३ आश्विन २०८१, बिहिबार | September 19, 2024

अख्तियार लगाउन मन्त्री र मुख्यसचिव ताक्दा प्रेम राईको पद धरापमा


February 28, 2024
3.9k
Shares

काठमाडौं, १६ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईले लेखा समितिमा पुगेर हप्ताको सुरुमै बहालवाला मन्त्री र मुख्यसचिवलाई मुद्दा हाल्ने संकेत गरे । उनले टेरामक्सको बयान सकिएको र मुद्दा दर्ता चाँडै गरिने बताएका थिए । यो प्रकरणमा मुछिएका छन् बहालवाला स्वास्थ्यमन्त्री मोहन बस्नेत, पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, मुख्यसचिव बैकुण्ठ अर्याललगायत हाइप्रोफाइल ।

बस्नेत र कार्की काँग्रेसका हुन् । दुवै सञ्चारमन्त्री हुँदा टेरामक्स खरिद प्रक्रिया बढेको थियो । मुख्यसचिव अर्याल प्रचण्डको चाहना अनुसार बनाइएका हुन् । त्यो पनि घर जानु केही दिन अघि तत्कालीन मुख्यसचिव शंकरदास बैरागीलाई राजीनामा दिन लगाएर ।

अर्यालको सञ्चार क्षेत्रमा राम्रो जानकार र विगतमा विवादास्पद गतिविधिमा पनि संलग्नता हुनुले त्यस क्षेत्रकै केही भित्री मान्छेहरु लागेर लबिङ गरेका थिए । तर, अख्तियारले बयान लिइसकेकाले उनलाई पनि अप्ठ्यारो छ ।

अख्तियारले ठूलै कदम चाल्न लागिरहँदा सर्वोच्च अदालतमा अध्यादेशमार्फत् संवैधानिक निकायमा गरिएका ५२ जनाको नियुक्तिको बदर गर्न माग गरिएको रिटमा पेशी चढेको छ । केपी ओली प्रधानमन्त्री हुँदा उनीहरुको नियुक्ति भएको थियो । जसमा अख्तियार प्रमुख प्रेम राई पनि हुन् । राईले कठोर कदम चाल्ने चेतावनीयुक्त अभिव्यक्ति यसकारण पनि दिएको हुनसक्छन् ।

यो मुद्दाको पेसी सरेको सरै थियो । अहिले भने साप्ताहिक पेसी तोकिएको छ । अब निरन्तर सुनुवाई हुनसक्छ । विगतमा नभ्याउनेमा राखिएको थियो । अब भने यो भ्याउनेमा राखिने सम्भावना छ ।

अख्तियारका राईसहित ५२ जनाको नियुक्ति बदरको चाहना प्रचण्ड र माधव नेपालहरुको हो । ओली र देउवानिकटहरुले ठूलो संख्यामा नियुक्ति पाएका छन् अख्तियारमा । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरानिकटहरुलाई पनि मौका मिलेको थियो ।

राईसहितको मुद्दामा चाँडै फैसला आएमा पद धरापमा पनि पर्नसक्ने देखिएको छ । रिटलाई नभ्याइने र पेसी नतोक्ने गर्दै टारिएको छ । तर, पछिल्लो समय हस्तीहरु नै अख्तियार लाग्ने खतरामा परेपछि भने नयाँ घटना विकास हुँदै गएको छ ।

प्रतिक्रिया