३१ भाद्र २०८१, सोमबार | September 17, 2024

भारतीय दूतावासले मनायो भारतको ७८औं स्वतन्त्रता दिवस


August 15, 2024
415
Shares

काठमाडौं, ३१ साउन । काठमाडौं स्थित भारतीय राजदूतावासमा भारतको ७८ औं स्वतन्त्रता दिवस मनाइएको छ । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर शुभारम्भ गरेको कार्यक्रममा भारतका राष्ट्रपति द्रौपदी मुर्मुले भारत राष्ट्रका नाममा गरेको सम्बोधन भिडियोमार्फत प्रस्तुत गरिएको थियो ।

सन्देशमा विगत ७७ वर्षमा विभिन्न क्षेत्रमा भएको प्रगतिमाथि प्रकाश पारिएको थियो र भारतको स्वतन्त्रताका लागि आफ्नो जीवन बलिदान दिने स्वतन्त्रता सेनानीहरुलाई श्रद्धान्जली अर्पण गरिएको थियो ।

राजदूत श्रीवास्तवले भारतीय सशस्त्र बलका मृतक गोर्खा सैनिकका श्रीमती र निकटतम नातेदारलाई ५ करोड ५० लाख र कम्बल वितरण गरी सम्मान गरे । भारतीय सशस्त्र बलका मृतक सैनिकका श्रीमती एवम् १०७ मृतक सदस्यका निकटतम नातेदारहरुका लागि नेरु १२ करोड ५५ लाख भुक्तानी दिइएको थियो ।

दूतावासले नेपालका पाँच प्रदेशका २१ वटा शैक्षिक संस्था र पुस्तकालयका लागि पुस्तक अनुदानको पनि घोषणा गर्‍यो । यस पहलले प्राप्त अनुरोधको प्रत्युत्तरमा दुर्गम क्षेत्रका विद्यार्थीका लागि शैक्षिक सामग्रीमा पहुँच बढाउने लक्ष्य राखेको छ ।

दूतावासका अधिकारी तथा उनीहरुका परिवारका अलावा नेपालमा रहेका भारतीय समुदायका सदस्य तथा भारतका मित्रहरुले भारतको ७८ औं स्वतन्त्रता दिवसको उत्सवमा सहभागीता जनाएका थिए । कार्यक्रममा दूतावासको स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय, काठमाडौंका शिक्षक तथा विद्यार्थीले देशभक्ति गीत र नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया