ओलीको १०० दिने बेसुरा राग
प्रकाश रायमाझी । केपी शर्मा ओली नेतृत्वको सरकारले १०० दिनको उपलब्धि राग वाचन गरिरहँदा जनताले समाचार हेर्नै नचाहेको देखिन्थ्यो । यो अवधिमा आत्मरतिमा रमाएका ओलीले के कस्ता सम्झन लायक उपलब्धि गरेछन् ? जनता जान्न चाहन्छन् ।
राजनीतिक माफिया र बिचौलियाको गठजोडमा चलेको सरकारले कहाँ कुन क्षेत्रमा के गरेछ ? ३५ वर्षमा यस्ता सय दिन धेरै आए । तर, नेपाली जनताले के पाए ? देश विरानो बन्यो । नागरिकमा नैराश्य छाएकै छ । सर्वत्र भ्रष्टाचार ब्याप्त छ । राजनीतिक माफियाहरूको सर्वत्र जगजगी छ । सत्ताप्राप्तिको लक्ष्य भनेकै भ्रष्टाचारको जग खडा गर्नु देखिन थालेको छ । यस्तो विकराल अवस्थामा जनतामा आशाको एउटा किरण देखाउन नसक्ने,जनजीविकाका आधारभूत तत्वलाई महसुस समेत गर्न नसक्ने प्रधानमन्त्रीलाई ठूला कुरा गर्न लज्जाबोध हुनुपर्ने हो ।
सरकार ऋणात्मक रूपमा चलिरहेको छ । दलीय संकीर्णता र विभेदको राजनीतिले देश अनिर्णयको बन्दी बनेको छ । विधिको शासन कुन चिडियाको नाउँ भएको छ । सहकारी ठगी, भुटानी शरणार्थी काण्ड, ललिता निवास काण्ड, गिरिबन्धु काण्ड, एनसेल काण्डलगायत असंख्य काण्ड छन् । यी काण्डका संरक्षक यिनै केपी ओली र शेरबहादुर हुन् भन्ने छर्लङ्ग छ । हत्या हिंसाको अशिष्ट राजनीतिबाट आएकाहरूले शिष्ट राजनीतिको शब्दहरू ओकल्नुपर्ने हास्यास्पद अवस्था छ । अशिष्ट र उच्शृंखल राजनीति, आगजनी, तोडफोड र हत्याहिंसाको जगमा उठेको कथित गणतन्त्रका मतियारहरुले खोक्रो आदर्शका कुरा गर्नु उचित हुन्छ र ?
रवि लामिछानेको मुद्दालाई राष्ट्रिय मुद्दा बनाएर भ्रष्टाचारमा चुर्लुम्म डुबेको माफिया र बिचौलियाले बनाएको सरकारले १०० दिनको भजन गाउनु आफैँमा हास्यास्पद छैन र ? भ्रष्ट,प्रशासन, माफिया सरकारको प्रवृत्ति र प्रणालीलाई नसुधारेसम्म यो देशले परिवर्तनको महसुस गर्न सक्दैन । आँधीहुरीको यो पूर्वसन्ध्यामा राजनीतिक माफियाहरू सचेत भएनन् भने परिणाम भयावह हुनेछ । सबैलाई चेतना भया ।
(रायमाझी राजनीतिक विश्लेषक हुन् ।)