३ आश्विन २०८१, बिहिबार | September 20, 2024

अयोध्यामा भगवान श्रीरामको घरफिर्ती मानव जातीका लागि प्रेरणा र शुभ संकेत


January 19, 2024
10.2k
Shares

जानकी आचार्यः मर्यादा पुरूषोत्तम श्रीराम, समग्र मानव जातिका आदर्शका रूपमा रहनुभएका श्रीराम, दुष्ट दशाननलाई मुक्ति प्रदान गर्नुहुने श्रीराम, समस्त असुर साम्राज्यको विनाश गर्नु हुने श्रीराम, अहिल्यालाई श्रापमुक्त गर्नुहुने श्रीराम, शबरीको जुठो बयर खाइ जातीयताको खाडललाई पुर्नु हुने श्रीराम, मर्यादा पुरूषोत्तम श्रीराम । भगवान् श्री नारायण रूपमा रहनुभएका श्रीरामको स्वरूपलाई हामी समाजका अलग अलग दृष्टिकोणबाट हेर्दछौँ, अवलोकन गर्दछौँ ।

आज हामी सबैले रामराज्यको परिकल्पना गरिरहेका छौँ । राम राज्य–जहाँ हरेक मनुष्य न कुनै डर, न कुनै त्रास, न कुनै भेदभावको भावना, हर परिस्थितिमा न्यायका लागि परिचित राम राज्य, जहाँ न कुनै चोरको डर थियो न त हिंस्रक पशुहरूको, रात्रीको समयमा पनि त्यहाँका मानिस ढोकाको कुण्डी नलगाएरैनिर्धक्कसँग सुत्न सक्दथे । त्यस्तो राम राज्य जहाँ सुख, शान्ति, समृद्धि, सुशासन लगायत हर चिज व्याप्त थियो । त्यस्तो राम राज्यको परिकल्पना आज हामी हाम्रो राज्यमा गरिरहेका छौँ । हरेक व्यक्तिले आफ्नो आदर्शको रूपमा भगवान् श्रीरामलाई मान्दछ । जब श्री राम अयोध्या नगरीमा
हुनुहुन्थ्यो तब केवल दशरथ ज्येष्ठ पुत्र राम हुनुहुन्थ्यो, जब १४ वर्षको वनवास समाप्त गरी घर वापस आउनुभयो तब भगवान्श्री रामको रूपमा अवध आउनुभयो, श्री राम भगवान्श्रीराम हुनुभयो ।

यो देशकी पुत्री जनकनन्दनी श्री जानकी, भूमिपूत्रि माता सीताका पति श्री राम । आफ्नो जीवनभर भगवान् श्रीराम र माता सीताले समाजमा आदर्श राज्य सञ्चालनका लागि समग्र जीवनको आहूति दिनुभयो, हर सम्भव प्रयास गर्नुभयो, त्याग गर्नुभयो केवल समाजलाई आदर्श बनाउनका निमित्त । जब माता सीता अयोध्या त्याग गरी वाल्मिकी आश्रम आउनुभयो, त्यो अवधिभर महिला सशक्तिकरणका लागि, त्यो समयमा पनि नारीहरूको आत्मनिर्भरताका लागि अनेकौँ गतिविधिहरू सञ्चालन गर्नुभयो, समाजका नारीहरूलाई प्रेरणा दिनुभयो । हरेक नारीहरूका लागि प्रेरणाको स्रोत हुनुहुन्छ माता सीता । अलग अलग कालखण्डमा, अलग अलग समयमा दुवैले आफ्नो आफ्नो क्षेत्रमा समाज सुदृढीकरणका लागि, समाजलाई सही दिशा निर्देश गर्नका लागि आफ्नो भूमिका निर्वाह गर्नुभयो । आफ्नो आफ्नो क्षेत्रमा दुवैको उदाहरण उल्लेखनीय छ ।

