पाथीभरा देवीको स्थापना,उत्पति कहिले र कसरी भयो ?

पाथीभरा देवीको महिमा ।
दुर्गा ढकाल । ताप्लेजुङ्ग जिल्लाको पाथीभरा डाँडामा अवस्थित पाथीभरा मन्दिर पछिल्लो समय धेरै नै चर्चामा रहेको लोकप्रिय मन्दिर हो। समुन्द्र सतहबाट ३,७९४ मिटर उचाइमा रहेको र आवत जावत गर्न कठिन हुने ठाउँमा पनि यति धेरै लोकप्रिय हुदै जानुमा मन्दिर रहेको स्थान, त्यहाँको वातावरण ,मौसमको साथै धार्मिक आस्थाको पनि त्यतिकै ठूलो भूमिका रहेको छ। परापूर्व कालमा यातायातको असुविधाले गर्दा श्रद्दालु भक्तजनहरु कैयौ दिन सम्म हिडेर, सक्नेले भरियालाई झिटीगुम्टा बोकाई र नसक्नेले आफैले खाने बस्ने सबै समान लिएर जाने, बेलुकी पाटिपौवा हरुमा बसोबास गरी बिहानै देवीको पुजा गरि फर्कने गर्दथे। स्थानीय बासिन्दा हरु हरेक ६ /६ महिनामा अन्तरालमा देवीको दर्शन गर्न जाने चलन थियो ।
दुई दसक अघिसम्म देवीको हाल देखिएको मुर्तिको स्थापना गरिएको थिएन ।देवीको थानमा भक्तजनहरुले चढाएका मूल्यवान सामग्री सुन,चाँदी, गरगहना र नेपाली रुपैया यत्रतत्र छरिएर रहेको हुन्थ्यो । त्यस्ता सरसमानहरु कसैले लियो वा चोर्यो भने उक्त व्यक्तिलाई अनिष्ट हुन्छ भन्ने जनविश्वास रहिआएको हुँदा सामान्यतया कसैले पनि देवीथानमा चढाईएका समान लिने, छुने चलन थिएन । तत्कालीन समयमा पाथीभरामा कुनै पुजारी बस्ने गर्दैन थिए । पछिल्लो समय, केहि वर्ष यता आएर जिल्लावासी हरुको पहलमा मन्दिरमा अवस्तिथत् सबै प्रकारका जिन्सी समानहरु तथा नगदको सङ्कलन गरी मन्दिर निर्माण गरिएको र धार्मिक पर्यटक स्थलको विकास गर्न केही वासस्थान सहित मन्दिरमा पुजारी पनि व्यवस्था गरिएको छ ।
पाथीभरा देवीको स्थापना,उत्पति कहिले र कसरी भयो ?
धार्मिक आस्था भएका जुनसुकै धर्म मान्ने व्यक्तिहरुले पनि निर्वाध रुपमा पाथीभरा गएर देवीको आराधना गर्दा मनोकाङ्क्षा पुरा हुन्छ भन्ने विश्वाश गरिन्छ। यसरी जनकल्याणको लागि शक्ति प्रदान गर्ने ममता कि खानी देवी पाथीभराको स्थापना कहिले र कसरी हुन पुग्यो भन्ने कुरा जन मानसमा कौतुहुलता हुने गर्दछ। त्यस्तो विकट स्थानमा लोकप्रिय देवीको उत्पतिका बारेमा परापूर्वकालबाट नै केही किम्बदन्तीहरु सुनिदै आएको पाइन्छ यद्यपि देवीको स्थापना कसरी भयो भन्ने कुराको कुनै तथ्यगत प्रमाणहरु पाइदैन। किम्बदन्ती अनुसार एकजना भेडा गोठालोले अहिले स्थापना भएको पाथीभरा माताको मन्दिर वरिपरि सयौंको सङ्ख्यामा भेडा लगेर हेर्ने, चराउने गर्दथे। सोही समयमा एकदिन साँझ उनका सयौं को सङ्ख्यामा रहेका भेडाहरु आफ्नो बासस्थानमा फर्केनन्। यसरी आफ्ना कुनै पनि भेडाहरु नफर्केको कारण, भेडा खोज्दा खोज्दा नभेटे पछि दुखी र थकित भएका उनी रात परेपछि आफ्नो बासस्थानमा निदाएछन् ।
सोही रात उनलाई देवी प्रकट भएर हालको मन्दिर अवस्थित क्षेत्रमा देवीको थान स्थापना गरे सबै भेडाहरु फर्किने र बाँकी जीवन सुखमय बन्ने सपना भएछ। सोही कुरा विश्वाश गरेर भोलिपल्ट बिहान उनले सबै प्रक्रिया पुरा गरी सुद्द मनले पूजा आराधना गरी, बली चढाएर देवीको थानको स्थापना गरेछन् । त्यसको केही समय पछि नै उनका हराएका सबै भेडाहरु फिर्ता आएछन् । पछि बिस्तारै त्यो कुराको चर्चा गाउँभरी फैलिदै गएछ। त्यही समयबाट प्रत्येक वर्ष त्यहाँ पुजा,आराधना गर्ने, आफ्नो लागि भाकल गर्ने र बली चढाएर देवी खुसी बनाउने परम्पराको थालनी भयो भन्ने विश्वाश गरिन्छ। यद्यपि प्राणी मात्रको रक्षा को लागि प्राणीको वली परम्पराको अन्त्य हुन पनि जरुरी रहेको छ। कतिपयले आफ्नो मनोकाङ्क्षा पुरा भएपछि परेवा लगेर उडाउने साथै नगद, जिन्सी, सुन जस्ता मूल्यवान गरगहनाहरु चढाउने गर्छन।
पाथीभरा नाम कसरी रहन गयो ?
