१२ श्रावण २०८१, शनिबार | July 27, 2024

नक्कली लाइसेन्स प्रकरणले तरंग, अख्तियार देखि सीआइबीसम्म गिरोहको चलखेल


332
Shares

काठमाडौं, १९ वैशाख । नक्कली लाइसेन्स प्रकरणमा लहरो तान्दा पहरो गर्जिएको छ । ५० हजार रुपैयाँमा जेलमा रहेका कैदीलाई समेत लाइसेन्स बनाइदिएको खुलेको छ । यसमा ठूलै गिरोह लागेको पत्ता लागेको छ ।

अख्तियारमा प्रभाव बनाउन आफ्ना मान्छे त्यहाँसम्म सरुवा गर्न गिरोह सफल भयो । त्यसको अनुसन्धानका क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआईबी० सक्रिय रह्यो । हिरासतमा रहेका अख्तियारका कम्प्युटर इन्जिनियर सुरजप्रकाश अर्यालसहितलाई छुटाउन यातायातका पूर्वमहानिर्देशकहरू सक्रिय भएको पाइएको जानकारी प्राप्त भएको छ । सिआईबी स्रोतका अनुसार नक्कली लाइसेन्स छानबिनलाई प्रभावित बनाउन यातायातका पूर्वमहानिर्देशकहरू सक्रिय भएका छन् ।

गाडीले हानेर मान्छे मार्ने शशांक बस्याललाई हिरासतमै नक्कली लाइसेन्स उपलब्ध गराउने यातायात कार्यालय बुटवलका सूचना प्रविधि अधिकृत नारायण पाण्डे, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कम्प्युटर इन्जिनियर अर्याल र यातायात व्यवस्था विभागका पूर्वकम्प्युटर इन्जिनियर हरिश भट्ट अहिले सिआईबीको हिरासतमा पुगेका छन् । उनीहरुलाई छुटाउन विभागका पूर्वडिजीहरु टोकराज पाण्डे, नमराज घिमिरे, गोगनबहादुर हमाल, नारायणप्रसाद भट्टराईहरु सक्रिय रहेको सिआईबी स्रोतले बतायो ।

नक्कली लाइसेन्स जारी गर्न धन्दामा सक्रिय रहेका यातायात कार्यालय बुटवलका कम्प्युटर अपरेटर लक्ष्मण पाण्डेलाई गिरोहले भगाइसकेको छ । नक्कली लाइसेन्सको छानबिनमा सेटिङ मिलाउन काठमाडौंमै सक्रिय रहेका पाण्डे सिआईबीले छानबिन सुरु गरेपछि एकाएक लापत्ता भएका हुन् ।सिआईबीको हिरासतमा रहेका पाण्डे, अर्याल र भट्टको पनि ‘केस स्टाब्लिस’ हुँदैन भनेर छुटाउन गिरोह सक्रिय भएको खुल्न आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का सूचना प्रविधि सल्लाहकार प्रकाश रायामाझी, प्रधानमन्त्री कार्यालयका सहसचिव वीपीन आचार्यलगायतले पनि यातायातका ती पूर्वमहानिर्देशकहरूलाई साथ दिइरहेको खबर प्राप्त भएको छ ।

इम्बोस्ड नम्बर प्लेट र नक्कली लाइसेन्स छानबिनलाई प्रभावित पार्न यातायातको गिरोहले सूचना तथा प्रविधि विभागमा रहेका इन्जिनियर अर्याललाई अख्तियार पुऱ्याएको पाइन्छ । यातायात व्यवस्था विभागमा हुँदा नक्कली लाइसेन्समा जोडिएका अर्यालको अख्तियारमा सरुवा भएपछि यो विषय सतहमा आएको हो ।

इम्बोस्ड नम्बर प्लेटको छानबिन अगाडि बढिरहेको अवस्थामा यातायातका पूर्वकम्प्युटर इन्जिनियर अर्याल अख्तियार पुग्नु आश्चर्यको विषय हो । इम्बोस्ड नम्बर प्लेट भुक्तानीमा संलग्न यातायात व्यवस्था विभागका पूर्वमहानिर्देशकहरु अर्याल सिआईबीको हिरासतमा पुगेपछि निकै सक्रिय भएका छन् ।

इम्बोस्डको भुक्तानीमा जोडिएका यातायातका तत्कालीन महानिर्देशकमध्ये डा। टोकराज पाण्डे अर्थ मन्त्रालयको प्रशासन महाशाखा प्रमुख छन् । नमराज घिमिरे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पूर्वाधार विकास महाशाखा र नारायण भट्टराई गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखा प्रमुख छन् । गोगनबहादुर हमाल राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सुरेश राउत चीनको छेन्दुको महावाणिज्यदूत छन् । रूपनारायण भट्टराई र चन्द्रमान श्रेष्ठ अवकाश भइसकेका छन् । अहिले पाण्डे, घिमिरे भट्टराई र हमाल सिआईबीको हिसासतमा रहेका आरोपितलाई छुटाउन निकै सक्रिय भएको स्रोतको दाबी छ । उनीहरु आफू जोगिन पनि अर्याललाई व्यवस्थापन गर्न लागेका हुन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया