४ पुस २०८१, बिहिबार | December 19, 2024

शंकाको घेरामा नेपालको न्यायालय


15.9k
Shares

प्रकाश रायमाझी । नेपालको न्यायालयप्रति आम जनताको आस्था र विश्वास हराइसकेको छ । निरअपराधहरुलाई न्यायिक हिरासतमा राख्ने नाउँमा नागरिकको मौलिक हक अधिकार स्वतन्त्रता बाँच्न पाउने नैसर्गिक अधिकारको हनन गरिएको छ । औषधि उपचार गर्न पाउने हकबाट समेत वञ्चित गराइएको छ ।

न्यायालयमा दलका न्यायाधीशका दलीय आँखाले हेरिने न्याय पद्धतिले मुलुक आक्रान्त बनेको छ । दलीय न्यायकर्मीहरू (कानुन व्यवसायी हुँदा पनि राज्यलाई हानि नोक्सान पुर्याउने कार्यमा उद्दत भएका व्यक्तिहरू) न्यायमूर्तिमा आसिन भएपछि उनीहरुबाट जनताले के अपेक्षा गर्ने रु दलीय चक्रमा न्यायालयको नांगो दृटान्त प्रदेश सरकारको गठन प्रक्रियामा न्यायालयको भूमिका हेरौँ । दलका सरकार दलका न्यायधीस । उदाहरणका लागि एकजना प्रतिनिधि पात्र बालुवाटार जग्गा प्रकरणमा कानुनी भूमिका निर्वाह गरेबापत जानीबुझी उनले बालुवाटारको जग्गा प्राप्त गर्छन्, त्यसमा केही जग्गा बेच्छन् बाँकी भएको सरकारको नाममा फिर्ता गरेर कानुनको कसुरबाट उनलाई उन्मुक्ति गराइन्छ । जो आफै राज्यलाई क्षति पुर्याउने कार्य गर्छ । विवादित छविका त्यस्ता न्यायकर्मीबाट के निष्पक्ष स्वतन्त्र न्यायिक प्रणालीको रक्षा हुन सक्छ ? संसद सचिवालयमा सचिव भएर पूर्वाग्रही ढंगबाट हेर्ने न्यायाधीश यी स्वतन्त्र न्यायपालिकाको श्रीवृद्धि गर्नेमा सक्षम छन् त ? यस्ता अनेकौं उदाहरणहरू छन् । न्यायपालिकामा प्राकृतिक न्याय सिद्धान्त समेतको पालना गरिँदैन ।

मानवीय संवेदनालाई कार्यकारणीको लाचार छायाँ बनेर न्यायालय हिँड्नु कति दुर्भाग्यपूर्ण छ– उन्नत लोकतान्त्रिक गणतन्त्रका जनताहरुलाई । विना पैसा न्याय पाइँदैन, दलाली र बिचौलिया विना न्यायालयको ढोका बन्द हुन्छ । त्यहाँ प्रमाण र सबूत निर्दोषिताको आधारहरुलाई कहीँ हेरिन्न । कथित न्यायमूर्तिले जे ओकल्छन् त्यही सर्वस्वीकार्य मान्नुपर्ने यो कस्तो विडम्बना ? भ्रष्टाचारमा लिप्त भएका ठाउँ–ठाउँमा बिचौलियाहरू खडा गरेर मुद्दाको मोलतोल गर्ने न्यायमूर्ति भनिनेहरूले न्यायालयको गरिमालाई खुलेआम लिलाम गरिरहेका छन् । न्यायपरिषद्ले त्यस्ता भ्रष्ट कर्तव्यको पालना गर्न नसक्ने न्यायमूर्ति भनिएकालाई किन छानबिन गर्दैन ? अनि कारबाही त धेरै परको कुरा भयो ? वर्षौंवर्षदेखि मुद्दाको चाङ बोकेर न्यायालयमा न्याय पीडितहरूको आवाजलाई कथित न्यायमूर्ति र न्याय प्रशासनका कर्मचारीले मजाक गरिरहेका छन् । तर जनताले आफ्नो गुनासो गर्ने न्याय पीडितहरूले गुनासो सुनाउने ठाउँ समेत छैन ।

