३ आश्विन २०८१, बिहिबार | September 19, 2024

यसकारण काटियो राजदूतमा सेवा लम्सालको नाम


913
Shares

काठमाडौं, २० साउन । सरकार परिवर्तनसँगै राजदूत फिर्ता बोलाउने र नयाँ सिफारिश गर्ने क्रम चलिरहेकै छ । यसपटक केपी शर्मा ओली नेतृत्वमा काँग्रेससहितको गठबन्धन सरकार बन्दा त्यस्तै भयो ।

सरकारले चीन, अमेरिका, बेलायत, अस्ट्रेलिया, इजरायल, जर्मनी, दक्षिण कोरिया, पाकिस्तानजस्ता देशमा नयाँ राजदूत पठाउने निर्णय गरेको छ। भारतमै शंकर शर्मालाई नै निरन्तरता दिएर अन्य महत्त्वपूर्ण देशमा नयाँ राजदूतको नाम प्रस्ताव गरेको छ ।

राजदूतमा सिफारिस कतिपय व्यक्तिले कागजजात पेस गरेका छैनन्। उनीहरूको कागजात परराष्ट्र मन्त्रालय संकलन गरिरहेको पाइन्छ। राजदूतमा सिफारिस भएका व्यक्तिहरूको कागजात मागेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पठाउने परराष्ट्रको तयारी छ।

परराष्ट्र स्रोतका अनुसार यसपटकको राजदूत सिफारिसमा परराष्ट्र सचिव सेवा लम्सालको नाम पनि पठाउने तयारी थियो। उनलाई बेल्जियमको राजदूत बनाएर पठाउने निश्चित जस्तै थियो। तर, परराष्ट्र मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पठाउने बेलामा सचिव लम्सालको नाम हटाइयो। परराष्ट्र सचिव लम्साललाई युरोपियन युनियन समेत हेर्ने बेल्जियमको राजदूत पठाएर अमृतबहादुर राईलाई नयाँ परराष्ट्र सचिव बनाउने तयारी थियो। तर, लम्सालको नाम अन्तिम समयमा काटियो।

परराष्ट्र सचिव भइसकेको व्यक्तिको ठूल्ठूला देशमा राजदूत सिफारिस भएका बाहिरका व्यक्तिभन्दा पछाडि नाम जाने र महिलाबाट पहिलो परराष्ट्र सचिवको हैसियतमा आगामी असोजमा हुने संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिने इच्छाका कारण अन्तिममा लम्सालको नाम राजदूतको सूचीबाट हटाइएको परराष्ट्र स्रोतले बतायो।

सरकारले एकैपटक जर्मनी, बेल्जियम र पाकिस्तानका लागि राजदूतहरु सिफारिस गरेको थियो। बेल्जियम र युरोपियन युनियनका लागि गेहेन्द्रराज भण्डारी, जर्मनीका लागि रामकाजी खड्का र पाकिस्तानका लागि तापस अधिकारीलाई राजदूत बनाएर पठाउने निर्णय एकैदिन भएको हो। तर, जर्मनीका रामकाजी र पाकिस्तानका तापसको ठाउँमा मात्र नयाँ राजदूतको नाम प्रस्ताव गरिएको छ। बेल्जियममा गेहेन्द्रराजको ठाउँमा भने नयाँ व्यक्तिको नाम प्रस्ताव गरिएको छैन। बेल्जियममा परराष्ट्र सचिव लम्साल नै जाने कुरा निश्चित जस्तै भएको परराष्ट्रका उच्च अधिकारीहरू बताउँछन्।

परराष्ट्र सचिव भएका व्यक्तिहरू संयुक्त राष्ट्रसंघको स्थायी नियोग, न्युयोर्कमा स्थायी प्रतिनिधि भएर जाने परम्परा थियो। त्यो परम्परा दुर्गाप्रसाद भट्टराईले समेत कायम राखे। त्यसपछिका परराष्ट्र सचिवहरूले ‘ट्रयाक’ बिराए। परराष्ट्र सचिव भएका शंकरदास बैरागी राजदूत भएर गएनन्। भरतराज पौड्याल क्यानडा गए। अब सेवा लम्साल बेल्जियम जाने छाँट देखिन्छ।

प्रतिक्रिया