भक्तजनहरूकी आस्थाकी केन्द्र पाथीभरा माताको बारेमा अझ बढी सूचना तथा जानकारी प्राप्त गर्न चाहना हुनु स्वभाविक नै हुन आउछ। पाथीभरा देवी त्यस्ती देवी हुन जसको वर्णन जति गरे पनी कम नै हुन्छ । त्यसरी शब्दले बर्णन नै गर्न नसकिने महान देवीको नाम पाथीभरा कसरी रहन गयोरु यस सन्दर्भलाई व्याख्या गर्नु भन्दा पहिले हामीले पाथीभरा हिमाल अर्थात् चुचुरोलाई गहिरिएर नियाल्नु पर्ने हुन्छ, जहां देवीको उत्पति भएको छ। पाथीभराको चुचुरो जुन नामबाट नै स्पस्ट छ कि यो पाथी अर्थात् धान, चामल, गहुँ, कोदो इत्यादिको नाप लिनको लागि नेपालका गाउँघरमा प्रयोग गरिने भाँडो जुन वर्तमान समयमा तौल को लागि केजी , ग्राम को रुपमा प्रयोग गरिने गरिन्थ्यो । कतिपय गाऊँहरूमा अझै त्यसैको प्रयोग छदैछ । त्यस्तो पाथीमा खाद्यबस्तुको नाप लिदा त्यसमा भरी पार्दा जसरी चुली आकार बन्छ त्यस्तै आकारमा देवीको मूर्ति स्थापना भएको स्थानको आकार देखिने हुँदा त्यो डाँडाको नाम पाथीभरा अर्थात पाथी जस्तै भरिएको र त्यहाँ अवस्थित देवीको नाम पनि सोही नाम बाट पाथीभरा देवी रहन गएको हो भन्ने विश्वाश गरिन्छ।
वर्तमान समयमा पाथीभरा डाँडाको चुचुरोमा अवस्थित माताको दर्शन गर्न नेपालबाट मात्र नभएर भुटान,बर्मा,भारत लगायत विश्वका अन्य देशहर का मानिसहरूको पनि आवतजावत हुने गरेको पाइन्छ। । पाथीभरा क्षेत्र धार्मिकस्थल मात्र नभएर हाइकिङ्ग तथा ट्रेकिंग को लागि पनि त्यतिकै महत्वपूर्ण गन्तब्य स्थल हो जहाँ प्रशस्त प्राकृतिक सुन्दर र रमणीय स्थलहरू हेर्दै स्वर्गीय आनन्दको अनुभूति प्राप्त गर्न सकिन्छ । सामान्यतया चैत,वैशाख र दशैंको नौरथाको समयमा देवीको दर्शनको लागि जाने परम्परा रहदैं आएकोमा, देवीको बढ्दो लोकप्रियता र यातायातको सूविधा लगायतले गर्दा हाल बाह्रै काल देवीको मन्दिरमा भक्तजन हरुको भिड देख्न सकिन्छ। देवीको मन्दिर उच्च हिमाली क्षेत्रमा रहेकोले त्यहाँको मौसम अनुसार अक्सिजनको अभाव हुने हुँदा मानिस हरुलाई अल्टिच्युड सिक्नेस अर्थात् लेक लाग्ने समस्या पनि हुन सक्छ । लेक लागेको बेला स्वाश प्रश्वाशमा कठिनाई हुन जाने हुँदा कहिल्यै पनि पाथीभरा नगएका दर्सनार्थि हरुले त्यसको लागि आवश्यक जानकारी प्राप्त गर्नु जरुरी छ।
जन विश्वास
पाथीभरा माताले, देवीप्रति आस्था राख्ने सबै सदाचारीजनको कल्याण गर्छिन भन्ने जन विश्वास रहेको छ। औषधी र अस्पताल नभएको समयमा देवीको आराधनाबाट सबै प्रकारका रोग निको हुने, धन, जनको लागि आशिर्वाद प्राप्त हुने विश्वाश गरिन्थ्यो जुन अहिले पनि त्यतिकै रहेको पाइन्छ । लामो समय सम्म बोलि नफुटेका बालबालिका हरु देवीको दर्शन पश्चात बोली फुटेको, हिंड्न नसक्ने बालबालिकाहरु हिंड्न थालेको थुप्रै उदाहरण हरु सुन्न र देख्न पाइन्छ। देवीको भक्ति, पूजा र आराधनाले सत्य र सदाचारको लागि शक्ति प्राप्त गर्न सकिन्छ भन्ने गहिरो धार्मिक आस्था रहेको पाइन्छ। त्यस्ती शक्तिकी खानी महान् देवी पाथीभराप्रति कोटी कोटी नमन् ।
भिडियो हेर्नुहोस्