३१ जेष्ठ २०८१, बिहिबार | June 14, 2024

वीरेन्द्रको वंशनाशको रहस्य


1.8k
Shares

काठमाडौं, १९ जेठ । १४ पौष २००२ मा युवराज महेन्द्र र युवराज्ञी इन्द्र राज्यलक्ष्मी शाहको जेठा सन्तानका रुपमा जन्मिएका वीरेन्द्र शाह बाबुको निधनपछि २०२८ सालमा राजा भएका थिए । तर, २०५८ सालमा उनको हत्या भयो । उनीमात्र नभई पत्नी ऐश्वर्या, छोराहरु दीपेन्द्र र निराजन र छोरी श्रुतीको समेत मारिए । दीपेन्द्रले सबैको हत्या गरी आत्महत्या गरेको सरकारी छानविन कमिटीको प्रतिवेदनले भनेको छ । तर, अझैपनि सर्वसाधारण यो पत्याउँदैनन् । वंशनाश नै भएको घटना थियो त्यो । नेपालको इतिहासकै कालो दिनका रुपमा लिइएको जेठ १९ मा भएको घटनाबारे अझै शंका आशंका जिवित छ ।

अन्तर्राष्ट्रिय जगतमा नेपालका ऐतिहासिक विश्वविख्यात राजाका रुपमा परिचित भए । राजा वीरेन्द्र नेपाली राजशाही परिवारहरुमध्येबाट औपचारिक शिक्षा ग्रहण गर्ने पहिलो व्यक्ति थिए । उनले दार्जिलिङस्थित सेन्ट जोसेफ कलेजअन्तर्गतको जेसट स्कूलमा आठ वर्ष अध्ययनको क्रममा बिताएका थिए ।

बेलायतस्थित इटन कलेजबाट अध्ययन पूरा गरी नेपाल फर्के । भेष बद्लेर नेपाली गाउँ–बस्ती र कुनाकाप्चासम्मको यात्रा गरे । जसक्रममा उनले स्थानीय तहका उपलब्ध वस्तुहरुको उपभोग गर्दैै गाउँघर र गुम्बाहरुमा समेत रात बिताए । हावर्ड विश्वविद्यालयमा राजनीतिशास्त्रको अध्ययनपूर्व उनले टोकियो युनिभर्सिटीमा शिक्षा हासिल गरे । वीरेन्द्रको असाध्यै घुम्ने शोख नै थियो । उनले क्यानडा, ल्याटिन अमेरिका, अफ्रिका र केही संख्यामा एसियाली देशहरुसमेत घुमे । हेलिकप्टर उडाउन समेत सिके ।

राणा खानदानकी ऐश्वर्य राज्यलक्ष्मी देवी राणासँग उनको विवाह २७ फेब्रवरी १९७० मा सम्पन्न भयो । उनको विवाह समारोह यति भव्य र खर्चिलो थियो कि हिन्दु संस्कृतिअनुसार सम्पन्न उक्त वैवाहिक कार्यक्रममा ऐतिहासिकरुपमै अमेरिकन डलर साढे नौ मिलियन खर्च गरियो । वीरेन्द्र र ऐश्वर्यका तीन सन्तान थिए— दिपेन्द्र, श्रुति र निराजन । ती सबै दरबार हत्याकाण्डमा मारिए ।

३१ जनवरी १९७२ मा पिता महेन्द्रको स्वर्गारोहण पश्चात् वीरेन्द्रले राजगद्दी सम्हाले । उनको पालामा पञ्चायती व्यवस्था थियो । पञ्चायती व्यवस्थाको अन्त भई जनआन्दोलनमार्फत् प्रजातन्त्र स्थापना भयो । राजा वीरेन्द्र प्रजातन्त्रवादी राजाका रुपमा लोकप्रीय भए । उनको बोली, व्यवहार र सालिनताले जो कोही प्रभावित हुन्थ्यो । लोकप्रीयताको शिखरमा पुग्दा राजा वीरेन्द्रको हत्या भयो । उनको वंश नाश नै हुनेगरी भएको हत्या अझै रहस्यमय छ । हत्याको छानविन आयोगले प्रतिवेदन तयार गरेपनि त्यसमाथि प्रश्नहरु गरिएका छन् । तथ्य र प्रमाणहरु अझै प्रष्ट छैन । धेरैले हत्याकाण्डको दोषी पत्ता लगाउने जिम्मा इतिहासलाई छाडिदिएका छन् ।

राजा वीरेन्द्रको वंशनाश हुनेगरी भएको हत्याले नेपालको राजनीतिमा दूरगामी असर गर्यो । राजतन्त्रको अन्त गर्ने जगत यार गर्यो । देशमा नसोचिएका घटनाक्रम विकास भए । यसले पनि हत्यामा कुनै ग्राइड डिजाइन रहेको आशंका गरियो । वीरेन्द्रको वंशनाश हुँदा प्रधानमन्त्री रहेका गिरिजाप्रसाद कोइरालाले ग्रान्डडिजइन भने । तर, उनले पनि यसबारे केही खोलेनन् ।

जब वीरेन्द्र र उनका श्रीमती महारानीसहित स–परिवारको सन् २००१ जुन १ का दिन शाही रात्रीकालीन भोजको समयमा भएको गोलीकाण्डमा हत्या प्रकरण भयो । हत्याकाण्डमा विभिन्न शंका उपशंका भयो । प्रकाशित रिपोर्ट, प्रत्यक्षदर्शी र सर्वोच्च अदालतका प्रधान न्यायाधिस केशव प्रसाद उपाध्याय र प्रतिनिधि सभाका सभामुख तारानाथ रानाभाट, दुई जना सम्मिलित अनुसन्धान टोलीले निकालेको परिणामअनुसार भने वीरेन्द्रका ज्येष्ठ पुत्र दिपेन्द्रले नै गोली चलाएको प्रमाणित हुन आउँछ । प्रतिवेदनमा उल्लेख गरिए अनुरुप दिपेन्द्रले गोली चलाउनुको कारण उनले देवयानी राणालाई विवाह गर्न चाहनु तर यही विषयलाई लिएर आमासँगको ठाकठुकले गर्दा भएको हो भनी ठहरेको छ ।

दीपेन्द्रको पैलेदेखि नै रक्सी र अवैध लागूपदार्थको सम्बन्ध जोडिएर पहिले पनि मानसिकरुपमा डिप्रेसका विरामी थिए भन्ने हल्ला पनि फैलिने गरेको थियो । तर सो काण्ड दीपेन्द्रले नै मच्चाएका हुन् भन्नेमा शंका छ । वास्तविकता के हो भन्ने प्रमाण कसैले पेश पनि गर्न सकेको छैन । अनुमानका भरमा बोल्नुले विश्वसनीयतामाथि प्रश्न उठ्छ । तर, राजा वीरेन्द्रको वंशनाश भवितव्य या कसैको सनकका भरमा मात्र हुनसक्दैन ।

रुसमा जारशाहको वंशनाश गरिएको इतिहास साक्षी छ । त्यही वंशनाशले त्यहाँको राजतन्त्र उखेलेको थियो । जारशाहको हत्यारा पत्ता लाग्न एक सय वर्ष लाग्यो । राजपरिवारको शवमध्ये केहीको पत्ता लाग्न एक सय वर्षभन्दा बढी समय लाग्यो । त्यसैले यस्तो समय आउला जस्ले वीरेन्द्रको वंशनाश गर्नेहरुको मुखुण्डो उतार्नेछ । सत्य केही समय छोप्न सकिन्छ मेट्न सकिदैन ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया