३१ भाद्र २०८१, सोमबार | September 17, 2024

राजनीति की दलालनीति ?


170.6k
Shares

आकृति रायमाझी । हाम्रो देशमा आजकल पाइलै पिच्छे  भेटिने भनेकै “दलाल”। कोही अत्यन्त सम्मानपूर्वक मीठो वचन बोल्ने दलाल, कोही सब जानेको छू , चिनेको छु, मिलाउछु भन्ने दलाल त कोही नाई कहिले भन्दै नभन्ने दलाल ! कतै परामर्शदाता झै अत्यन्त व्यावसायिक दलाल । मालपोतमा भेटिने जग्गा दलाल, सरकारी कार्यालयमा भेटीने  official न्याय बेच्ने दलाल अनि देश बेच्न नेताको रूप धारण गरेका पेशेवर दलाल ! जताततै दलाल !

दलाल नीति भन्नाले विधि, नीति र पद्धतिबाट विचलित नाफा मूलक निजी स्वार्थ पूर्तिका लागी बनाईएको राज्य नीतिका नाममा नेता केन्द्रीत राजनीति नै दलाल नीति हो । नेताहरुले गरेका भाषण र प्रतिबद्धता पनि ती मीठा झूट बोल्ने दलाल का जस्तै गर्छु भनेको काम कहिल्यै नगर्ने र गर्दिन भनेको काम चाहिँ हतार हतारमा गरिहाल्ने । नेपालका नेता भनाउदाले पटक–पटक देखाएका ती सुन्दर कागजी सपना र आकर्षक राज्य नीति पनि आजकल दलाल नीति जस्तो लाग्छ । हाटबजारमा अरु भन्दा फरक हिसाबले माइकिंग गरेर मूनाफा बढ़ाउन जे पनी बोल्ने talented ब्यापारी जस्ता नेता र तिनले बेचेका सुन्दर सपना, एक प्रकारले दलाल नीतिको आधुनिक प्रस्तुति हो ।

आधुनिक नेताहरुले पद पनि आफ्नै विशेषज्ञताको छान्न थालेका छन। सुन तस्करीमा नाम आउनेले अर्थमन्त्रालय, संगठित ठगीमा नाम आउने गृहमन्त्रालय, हाइड्रोको सिन्डिकेटमा मुछिएका ऊर्जा मन्त्रालय आदि जस्ता धेरै ज्वलन्त उद्धाहरणहरु छन् । पहिले राजाका पालामा राजपरिवारमा मात्र श्रोत साधन र सुविधा सीमित भयो, राजसंस्थाले सबैलाई समेटेर लगेन भन्दै जनआन्दोलनमा “प्रचण्डपथ”को चर्को भाषण गर्ने नाइके नेताको घरपरिवारका सम्पूर्ण सदस्य, ती सदस्यको पनि वैवाहिक सम्बन्धबाट बनेका परिवार र उनका पनि परिवार सबै मन्त्री, मेयर, राजदुत, business tycoon, विभिन्न सरकारी निकायका प्रमुख, संबैधानिक अंगका पदाधिकारी र सदस्य छन् ।

विचरा नेपाली जनता जसले ठुला–ठुला नेताको पछाड़ी लागेर २–२ पटक जनआन्दोलन गरे । देश विकास गर्छु, आमूल परिवर्तन गर्छु भन्ने जोश बोकेका ती सबै नेपाली जनताको मनमा अहिले एउटै प्रश्न उठेको छ– आखरी नेपाली जनताले गरेको संघर्ष के का लागी थियो ?? जनआन्दोलन केवल नेताको घर परिवार बनाउनका लागी थियो ? की देश बनाउनका लागि थियो ??

फेरी हेरौ न, सत्तामा आउने बित्तिकै सर्वहाराको राजनीति गरेका मार्क्सको सिद्धान्त बोकेका नेताहरुले राजकीय शोख पूरा गर्न व्यस्त देख्दा हाँसो लागेर ऑउछ । आखिर देशप्रेम, राष्ट्रवाद बहुलवाद र जनतालाई देखाएको चौतर्फी विकासको सपना, दलालको मीठो बोली अनि political marketing funda मात्र त रहेछ।

