६ मंसिर २०८१, बिहिबार | November 21, 2024

ट्रम्पको सफलताको रहस्य


November 6, 2024
1.5k
Shares

दीपेश केसीः ‘कठिन समयबाट गुज्रिनुमा मज्जा छ र सबैले कठिन समयबाट अगाडि बढ्न प्रयास गर्नुपर्छ,’ ट्रम्प भन्थे । कठिनतम परिस्थतिको मज्जा लिए ट्रम्पले । सजिलो र कठिन रोज्नुपर्दा कठिन नै रोज्थे । कठिनाईहरूबीच बढ्दा बढ्दै अभूतपूर्व सफलता हासिल गरेका थिए ।

ट्रम्पको मुख्य विशेषता बोल्नसक्ने क्षमता हो । उनी घण्टौंसम्म कुनै टिपोट नहेरी बोल्नसक्छन् । पूर्वपत्नी इभानाले भनेकी छिन्,‘उनी शान्त रहन सक्दैनन्, असाध्यै बोल्छन् ।’ बोल्नेमात्र नभएर कडा निर्णय लिनसक्छन् । धेरै बोल्ने भएपनि सोचेजत्तिको सामाजिक नभएको निकटस्थहरूले उल्लेख गरेका छन् । उनीसँग नजिकका मित्र कमै हुन्थे । तर उनीसँग नजिकिन चाहने धेरै भए । ट्रम्पमा गजबको आकर्षण रह्यो । आफ्नो कुराले धेरैलाई आकर्षित गर्नसके । ट्रम्पको उत्कृष्ट पक्ष भनेको रसिलो हुनु हो । खरो वाक्य समेत रसिलो तरिकाले प्रस्तुत गर्छन् । उनको त्यही स्वभावले धेरैले जोक्कर भन्थे । कतिपयले गम्भीरता नदेखाउने मान्छे ठान्थे । हुनपनि ट्रम्प यसरी बोल्थे कि त्यसको जिम्मेवारी लिनैपर्दैन । उनले विगतमा बोलेका र गरेका व्यवहारहरू त्यस्तै खालका छन् । जसले उनलाई पछि सम्म विवादमा पा¥यो । ट्रम्प रोगसँग निकै डराउने खालका थिए । उनले एउटा शल्यक्रियाका बखत छटपटाहट देखाएका थिए । सधै स्वस्थ हुन चाहने उनको स्वभाव रह्यो । आफू स्वस्थ छु भन्ने प्रमाणित गर्न जोसिलो बोली र हाउभाऊ देखाए ।

अधिकांश अमेरिकीले अपनाउँदै आएको जीवनपद्धतिभन्दा ट्रम्पको जीवन जीउने शैली फरक छ । प्रायः अमेरिकीलाई रक्सी र चुरोट नभई हुँदैन । गाँजा, चरेशलगायत लागूऔषध दुव्यर्सनी कतिपय अमेरिकीहरूको समस्या हो । नाम चलेका नेता देखि सेलिब्रिटीसम्म कुलतमा फसेको घटना सार्वजनिक भइरहन्छ । भोजभत्तेर गर्ने र डिस्कोमा सहभागी भइरहने अमेरिकीहरू रक्सी पिइहाल्छन् । तर ट्रम्प बिल्कुल फरक छन् । रक्सी र चुरोटको अम्बली होइनन् । ४६ जना राष्ट्रपति भइसक्दा अमेरिकी इतिहासमा रक्सी नपिउने राष्ट्रपतिहरू अब्राहम लिंकन, रुथफोर्ड बी.हयस, जिमी कार्ट गरी तीनजना मात्र थिए । बाँकी ४१ जना रक्सी पिउँथे । अब रक्सी नपिउनेको सूचीमा डोनाल्ड ट्रम्पको नाम समेत थपियो । ट्रम्प युवावस्थामा कहिलेकाहीं रक्सी पिउँथे तर छाडे । सन् १९८१ मा पियक्कड दाजुको निधनपछि रक्सी पिउन छाडे । चुरोट र गाँजा जीवनमा कहिले पिएनन् । कुनैपनि लागूऔषध सेवन गरेनन् ।

सकेसम्म हात मिलाउँदैनन् । हात मिलाउँदा रोग सर्न सक्ने तर्क गर्छन् । उनले सन् १९९० मा टाइम म्यागाजिनलाई भनेका छन्,‘हात मिलाउनु बर्बर काम हो । यसले रोग मात्र होइन धेरै कुरा सर्छ ।’ उनले सायदै हात मिलाउने भएकाले धेरैको त्यसमा ध्यानाकर्षण हुन्छ । एउटै मञ्चमा बहसमा सहभागी भएपनि ट्रम्पले प्रतिद्वन्द्वी हिलारी क्लिन्टनसँग हात नमिलाएको घटनाले बजार तात्यो । हरेक भेटहरूमा ट्रम्पले हात मिलाउँछन् कि मिलाउँदैनन् भन्ने चासो दिइन्थ्यो । ७० नाघिसक्दा पनि स्वस्थ रहनुमा ट्रम्पको अनुशासित जीवन मुख्य कारण हो । उनी सयमा उठ्ने, खाने, सुत्ने, खेल्ने र विना तनावको जीवन बिताउँछन् । ट्रम्पले बुढ्यौली लाग्दा समेत जवानीको जोस प्रदर्शन गरिरहे । कतिपय सार्वजनिक कार्यक्रममा आफूसँग यौन क्षमता निकै रहेको भन्दै घमण्ड गरेका छन् । उमेरले आफूलाई कमजोर नबनाएको बरु उल्टो बलियो बनाएको दाबी ट्रम्पको छ । जस्तोसुकै चुनौतीलाई सहज रुपमा लिने स्वभावले ट्रम्पको आत्मबल बलियो बनाएको छ । दीपेश केसीको पुस्तकः डोनाल्ड ट्रम्प: चमत्कारै चमत्कारबाट

प्रतिक्रिया