३१ भाद्र २०८१, सोमबार | September 17, 2024

पोेसिबल नेपालद्धारा ५६ विद्यार्थीलाई झोला र कापी वितरण


August 29, 2024
913
Shares

काठमाडौं,१३ भदौ. । नेपाल नेसनल पार्केट एण्ड डेकोरेट्सका प्रबन्ध निर्देशक नमराज धमला संरक्षक रहेको पोसीबल नेपालले ५६ जना विद्यार्थीलाई झोला र कापी वितरण गरेको छ । संस्थाले तारकेश्वर नगरपालिकाका ६ वटा विद्यालयका ५६ जना विद्यार्थीलाई आइतबार स्कुल झोला र कापी वितरण गरेको हो ।

केही समय अघि नुवाकोटको लिखु गाउँपालिकाका १६ वटा विद्यालयमा अध्ययनरत २ सय जना विद्यार्थीहरुलाई पढ्नका लागि आवश्यक सामाग्री प्रदान गरिएको संस्थाका संस्थापक अध्यक्ष धमलाले जानकारी दिनु भयो ।त्यसैगरी, संस्थाले हालसम्म तारकेश्वर नगरपालिकाका ८ वटा सामुदायिक विद्यायलमा विद्यार्थीहरुलाई सामाग्री वितरण गरेको छ । खाजा खर्च र परीक्षा शुल्कको पनि संस्थाले व्यवस्था मिलाउदै आएको छ ।

अध्यक्ष धमलाले बाल्यकालमै बुवा गुमाएपछि आफु र आफ्ना परिवारले पाएको दुख र भोगेको पीडा अरुले भोग्न नपरोस् भन्ने उद्देश्यले संस्थाको स्थापना गरेको बताउनु भयो । “म ८ वर्षको हुँदा बुवा बित्नु भयो, ६ महिनाको थियो भाई,३ वर्षको बहिनी थिइन्, आमा हुनुहुन्थ्यो, कमाउने कोही भएन । हाम्रो विचल्ली भयो । अरुले लेखेर फालेका कापी जम्मा गरेर मैले लेख्थे । सानै हुँदा झोला बोक्ने पैसा अभाव भएर हातभरी किताब बोकेर स्कुल जादा चिप्लिएर लडेको घाउ आजसम्म पनि दुख्छ । हाम्रा दुखका दिन सम्झेर हामी जस्तै कोही छन् की जसलाई पढ्न समस्या भएको छ भनेर पोसीबल नेपालको स्थापना गरेर सहयोग गर्दै आएका छौं ।”–धमलाले आफ्ना विगतका दिन सम्झदै भन्नु भयो ।

आगामी दिनमा देशैभरीका सामुदायिक विद्यालयमा पढ्ने विपन्न विद्यार्थीहरुको जीवनस्तर उकास्ने गरी सहयोगी भूमिका खेल्ने पनि उहाँले प्रतिबद्धता गर्नुभएको छ ।

 

प्रतिक्रिया