कांग्रेसले टिकट नदिएका माझी माओवादीबाट गाउँपालिका अध्यक्ष निर्वाचित
इटहरी,१८ मंसिर। मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रबाट नमोनारायण माझी निर्वाचित भएका छन् । आइतबार भएको उपनिर्वाचनको अन्तिम मत परिणाम सोमबार आएको हो । अन्तिम मत परिणामअनुसार नमोनारायणले ६ हजार ९ सय ६९ मत प्राप्त गर्दै गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका बलराम सरदारले ५ हजार ३ सय ३३ मत प्राप्त गरे । उनीहरूबीचको मतान्तर १ हजार ६ सय ३६ छ । यसैगरी, नेकपा एमालेका तुलसीराम विश्वासले ४ हजार १ सय ५९ मत मत प्राप्त गरे ।
नेपाली कांग्रेस त्यागेर नेकपा माओवादी केन्द्र प्रवेश गरेका नमोनारायण यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन फोरम लोकतान्त्रिकबाट मोरङको ग्रामथान १ को वडाध्यक्षमा निर्वाचित भए । पछि फोरम र नेपाली कांग्रेस एकीकरण भयो । २०७९ सालको स्थानीय तहको निर्वाचनमा पनि नमोनारायण वडाध्यक्षमा उठ्न चाहन्थे ।
उनले कांग्रेसबाट टिकटको आकांक्षा राखे पनि पार्टीले उनलाई टिकट दिएन । कांग्रेसबाट टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवारी दिएर वडाध्यक्ष उठे । तर, उनी पराजित बने । स्वतन्त्र उम्मेदवारी दिएर पराजित भएका उनी गत भदौमा माओवादी केन्द्र प्रवेश गरे । माओवादी केन्द्र प्रवेश गरेका उनै माझी ग्रामथान गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् ।
गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि माझीले प्रतिक्रिया दिँदै ग्रामथानवासीले कुशल अभिभावक पाएको बताए । ‘ग्रामथानवासीले कुशल अभिभावक पाउँदै हुनुहुन्छ,’ उनले भने, ‘यो अभिभावकलाई तपाईंहरूको अति सहयोग आवश्यक छ, ग्रामथानवासीले यहाँबाट पाउने सेवाको कमी हुँदैन, विगतमा के भयो, भयो कि भएन, त्यो माइनर राख्दिनँ ।’
दल फेरिरहने आरोप खेप्दै आएका उनी स्थानीय जनताको बलियो साथका कारण भाग्यमानी बनेका छन् । खासगरी ग्रामथानको चुनावी परिणाम रोचक छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेले गाउँपालिका अध्यक्ष जित्यो । २०७९ सालको निर्वाचनमा भने नेपाली कांग्रेसले जित्यो । यसरी हेर्दा ग्रामथानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा ९एमाले०ले एक–एक कार्यकाल नेतृत्व गरिसकेका छन् ।
तर, २०७९ सालमा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार निर्वाचित भए पनि राष्ट्रिय सभाको निर्वाचनमा मत हाल्न विराटनगर गएका बेला उनी अचानक बेहोस भएका थिए । उपचारका क्रममा उनको गत ३ असारमा निधन भएसँगै रिक्त रहेको अध्यक्ष पदका लागि आइतबार निर्वाचन भएको हो ।
२०७४ सालमा एमालेका शिवनारायण माझी थारू ४ हजार ७ सय २० मतसहित अध्यक्षमा निर्वाचित भएका थिए । उनका निकटतम् प्रतिस्पर्धी तत्कालीन फोरम लोकतान्त्रिकका जयप्रकाश गच्छदार थारूले ४ हजार ६ सय ६१ मत प्राप्त गरेका थिए । अघिल्लो निर्वाचनमा ५९ मतान्तरले विजयी भएका शिवनारायणलाई २०७९ सालमा कांग्रेसबाट उम्मेदवार बनेर उनै जयप्रकाशले पराजित गरे । जयप्रकाशले ७ हजार ६ सय ५ मत पाउँदा शिवनारायण ६ हजार ९३ मतमा सीमित भएका थिए । तर, जयप्रकाशको निधन भएसँगै रिक्त रहेको पदमा उपनिर्वाचन भएको हो ।
स्थानीय जनताले पनि एक–एकपटक एमाले–कांग्रेसले नेतृत्व गरेका कारण यसपटक भने नयाँलाई टेस्ट गर्ने बताउँदै आएका थिए । ग्रामथानमा ग्रामथानमा सातवटा वडा छन् । जसमा २६ हजार ४४ मतदाता रहे पनि आइतबार भएको उपनिर्वाचनमा १८ हजार ५ सय ७७ मत खसेको थियो ।
मोरङ क्षेत्र नं। ४ बाट प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री अमनलाल मोदी माओवादीका लागि चुनावी कमान्डर बनेर खटिएका थिए । माझीलाई पार्टी प्रवेश गराउनेदेखि टिकट दिलाउनेसम्मको भूमिका अमनलालको नै रहेको थियो । उनीसहित माओवादी कोशी प्रदेश इन्चार्ज हरिबोल गजुरेल, सह–इन्चार्जहरू सावित्रीकुमार काफ्ले, अजम्बर काङ्माङ राई, राष्ट्रिय सभामा माओवादीका प्रमुख सचेतक गोपी अछामीदेखि पूर्वराज्यमन्त्री विजयकुमार विश्वास, पूर्वसांसद कुलप्रसाद साम्बालगायतका नेता निर्वाचनमा खटिएका थिए ।
ग्रामथानको अध्यक्षमा एमालेबाट तुलसीराम विश्वास, कांग्रेसबाट बलराम सरदार, माओवादीबाट नमोनारायण माझी, रास्वपाबाट नवीनकुमार विश्वास, राप्रपाबाट दिनेशकुमार थन्दार ९दिवेश०, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी ९जसपा०बाट धर्मेन्द्रकुमार चौधरी उम्मेदवार थिए ।
नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास, नेकपा ९एकीकृत समाजवादी० पार्टीबाट दिलबहादुर विश्वकर्मा, उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट सुरेशकुमार राजवंशी, समावेशी समाजवादी पार्टी नेपालबाट बोधनारायण माझी, नेपाल मजदुर किसान पार्टी ९नेमकिपा०बाट पर्शुराम विश्वास थारू, मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी, जनमत पार्टीबाट विनोदकुमार माझी, कमल थापा नेतृत्वको राप्रपा नेपालबाट राजु मुसहर र स्वतन्त्र उम्मेदवार नमनारायण चौधरी अध्यक्षको उम्मेदवार थिए ।
कोशी प्रदेशमै पालिका अध्यक्ष पदका लागि ग्रामथानमा मात्रै निर्वाचन भएको हो ।
गढी ६ मा कांग्रेस
यता, सुनसरीको गढी गाउँपालिका–६ मा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । कांग्रेसका तेतर साहले ८ सय १६ मत प्राप्त गरी निर्वाचित भएका हुन् । निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार कुशेश्वर खेरवारले ७ सय ९४ मत प्राप्त गरे । यस्तै, नेकपा एमालेका उम्मेदवार सन्तु उरांवले ७ सय ७० मत प्राप्त गरे भने राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०की कविता उराँवले ८४ मत प्राप्त गरिन् ।
यसअघि २०७९ सालको निर्वाचनमा नेकपा एमालेका सदानन्द उराँव वडाध्यक्षमा निर्वाचित भएका थिए । उनको निधन भएपछि गढी ६ मा उपनिर्वाचन भएको हो । राजधानी दैनिक