३१ भाद्र २०८१, सोमबार | September 17, 2024

आइटी माफिया विकल पौडेलले मुख्यसचिव अर्याललाई घूस दिएको खुलासा


February 29, 2024
2.2k
Shares

काठमाडौं, १७ फागुन । मुख्यसचिव बैकुण्ठ अर्यालले सेक्युरिटी प्रिन्टिङ सेन्टरका पूर्वकार्यकारी निर्देशक विकल पौडेलसँग घूस लिएको खुलासा भएको छ । उनको विकलसँगको घूस लेनदेनबारे खुलासा भएको हो ।

विकललाई अर्यालले बैंक खाता नम्बर पठाएको र त्यसमा रकम जम्मा भएको देखिएको छ । विकल सेक्युरिटी प्रिन्टिङ खरिदको घोटालामा संलग्न पाइएका छन् । यो खरिद प्रकरणमा मुख्यसचिव पौडेलले पनि सञ्चार सचिव रहँदा भूमिका खेलेका थिए । त्यसवापत् उनले कमिशन पाएको खुलेको हो ।

अर्यालले रोशनदर्शन बज्राचार्य नामको व्यक्तिको खाता नम्बर विकललाई पठाएको र विकलले उक्त खातामा रकम जम्मा गरी भौचर पठाएको पत्ता लागेको छ । उक्त खातामा लाखौं रकम जम्मा भएको छ । जसमा सी लिंक ट्राभलको बैंक खाता पनि रहेको छ जसमा नौ लाख रकम जम्मा भएको पाइएको छ ।

विकल पौडेल संलग्न रहेको सेक्युरिटी प्रिन्टिङ प्रेस र नेसनल पेमेन्ट गेटवे प्रकरणमा देशका बहालवाला मन्त्री, पूर्वमन्त्री, उच्च सरकारी अधिकारीहरु संलग्न पाइएका छन् ।

मुख्यसचिव बैकुण्ठ अर्यालले आइटी माफियाहरुसँग मिलेर विभिन्न समयमा आर्थिक अनियमितताका गतिविधि गरेको नेपाली पेनले खुलासा गर्दै आएको छ । उनीमाथि चाँडै नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रणाली प्रकरणमा पनि मुद्दा दायर गर्ने भएको छ ।

अर्याल एनसेल कर छली प्रकरणमा पनि भित्र भित्र संलग्न रहेको नेपाली पेनले खुलासा गर्दै आएको छ । यही प्रकरणलाई सफल बनाउनकै लागि उनको मुख्यसचिवमा नियुक्ति भएको नेपाली पेनको समाचार पुष्टि हुने आधारहरु खुल्दै गएका छन् । पछिल्लो समय नेपाली दूरसञ्चार प्राधिकरणमा भूपेन्द्र भण्डारीको अध्यक्षमा नियुक्ति पनि एनसेल कर छली सामसुम पार्ने योजना अन्तर्गत भएको छ जसमा मुख्यसचिव अर्यालको पनि स्वार्थ लुकेको छ । एनसेल कर छली गर्ने गिरोहसँग मुख्यसचिव अर्यालको विशेष सम्बन्ध रहेको छ ।

यता, मुख्यसचिव अर्यालको आइटी माफिया विकलसँगको लेनदेनले तरंग ल्याएको छ । विकल पौडेल र सुनिल पौडेलले विदेशमा समेत घूसको लेनदेन गरेको तथ्यहरु फेला परेको बुझिएको छ । उनीहरु नेपालमा आइटीका नयाँ प्रविधि भित्राउने नाममा राष्ट्रिय परिचयपत्र, इम्बोस्ड नम्बर प्लेट जस्ता सांस्कृतिक आक्रमण गर्ने गतिविधिमा संलग्न पाइएका छन् ।

प्रतिक्रिया