यी ठुला दलहरुले प्रस्तुत गर्ने विभिन्न नीति कार्यक्रम राज्यनीति हैन् सत्ता टिकाउन, आफू टिक्न ल्याईएको दलाल नीति मात्र त रहेछन ! फेरी उनलाई सल्लाह दिने महान्यायधीवक्ताले कानुनमा नै नभएको थरीथरीको अलौकिक उपाय लगाएर सत्ता टिकाउन मद्दत गरेका छन् । सहकारी ठगी प्रकरणमा बौद्धिक महान्यायाधीवक्ताज्यूले सत्तासमीकरण बचाउन, अझ बलियो बनाउन विवादित नेतालाई बिना अनुसन्धान  ” cleanchit ” दिएर सरकार टिकाउन मद्दत गरे संगै १० हजार भन्दा बढ़ी ठगिएका जनताले न्याय पाउने आशा पनि सकाईदिए । ठगीको योजना र आर्थिक हिनामीना ड्राइवर, पियून, कार्यलय सहयोगी, receptionist ले गरेको प्रमाणित हुन आयो भनी प्रहरी र सरकारी वकीलले सामान्य कर्मचारीलाई सहकारी ठगीको मुख्य अभियुक्त बनाई मुद्दा दर्ता गर्यों, अब यसरी दलाल कर्मलाई सहजीकरण गरिदिने कर्म के मा पर्छ अनुसन्धान गर्न बाँकी छ । नहुने काम फत्ते गरिदिए बापत बक्सिस पाउने हो कि ? हेर्न बाँकी नैछ । आखिर नेता बचाउने क्रममा पीडित बिचरा जनता मात्र भए ।

निजी स्वार्थपूर्तिका लागि देशको ऐन कानुन नै खोक्रो बनाई रहेको दृष्टांत देखेर पनि अनदेखा गर्नु पर्ने, अन्याय बुझेर पनि बुझ्पचाउनु पर्ने, मौन बस्नुपर्ने बाध्यता छ । सरकारको गठबन्धन पनी हेरौ न; पार्टीले विचार एउटा बोकेको छ, दलिय सङ्गठनको आकृति विधि, विधान, पद्धति एकातिर छ भने दलका बाहुबली नेतृत्व अर्कातिर कुर्सीको लोभमा हिड़ेका छन् । यो नै दलाल राजनीति हो भन्ने बारे अझै शंका छ र ? यी दलाल नीति का कारण आज मुलुकमा हरेक क्षेत्रमा समस्या देख्छौ । उद्योगधन्दा प्राय बन्द छन्,चलेका केही उद्योगलाई सरकारले सहूलियत दिदैन, उल्टो स्वदेशी ब्यापारीलाई हतोत्साहित गरी मारवाड़ीलाई प्रोत्साहन गर्ने चलन छ, आन्तरिक उत्पादन शून्य छ, दैनिक उपभोगमा प्रयोग हुने वस्तुको कर र मूल्य आकासिँदो छ, राज्यको हरेक व्यापार घाटामा छ, आर्थिक मन्दी उकालो लाग्दै छ, सामान्य जनता एक छाक खान र ठिकठाक लाउन भौतरिएका छन, अरूको गुलाम बन्न बाध्य भएका छन् । १०० केजी सुन तस्करी हुदा चेकजाच हुदैन, border बाट सस्तो नून चीनी लत्ताकपड़ा बोकेका आम नागरिकलाई तस्करीको मुद्दा चल्छ ।