भ्रष्टाचारले दुर्गन्धित भएको न्यायले कानुन पेशकामा असफल भएर दलको झोला बोक्नेहरु छानी छानी न्यायाधीश बनाइन्छ । न्याय लिलाम गर्न उनीहरू तल्लिन हुन्छन् । न्यायाधीश नियुक्ति हुँदा खर्च गरेका रकमको सयौं गुणा बढी कमाउन र टिक्न जघन्य प्राकृतिका अपराधहरुलाई समेत सुनपानी छर्केर उन्मुक्ति दिन्छन् । बोराका बोरा रुपैयाँ बोकेर कथित न्यायमूर्तिहरू निर्लज्ज भएर हिँडिरहेका छन् । यिनै दलाल भ्रष्ट न्यायमूर्तिको विरुद्ध आवाज उठाउनेहरूमाथि वक्र दृष्टि राखिन्छ । प्रतिशोधको भावनाले हेरिन्छ । स्वतन्त्र न्यायपालिका भनिन्छ तर सबैभन्दा बढी भ्रष्टाचार र अपराध कर्म गरेकालाई उन्मुक्ति दिने पापको थलोमा वेकसुर निर्दोषहरुलाई जेलमा सढाउने अपराधीहरूलाई राज्य सत्ताको बागडोर सम्हाल्न पुराउने काम पनि न्यायालयबाटै भएको छ । छताछुल्ल भएको भ्रष्टाचारमा गनाएका न्यायालयबाट सर्वसाधारणले न्याय पाउने कल्पना पनि नगरे हुन्छ । या त बोरामा पैसा बोकेर न्याय खरिद गर्नुपर्छ या त शक्ति केन्द्रका नाउँमा खुलेका पसलबाट इशारा दिनुपर्छ तब मात्र न्यायालयको पात हल्लन्छ । यस्ता अपराध कर्म गरेका न्यायमूर्तिहरूको भण्डाफोर गर्न नागरिकहरू चुप लागे भने यो देशमा अझ आतंक बढ्दै जान्छ । सिभिलवार हुने सम्भावनाहरु प्रबल हुन्छ । जब मान्छेले न्याय पाउँदैन अन्य अत्याचारले चारैतिर बलवाला हुन्छ त्यस्तो बेला नागरिकमा विद्रोह जन्मने स्वभाविक बन्नुपर्छ । पैसा बोक्ने पैसा ओसार्ने व्यक्तिहरु न्यायाधीशको आँखामा चोखिन्छन् उनीहरुलाई उन्मुक्ति दिन्छ । जो पीडित छ वास्तविक न्यायको लागि तड्पिरहेको छ उसँग पैसा छैन । गरिब छ विपन्न तर उसले न्याय पाउँदैन । न्याय खरिद गर्नुपर्छ । दलाल र बिचौलियाहरूको हातबाट यही हो स्वतन्त्र न्यायपालिकाको हाम्रो संविधानले गरेको परिकल्पना ?  निर्दोषहरू कुन कसुरमा किन जेलमा परेको छु भनेर समेत बुझेका हुँदैनन् । किर्ते मुद्दा र झुठा आरोप लगाएर अनेकौं तानाबानाको अभियोजनले निर अपराधहरू जेलमा कोचिन्छन् । राज्यले नै निर्दोषहरुलाई अपराधी करार गरेर स्वतन्त्र विवेकशील नागरिकहरू पनि विद्रोही बन्न बाध्य राज्य आतंकबाट बनिरहेको अवस्था छ ।

