१९ आश्विन २०८१, शनिबार | October 5, 2024

प्रचण्ड सरकार ढाल्न बन्यो योजना, जसपा र एसबाट धोका हुनसक्ने


1.5k
Shares

काठमाडौं, २७ फागुन । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार ढाल्ने योजना बनेको छ । मंगलबार राष्ट्रिय सभा अध्यक्षको चुनावपछि बुधबार संसदबाट विश्वासको मत लिने तयारी गरेका प्रचण्डलाई सत्ता गठबन्धनका केही दलले धोका दिने सम्भावना बढेको हो ।

गठबन्धनमा रहेको नेकपा एसले प्रचण्डले लिखित सहमति गरेका मात्र विश्वासको मत दिने भनेको छ । एसका नेता मेटमणि चौधरीले विश्वासको मत दिने कुनै निर्णय नभएको बताएपछि तरंग आएको हो । दुईमन्त्रीसहित सरकारमा रहेको एसका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने दौडमा छन् । यसले पनि कुनैपनि बेला एसले खेल उल्टाइदिन सक्छ ।

जनता समाजवादी पार्टी सोमबार मात्र सरकारमा गएको छ । तर, जसपाभित्र अध्यक्ष उपेन्द्र यादव विरोधी समूहले विद्रोह गरी ह्वीप नमान्ने सम्भावना उत्तिकै छ ।

सरकारमा रहेका दलहरु एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा र नेकपा एस मिलेमा बहुमत पुग्छ ।

प्रतिनिधि सभामा नेपाली काँग्रेसको ८८, नेकपा एमालेको ७७, नेकपा माओवादी केन्द्रको ३२, रास्वपाको २०, राप्रपाको १४, जसपाको १२, नेकपा एसको १०, स्वतन्त्र २, जनमत पार्टीको ६, लोसपाको ४, नागरिक उन्मुक्ति पार्टीको ४, आम जनता पार्टी, नेमकिपा र राजमोको १ १ सदस्य रहेका छन् ।

एमाले, माओवादी, रास्वपा र जसपा मिलेमा मात्र पनि स्पष्ट बहुमत हुन्छ । जसपा नआए नेकपा एसको मत चाहिन्छ । जसपा र एस दुवैले समर्थन नगरे जनमत, लोसपा, नागरिक उन्मुक्तिको साथ चाहिन्छ । तर, लोसपा सरकारमा गएन । जनमत र नागरिक उन्मुक्ति पनि रोकिए ।

रातारात खेल उल्टिए नेकपा एस ब्याक हुने र जसपाभित्र पनि विद्रोह हुनसक्छ । त्यतिबेला प्रचण्ड सरकार ढल्नेछ ।

प्रतिक्रिया