९ माघ २०८१, बुधबार | January 22, 2025

प्रचण्ड, देउवा र ओलीबीचको सत्ता संघर्षमा साना दलमा विवाद र फुट


1.5k
Shares

काठमाडौं, २४ वैशाख । सत्ता संघर्ष झन् पेचिलो बन्दै गएको छ । २०७९ को मंसिरको चुनावयताको डेढ वर्ष सत्ता संघर्षले सबैभन्दा बढी साना दलमा विवाद र फुट चल्न थालेको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा काँग्रेससँगको सत्ता गठबन्धन तोडेका मात्र थिए । पछि उनी फेरि गठबन्धनमा फर्किए । त्यसबीच साना दलहरु बढीजसो सत्ताको यताउता मात्र लागेका थिए ।

दोस्रोपटक प्रचण्डले गठबन्धन फेर्दा पनि साना दलमा ठूलो विवाद देखिएन । तर, तेस्रोपटक समिकरण बदल्दा पनि साना दलमा कम्पन नै आयो ।

प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग हात मिलाउँदा सबैभन्दा बढी कम्पन नागरिक उन्मुक्ति पार्टीमा आयो । उक्त पार्टीमा पतिपत्नीबीच ठूलै झगडा भयो । नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरी र अध्यक्ष बनाइएकी उनकी पत्नी रञ्जना श्रेष्ठबीच विवाद छताछुल्ल भयो । सरकारमा जाने कि नजाने विषयमा अझै विवाद छ ।

सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीको दाबी गर्दा रेशम र रञ्जना पक्षधर दुईजना देखिए । यो घटना संसदीय इतिहासमा रोचक बन्यो । तर, कसैको हातमा केही लागेन । नागरिक उन्मुक्ति पार्टी घरझगडाले बदनाम भयो ।

प्रचण्ड सरकार ढाल्ने खेल चलिरहँदा जसपा आइतबार फुट्यो । जसपामा अशोक राई पक्षधर ७ सांसदले नयाँ दल दर्ताको निवेदन हाले । जसमा मन्त्री बनाइएका नवलकिशोर साह समेत छन् । उपेन्द्रनिकट मानिएका प्रदीप यादव पनि फुटको पक्षमा लागे ।

माधव नेपाल नेतृत्वको नेकपा एसलाई फुटाउने खेल पनि चलिरहेको छ । यो खेलमा मुख्य भूमिका एमाले अध्यक्ष केपी ओलीले खेलिरहेका छन् ।

सत्ता संघर्षको खेलमा रास्वपाभित्र पनि धाँजा फाट्दै गएको छ । रवि लामिछाने अप्ठ्यारोमा छन् यतिबेला । स्वर्णिम वाग्लेले भित्र भित्र खेलिरहेका छन् । कुनैपनि बेला रास्वपा फुटाउने गतिविधि भित्र भित्र चलिरहेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र पनि विवाद भित्र भित्र चलिरहेको छ । राप्रपा पनि सत्ता संघर्षको खेलमा लागेमा कुनैपनि बेला धाँजा फाट्न सक्छ ।

मुख्य दलहरुले सत्ताको खेलमा साना दललाई कमजोर बनाउने रणनीति त बनाएका होइनन् ? चासो बनेको छ अहिले ।

प्रतिक्रिया