१९ मंसिर २०८१, बुधबार | December 4, 2024

काँग्रेसको तारोमा रवि लामिछाने


332
Shares

काठमाडौं, २८ वैशाख । रवि लामिछानेको राजनीतिमा उदय नेपाली काँग्रेसका लागि प्रत्याशित थिएन । २०७९ सालमा पार्टी घोषणा गरेलगत्तै लामिछाने प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी लिएर उत्रिए । त्यतिबेला उनले त्यति ठूलो सफलता हासिल गर्छन् भन्ने मूलधारका पार्टीका कोही नेता कार्यकर्ताले अनुमान लगाएका थिए ।

लामिछानेको दलले २० सिट जित्यो । पछि उपनिर्वाचनमा एक सिट पनि थप्यो । त्यसपछि मुख्य दल सतर्क भए ।

लामिछानेले मुख्य दलको टकरावको फाइदा उठाउँदै उपप्रधानमन्त्रीसहित गृहमन्त्री पाए । त्यो पनि दुईपटक । तर, उनको सफलताको भित्री पाटोको खोजी हुनथाल्यो ।
विशेषगरी नेपाली काँग्रेस लामिछानेविरुद्ध उत्रियो । लोकतान्त्रिक धारका पुस्ता रास्वपामा आकर्षित भएकाले पनि काँग्रेस झस्कियो ।

कम्युनिस्ट मत एमाले र माओवादीलाई नै बढी जाने परम्परा कायम छ । तर, गैरकम्युनिस्ट शक्तिमा काँग्रेसबाहेक अर्को सशक्त विकल्प नभएकाले पनि उसैको पल्लाभारी हुदै आयो । तर, परिस्थिति फेरिन थाल्यो लामिछानेका कारण ।

एमाले र माओवादीले पनि काँग्रेसलाई चुनावमा या सरकार निर्माणमा अप्ठ्यारोमा पार्न रास्वपालाई नै अघि सार्न थाले । त्यसपछि काँग्रेस झन् कडा रुपमा प्रस्तुत हुन थाल्यो । रवि लामिछाने काँग्रेसको तारोमा पर्दै आयो ।

सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध काँग्रेस कडा रुपमा प्रस्तुत भएको छ । छानविन समिति नै गठनको मुद्दा सारेको छ । काँग्रेस यो मुद्दामा पछि हट्न मानेको छैन ।

लामिछाने छटपटीमा छन् काँग्रेसका कारण । उनीनिकटस्थ पनि तारोमा परेका छन् । यसले काँग्रेस र रास्वपाबीच टकराव झन् बढ्दै गएको छ । यसले दुवैलाई कहाँ पुर्याउने हो प्रतिक्षाको विषय बनेको छ ।

प्रतिक्रिया