७ आश्विन २०८१, सोमबार | September 23, 2024

धारा १६८ को उपधारा ५ कति पल्ट सम्म प्रयोग गर्न पाइन्छ ?


9k
Shares

काठमाडौं,२७ वैशाख । कोशी प्रदेशको पाँचौ मुख्यमन्त्रीको रुपमा नेकपा एमालेका नेता हिक्मतबहादुर कार्की नियुक्त भएका छन् । प्रदेशको नवौं पटकको सरकार गठनको क्रममा तेस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले आजै शपथ लिए ।

कार्कीले ५२ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख परशुराम खापुङलाई मुख्यमन्त्रीको दाबी पेश गरेका थिए । कार्कीले पनि आजै उनलाई मुख्यमन्त्री बनाउने निर्णय गरेका थिए । नवनियुक्त मुख्यमन्त्री कार्कीलाई एमालेका ३९ र माओवादी केन्द्रका १३ जना सांसदले समर्थन गरेका हुन् ।

खापुङ समक्ष कार्कीले संविधानको धारा १६८ (५) बमोजिम कोशी प्रदेश सरकार गठन प्रयोजनका लागि कुल प्रदेशसभा सदस्य संख्याको बहुमत सदस्यहरूको समर्थन रहेको दाबीसहित नयाँ सरकार गठन गर्न माग गर्दै दाबी पेश गरेका थिए । प्रदेशको इतिहासकै पहिलो पटक छोटो समयमा नवौं पटक सरकार गठन गरेर नयाँ रेकर्ड राखिएको हो ।

नेपाली कांग्रेस निकट नेपाल तरुण दलका केन्द्रीय सदस्य भीमकुमार गौतमले प्रदेशको नयाँ सरकार गठनप्रति असन्तुष्टि जनाएका छन् । उनले आज राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रश्न गरे,“संविधानको धारा १६८ को उपधारा ५ कति पल्ट सम्म प्रयोग गर्न पाइन्छ ?” पटक–पटक सरकार गठन गर्न नहुने उनको तर्क छ ।

कार्की यसअघि पनि २०७९ पुस २८ र २०८० भदौं २२ गते दुईपटक मुख्यमन्त्री भएका थिए । एमाले–माओवादीको गठबन्धनबाट पहिलो पटक मुख्यमन्त्री बनेका कार्की दोस्रो पटक भने संविधानको धारा १६८ (२) अनुसार सरकार बन्न नसकेर सर्वोच्चको परमादेशबाट उपधारा (३)अनुसार ठुलो संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका थिए ।

उनी झापा निर्वाचन क्षेत्र नम्बर ५ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा वारेसमार्फत रिट निवेदन दर्ता गराएका छन् ।

प्रतिक्रिया