४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

‘प्रधान न्यायाधीश धर्मराउँदा न्यायालयको गरिमा धराशायी’


February 19, 2024
11.9k
Shares

प्रकाश रायमाझी । स्वतन्त्र न्यायपालिका संविधानको शब्दमा मात्र उल्लेख भएको छ । तर व्यवहारमा भने न्यायपालिकाको दोहोरो भूमिका प्रष्ट देखिएको छ । भनसुन, धनसुन र सरकारको इशारामा न्यायमूर्तिहरू हिँड्ने गर्छन् भन्ने आम बुझाई सत्य साबित भएको छ । आग्रह र पूर्वाग्रहमा निर्णय गर्ने, नीति बनाउनेहरू लाई उन्मुक्ति दिइन्छ ।

सत्ताको लाचार छायाको रूपमा न्यायालय देखिनु भनेको प्रजातन्त्रको मूल्य मान्यता र आदर्श माथिको प्रहार मात्र होइन यसले मानव अधिकार एवं वैक्तिक स्वतन्त्रताको समेत अपहरण हुने गर्छ । न्यायालय बलियो भएन भने शासकले, राज्य व्यवस्थालाई स्वेच्छाचारी र तानाशाही ढङ्गबाट सञ्चालन गर्छन् । प्राकृतिक न्याय सिद्धान्त विपरीत न्यायकर्मीहरू लालची र विकाउ बन्दा न्यायालयको गरिमा धराशायी हुँदै गएको छ । जनताको भरोसा आस्थाको रूपमा रहनुपर्ने न्यायको मन्दिर प्रति आम मानिसको धारणा र बुझाई दिन प्रतिदिन नकारात्मक बन्दै गएको छ ।

अपराधीलाई चोख्याउने अनि तेरो मेरो दलिय आँखीझ्यालबाट हेर्ने कथित न्यायमूर्तिहरूले साँच्चिकै न्यायालयलाई आस्थाको पवित्र न्यायालय बनाउन सक्छन् ?? त्यसैले न्यायालयको पुनःसंरचना र पुननियुक्ति गरी न्याय सम्पादन गर्न सक्षम र योग्यलाई न्यायालयमा स्थान दिने प्रणालीको आत्मसात गर्न बिलम्ब गर्नुहुन्न । यिनै दल यिनै सोच यिनकै स्कुलिङ बाट उत्पादन र भएका कार्यकर्ताहरूलाई न्यायालयमा नियुक्ति गरेर न्यायालय बदनाम भएको छ । कथित न्यायमूर्तिहरूले नै मुद्दा बढाउने गर्छन् ।

अर्कोतर्फ आफ्नो स्वार्थ अनुरुप आदेश र फैसला गर्न आतुर भएर बल्छी थाप्छन्। अनि सामान्य मुद्दालाई समेत सर्वोच्च पु¥याउने गर्छन् । ‌ यसबाट कसरी छिटो छरितो न्याय पीडितले पाउन सक्छ ??? अर्कोतर्फ सरकार मुद्दा बढाउन आतुर देखिन्छ सरकारी वकिल (महान्यायधिवक्ता) पासो थापेर मुद्दाको संख्या वृद्धि गरेर तर मार्न अव्यस्त हुन्छन्। यस्तो अवस्थामा कसरी न्यायालय ठिकठाक छ भन्न सकिन्छ ?? एउटै मुद्दामा एउटै प्रकृतिको मा किन फरक आदेश ?? दलिय आँखी झ्यालबाट हुने फैसला ?? यस्तो पक्षपातपूर्ण न्यायालयबाट उत्पन्न विकृतिले देश अहिले अराजकताको संघारमा पुगेको छ ।

फितलो अनुसन्धान मुद्दा बढाउने गलत मनसायका न्यायमूर्ति भनिनेहरूले गरेका लापरवाही र अपराधबाट निर्दोष र निर अपराधहरु पनि बन्दी जीवन बिताउन बाध्य पारिएको छ । अब त्यसको हिसाब किताब ‌नेपाली जनताले खोज्छन् । दलको भजन गाएर कसले के कस्ता फैसला र आदेश गर्छन्, सेटिङमा के कस्ता न्यायालयमा काम कारबाही हुने गरेको छ, आम जनताले नजिकबाट हेरिरहेका छन्, व्यहोरिरहेका छन् । न्यायिक, अराजकता र स्वेच्छाचारी न्यायमूर्तिहरु नेपाली जनताको रगत पसिनाबाट उठेको करबाट पालिएको छन्, यो पनि हेक्का रहोस् ।

क्षणिक चुरीफुरी र दलीय मानसिकतामा सरकारको लाचार छायाँ भएर न्यायालय हिँड्ने होइन । कमाउ धन्धाका न्यायमूर्ति देखि न्यायप्रशासनसम्मका भ्रष्टाचारीहरूको फेरिस्त निकै लामो छ । अब भण्डाफोर हुन्छ, तिनका अकुत सम्पत्ति जफत गर्ने र सामाजिक बहिष्कार गर्ने अभियान गाउँ बस्तीबाट ज्वाला भनेर विस्फोट हुँदैछ । होसियार हुनुस् । न्याय सम्पादनको तराजु बोकेर विवेकहीन र दुराचारी नबन्नुस् । हाम्रो आग्रह छ ।
(लेखक रायमाझी राजनीतिक विश्लेषक हुन् ।)

प्रतिक्रिया