देश यस्तो जर्जर अवस्थामा हुँदा पनि दलका नेतृत्व, ठुला नेता, न्यायालयका विद्धवान ठेकेदारहरु भने व्यक्तिगत स्वार्थ शक्तिकेन्द्र भन्दा बाहिर निस्किन नै चाहदैनन् । श्रीमान फेरी यसका प्रमाण धेरै छन् है ! लोकतन्त्रको ब्याख्या गर्ने अदालतले ”suomoto case”भनेर सत्य बोल्नेलाई मुद्दा चलाई चुप गराउन थालेको छ। ”Democratic” मूल्य मान्यता भएको देश अरे स्वतन्त्र विचार राख्न, सत्य बोल्न पनि डर लाग्छ !
नेपालमा राज्य चलाउने नीति भनेकै उच्चस्तरमा दलाली गर्ने लाइसेन्स बिक्री वितरण गर्ने बॉडफाड़ गर्ने दलालनीति भएर गएको छ । पद पाए पछि त्यो लाइसेन्स नेताका सम्पूर्ण परिवारले नै प्रयोग गर्ने गरेको दृस्टान्त धेरै छन् । उच्चस्तरिय दलाली लाइसेन्सको धेरै काम हुन्छ। यो लाइसेन्सको प्रयोग गरेर दलमा आबद्ध कर्मचारीलाई मालदार अड्डामा सरुवा गरे बापत पार्टीलाई एकमुष्ट सहयोग आउछ र मालदार अड्डाको दैनिक आम्दानी नेतालाई किस्ताबन्दीमा दिने चलन छ । यस विषयमा अख्तियारले बोल्यो की अख्तियार प्रमुखलाई नै लगाम लगाउन सबै दल एकजुट हुन्छन । लाइसेंसको प्रयोगमा हरेक वर्ष नयाँ अभ्यास हेर्न पाईन्छ । गिरीबन्धु टि स्टेट कै उद्धाहरण हेरौ न, राजनीतिलाई दलाली गर्न प्रयोग गरेर,नैतिकताको नाममा अनैतिक कार्य गरेर; राज्यका श्रोतसाधन आफु खुश, आफ्नै लागी प्रयोग गर्न बनाइएको नीतिलाई के भन्ने ? दलाल नीति की राज्यको नीति ? की सरकारले नीतिगत भ्रष्टाचारको पनि ब्याख्यात्मक टिप्पणी दिने हो ?

देशलाई प्रगतिको दिशामा लैजानु वा दुर्गतिको दिशामा लैजानुमा मुख्य भूमिका नेताहरुको हुन्छ । नेताहरूले गर्ने राजनीति देशको राज्य व्यवस्थासंग जोडिएको हुँदा देश बनाउने मुख्य भूमिका राजनीति कै हुन्छ भन्ने प्रष्ट छ । राजनीतिमा दलाल नीति हावी भएको हाम्रो देश आर्थिक हिसाबले टाट पल्टिँदै गएको छ भने नेताहरूलाई पैसा राख्न स्वदेशी बैंक पनि सानो हुन थालिसक्यो । नेपालको सन्दर्भमा आज राजनीति दलाल नीतिमा परिणत भएको हुनाले राज्यका सबै अंगहरुमा रमिता हेर्न पाईन्छ । राजनीतिमा हुने चटक नाटक सबै दलाल नीतिको पराकाष्ठा हो । नागरिकको हक अधिकारका बारेमा छलफल गर्ने थलो आज दलाल नीतिको बन्धक छ, न्यायालय आफै राजनीतिक स्वार्थपूर्ति गर्ने अस्त्र बन्न पुगेको छ, कार्यपालिका बदनाम छ देश अन्योलमा छ ! सामाजिक अभियान्तालाई पनि यस्ता दलाल नीति बिरूद्द पुनर्जागरण कार्यक्रम चलाउन पैसा चाहिन्छ जुन विदेशी दातृनिकाय संग छ कि उही उच्चस्तरीय दलालसंग नै छ ।

दलाल नीति निर्माण गर्ने नेताहरुलाई अझै हामी जनताले चिन्दैनौं भने हाम्रो चेतना, बुद्धि र विवेकको के अर्थ रहन्छ ? मन, बचन र कर्मले दलाल नीति बनाउने नेतृत्वले देश स्वर्गजस्तो बनाईदेलान भनेर कहिले सम्म कुरिरहने ?कहिले, कसरी कस्ले बदल्ने यो देशको दुर्भाग्य ? २०४६ साल देखि आज सम्म उही नेतृत्व, उहि कुर्सी मोह, सधै अस्थिरता सधै दलाली ! राजनीतिक नेतृत्वले दलाल नीतिबाट बाहिर आई देश बनाउन दृढ़ता प्रतिबद्धता इच्छाशक्ति देखाउन प¥यो नत्र देश बचाउन सकिंदैन ।आदर्शवादको कुरा गर्ने तर तीतो यथार्थवादको मिचाइमा परेका हामी जस्ता देश मै केही गर्नुपर्छ, देश बनाउनु पर्छ भन्ने जमात दलालको भीड़ मा असान्दर्भिक बनि सक्यौं, अल्पमतमा परिसक्यौं। हामी नेपाली सहनशील छौ, तर यस्तो नैतिकपतन भएका नेतृत्वलाई कहिले सम्म सहने ?
(लेखक रायमाझी अधिवक्ता हुन् । )

प्रतिक्रिया