७ आश्विन २०८१, सोमबार | September 24, 2024

काठमाडौं महानगरका निर्देशक काफ्लेको हेटौंडा सरुवा, ‘डाइनामिक’ कर्मचारी ल्याउन बालेनलाई प्रदेश कानुनको साथ


581
Shares

काठमाडौं,३ असार । काठमाडौं महानगरपालिकाका निर्देशक (अधिकृतस्तर दशौं) महेश कुमार काफ्लेको हेटौंडा उपमहानगरपालिका सरुवा भएको छ । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उनलाई हेटौंडा उपमहानगरपालिका सरुवा गरेको हो ।

स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ को दफा २८ बमोजिम प्रमुख सचिवस्तरको निर्णयबाट निर्देशक काफ्लेलाई काठमाडौंबाट हेटौंडा सरुवा गरिएको हो । प्रदेश कानुन अनुसार बागमती प्रदेशभित्रको स्थानीय तहमा स्वीकृत दरबन्दीमा जुनसुकै कर्मचारीलाई जहाँसुकैको स्थानीय तहमा सरुवा गर्न सकिने व्यवस्था छ । त्यसैका आधारमा प्रदेश सरकारले काफ्लेलाई काठमाडौं महानगरपालिकाबाट हेटौंडा उपमहानगरपालिकामा सरुवा गरेको हो ।

यसअघि पनि काठमाडौं महानगरपालिकाका कर्मचारी गोपाल पोखरेललाई हेटौंडा उपमहानगरपालिका सरुवा गरिएको थियो । यसले काठमाडौं महानगरपालिका ‘योङ्ग’ र ‘डाइनामिक’ कर्मचारी ल्याउन सजिलो हुने भएको छ ।

युवा जोश र भिजन तथा मिसनका साथ आएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई ‘क्रोनिक’ कर्मचारी संयन्त्रले काम गर्न कठिनाइ भइरहेको थियो । बागमती प्रदेशको कानुन अनुसार आफ्नो ‘स्पिरिट’ अनुसार काम गर्न सक्ने कर्मचारी भित्र्याउन बालेनलाई बाटो खुला भएको छ । काफ्ले लामो समयदेखि काठमाडौं महानगरपालिकाका विभिन्न महाशाखा तथा विभागको नेतृत्व सम्हालिसकेका व्यक्ति हुन् । महानगरपालिकाभित्र ‘क्रोनिक’ भएर एक छत्र राज गरिरहेका उनी जस्ता व्यक्तिलाई प्रदेश सरकारले अर्को स्थानीय तहमा पठाउन थालेको छ । यो स्थानीय तहको मर्म अनुसारको प्रदेश सरकारको कर्म हो ।

महेश कुमार काफ्ले निर्देशक
काठमाडौं महानगरपालिकाभित्र संघीय र प्रदेश सरकारमा जस्तै नयाँ कर्मचारी पठाएर पुरानालाई अर्कै ठाउँमा सेवा गर्न प्रदेश सरकारले अवसर दिन थालेको छ । स्थानीय तहको रुपान्तरणका लागि यो महत्त्वपूर्ण कदम हुने देखिन्छ । स्थानीय तहमा सुशासन कायम गर्न ‘क्रोनिक’ रुपमा रहेका कर्मचारी बाधक बन्दै आएका छन् । प्रदेश सरकारको कर्मचारीसम्बन्धी कानुन सुशासन र विकासको साधक बन्न थालेको छ । जे होस् प्रदेश सरकारले काठमाडौं महानगरपालिकाका निर्देशक काफ्लेलाई हेटौंडा उपमहानगरपालिका सरुवा गरेर राम्रो सन्देश दिएको छ । सुशासन र समृद्धिमा अवरोध खडा गर्ने र फोहोरी राजनीति गर्ने कर्मचारीलाई डाँडो कटाउन बालेनलाई प्रदेश कानुन कोशेढुङ्गा साबित हुने देखिन्छ ।

काठमाडौं महानगरपालिका लामो समयदेखि डेरा जमाएर बसेका काफ्ले जस्ता क्रोनिक कर्मचारी हटाएर नयाँ, युवा र ऊर्जाशील कर्मचारी भित्र्याउन पहलकदमी लिन जरूरी छ । यसमा बालेनको ध्यान पुगोस् ।

प्रतिक्रिया