनि कांग्रेस–एमालेबीच समझदारी कायम रहेसम्म यो सरकार अंकगणितीय हिसाबले नढल्ने उनले बताए । ‘संसद्का पहिलो ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल एमाले मिरेर सरकार बनेको छ । योभन्दा बलियो सरकार अर्को देखिँदैन,’– उनले भने, ‘सरकार ढल्छ की भन्ने संशय उत्पन्न हुन थालेको छ । तर, मलाई लाग्छ–दुई वटा पार्टी एक ठाउँमा रहुञ्जेल सरकार ढल्ने सम्भावना देखिँदैन ।’

साथै, गत २०७९ को संसदीय निर्वाचनपछिको संसद्मा एमालेको नेतृत्वमा सरकार बन्छ भन्ने कसैले पनि परिकल्पना नगरेको अवस्थामा अहिले केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको उनले बताए । उनले देशमा प्रजातान्त्रिक साशन प्रणालीको सट्टा गणतान्त्रिक शासन प्रणाली आएपनि विकासको प्रक्रिया र सत्ताको चरित्रमा बदलाव नरहेको बताए । जुनसुकै दल आएर सरकार चलाएपनि विकासको प्रक्रिया र सत्ताको चरित्रमा बदलाव नआएपछि जनगुनासो र जनआक्रोश बढिरहेको नेता घिमिरेको निश्कर्ष छ ।

साथै, फरक प्रसंगमा उनले पार्टी सभापति शेरबहादुर देउवाको दोस्रो कार्यकाल झनै खराब बन्दै गएको टिप्पणी गरे । उनले सभापति देउवाले नेतृत्वमा रहेर भातृ संगठन, शुभेच्छुक संस्था, विदेशी शाखाहरुको अभिवेशन गराउन नसकेको उनले बताए । नेता घिमिरेले सभापति देउवाले निर्धारित समयमा नै १५औं महाधिवेशन गराउनेमा पनि उनले आशंका व्यक्त गरे ।

‘तीन वर्षको क्रियाकलाप अपेक्षाअनुसार अगाडि बढ्न सकेन । पार्टी सभापतिज्यूको पहिलो कार्यकाल र दोस्रो कार्यकालको हामीले तुलना गर्ने हो भने दोस्रो कार्यकाल अझ खराब भएर गयो । भातृ संगठन, शुभेच्छुक संस्था, विदेशी शाखाहरुको अधिवेशन भएन । चौथो वर्षभित्र महाधिवेशन गराउने प्रक्रिया आजसम्म प्रारम्भ भएन । पार्टी तदर्थवादमै चल्यो, परम्परागतवादमै चल्यो र पार्टीले नयाँपन दिन सकेन भन्ने कुरामा आज कसैको पनि दुईमत छैन,’– उनले भने ।

नेताहरुले पार्टीलाई आन्तरिक र निजी मामिला बनाउन नहुने घिमिरेले बताए । मुलुकभरीबाट आज कांग्रेसजनहरुले प्रश्न उठाइरहेको र निर्धारित समयमा महाधिवेशन सम्पन्न गराउनुपर्ने उनको माग छ । उनले महाधिवेशन सार्ने परिस्थिति अहिले किन्तु परन्तु नरहेको बताए ।

 

 

प्रतिक्रिया