कारागारहरुमा गएर हेर्ने हो भने न्याय प्रशासनको न्यायमूर्तिहरूको चर्तिकला राम्रोसँग बुझ्न सकिन्छ । हामी अध्ययन गर्दैनौं । बाहिरी सतहमा कथित न्यायमूर्तिहरूको न्याय सम्पादनमा हामी दङ्ग परिरहेका छौं । ती न्यायाधीशहरूले गरेका फैसलाहरु मुद्दाको यथार्थता आदिको अभियोजन अनुसन्धान राज्यबाट लगाइएका कथित आरोपहरू कति निर्दोष मान्छेहरुमाथि लादिएको छ । यसको छानबिन गर्न तत्काल न्यायिक छानबिन आयोग गठन गर्ने हो भने तराजुमा जोखेर न्याय बेच्नेहरूको यथार्थ चित्रण आउनेछ । रङ्गे हात पक्डेकाहरू अदालतबाट उन्मुक्ति पाउँछन् । कथित न्यायाधीशको सेटिङमा तर निर्दोष र निर अपराधव्यक्ति जेलमा सड्न बाध्य बनाइन्छ । यस्तो अवस्थाबाट गुज्रेको न्याय प्रणालीलाई सुधार गर्नका निमित्त पनि स्वतन्त्र देशभक्त न्यायालयलाई स्वच्छ राख्नुपर्छ भन्ने कानुन व्यवसायी हुन् वा आम नागरिक ले अब आवाज उठाउन नागरिकहकका सुरक्षाका निमित्त कदम चाल्न पछि पर्नुहुन्न । हरेक मान्छेलाई न्याय चाहिन्छ तर बिचौलिया र दलालहरूले कब्जा गरेको न्यायालयबाट स्वतन्त्र न्यायसम्पादन हुन्छ भन्ने अपेक्षा राख्नु अब गलत हुन्छ । हामीले आँखा खोलेनौ यिनी भ्रष्ट न्यायमूर्तिहरूको आदेश र फैसलालाई मानेर चुपचाप बस्दै जाने हो नि । निर्दोष र अपराधहरु यो देशबाट लखेटिनु हुनुपर्नेछ । बिचौलिया दलाल भ्रष्टहरूले मात्रै हर क्षेत्रमा हालीमुहाली गर्नेछन् ।

यो कथित अवस्था र व्यवस्थाबाट आजित भएका जनताले आफ्नो हक अधिकारका लागि अब सशक्त आवाज निर्भिकताका साथ हर क्षेत्रबाट उठ्नै पर्छ । ज्वालामुखी बनेर यी भ्रष्ट माफियाहरुलाई सडकमा नाङ्गे झार बनाएर यिनका अकुत भ्रष्टाचारबाट जोडेका सम्पत्तिलाई राष्ट्रियकरण गरेर देश विकासमा लगाउनुपर्छ । हामी सधैँ तमासा हेरेर कति भ्रष्ट नेता र न्यायकर्मी हुन् वा प्रशासन क्षेत्रका तिनहरुलाई अब उन्मुक्ति दिनु हुँदैन । नागरिकले विद्रोह गर्नुपर्छ । आफ्नो हक अधिकारको निमित्त प्रजातान्त्रिक मूल्य र मान्यतालाई आत्मसात गर्न पनि जुर्मुराउनै पर्छ । व्यक्ति विशेषको स्वार्थ र भ्रष्टहरूको हालीमालीमा देशको सुन्दर भविष्यलाई प्रभावित पार्न सकिन्न । हर टोल बस्तीबाट भ्रष्टहरूको पहिचान गरौँ, तिनीहरूलाई सामाजिक बहिष्कार गर्ने एउटा अभियान सुरु गरौं । यही समय सापेक्ष हुनेछ । मिडिया ट्रायल गरेर न्यायालयलाई प्रभावित देखि हरेक ठाउँमा प्रभाव जमाउने बिचौलियाहरुले जुवा पसल कहाँका खोलेका छन् भन्ने चेतनशील जनताले बुझिसकेका छन्। भने नागरिक समाजले पनि सूक्ष्म अध्ययन गरेर ती बिचौलिया र तिनका मतियारलाई यस्तै अवस्थामा सधैं छाड्ने छैनन्। अत्याचारले सीमा नागेपछि अब विस्फोट हुन्छनै। हर क्षेत्रमा आज बिचौलियाहरूले कब्जा जमाएका छन्। सुशासनको नाउँमा लुटतन्त्र मौलाएको छ। नागरिकको शिर झुकेको छ । यो कालो बादल हटाउन हामी उठौं । देशभक्तहरु एक हौं ,हाम्रो देश हामीले बनाउने हो।

(लेखक रायमाझी राजनीतिक विश्लेषक एंव लेखक हुन् । )

प्रतिक्रिया