जुन राम राज्यको हामी परिकल्पना गर्छौँ त्यस्तो पूण्यभूमि अयोध्या नगरीमा ५०० वर्ष पछि पुनः श्री रामजीको घरफिर्ती हुँदैछ । भगवान् श्री रामको पुत्र कुशले श्री रामको जन्मस्थानमा श्री रामजन्मभूमि मन्दिरको स्थापना गर्नुभएको थियो । समय सँगसँगै मन्दिर पनि जीर्ण हुँदै गयो, ५औँ बि.सी तिर राजा विक्रम आदित्यले उक्त मन्दिरको पुनर्निर्माण गर्नुभएको थियो । समय बित्दै गयो १३ अप्रैल
१५२६ मा बाबर भारत आएसँगै भारतमा मुगल साम्राज्यको सुरूवात भयो । अनेकौँ हिन्दू मन्दिर, सभ्यता, संस्कृतिको क्रुर रूपमा विनाश हुँदै गयो । त्यसको २ वर्षपछि जब बावर अयोध्या नगरी पुग्यो
तब त्यहाँ अवस्थित राम मन्दिरलाई भत्काइ सोही स्थानमा बावरी मस्जिदको निर्माण गरियो । समय सँगसँगैजनमानसको मानसपटलमा जुन ठाउँमा बाबरी मस्जिद छ त्यही ठाउँमा भगवान श्री रामजीको
मन्दिर हुने गर्दथ्यो, विश्वका आदर्श श्री रामको जन्मभूमिमै यस्तो अन्याय भइरहेको छ भन्ने कुराले जड बसालिसकेको थियो ।

हिन्दू समाज आफ्नो सभ्यता, संस्कृति बचाउन निरन्तर लागिरहेको थियो । समय बित्दै गयो १८५३ मा निर्माेही अखाडाले बावरको समयमा राम मन्दिर भत्काएर मस्जिदको निर्माण गरिएको कुरा दाबी गर्याे । हिन्दू र मुस्लिमको लडाइको सुरूवात पनि भयो । १८८५ मा यो मामला प्रथम पटक अदालतमा पुग्यो । जुन राम कबुतरा छ त्यहाँ एउटा सानो मन्दिर बनाउने अनुमति अदालतमा मागियो तर अदालतले उक्त अपिल खारेज गरिदियो । स्वधर्म रक्षाको यो लडाँई निरन्तर चलिनैरह्यो । ५०० वर्षमा ७४ पटकसम्म सभ्यता माथि आक्रमण भयो । अनेकौँ मानिसले आफ्नो प्राणको आहूति पनि दिनु पर्याे । ४२ वर्षसम्म कानुनन रूपमा अदालतमा मुद्दा पनि चल्यो । त्यहाँ निर्माण गरिएको मस्जिदको पिलर समेत मन्दिरको अवशेषबाट निर्माण गरिएको पाइयो, अनेकौँ प्रमाणहरू भेटिए । आखिरमा अथक प्रयासपछि सत्यको नै विजय भयो । कानुनी रूपमा मन्दिर निर्माण गर्ने अनुमति प्राप्त भयो ।

यसरी स्वधर्म, स्वसभ्यता संरक्षणका लागि अलग अलग पुस्ताको निरन्तर अथक प्रयास, त्याग र बलिदानको प्रतिफल स्वरूप ५०० वर्ष पश्चात्श्री राम जन्मभूमि अयोध्यामा भव्य राम मन्दिर निर्माण
भयो जसको प्राणप्रतिष्ठा यही माघ ८ गते हुँदैछ । रामजीको पुनः घर वापसी हुँदैछ । त्रेतायुगमा १४ वर्षका लागि बनवास बस्नुपरेका श्री राम कलियुगमा ५०० वर्षपछि पुनः आफ्नो घर वापस आउँदै
हुनुहुन्छ । यो कुनै सामान्य कुरा होइन । हिन्दू सभ्यतामाथि अनेकौँ आक्रमणका बावजुद पनि आफ्नो स्वधर्म, संस्कार एवम् संस्कृति जगेर्ना गर्नका लागि विभिन्न कालखण्डमा निरन्तर खटिइरहेका अनेकौँ
व्यक्तिहरूको परिश्रम, पसिना, त्याग एवम्बलिदानको प्रतिफल हो ।

नेपालका ज्वाइँको रूपमा रहनुभएका भगवान् श्री रामको मन्दिरमा नेपालको कालिगण्डकी नदीबाट लगेकोशालिग्राम शिलाले अलग स्थान प्राप्त गर्नु, भगवान् विष्णुको प्रतीकको रूपमा पुजिनु यो हामी
सबैका लागि गौरवको विषय हो । यो कुनै सामान्य प्राणप्रतिष्ठा पनि होइन । अनेकन जनसमुदायमाझ जनसम्पर्क गरी लाखौँ व्यक्तिहरूको मिहेनत, पसिना, श्रद्धाबाट निर्मित मन्दिरको प्राण–प्रतिष्ठा हो ।
जसमा १२ करोड ७५ लाख व्यक्तिको घरआँगनसमक्ष पुगिएको थियो र आम जनसमुदायको भक्ति र समर्पण भाव स्वरूप अपेक्षा भन्दा धेरै सहयोग राशि संकलन भएको थियो । मन्दिर निर्माणमा हरेकको श्रद्धाभाव लुकेको छ । यो मन्दिर दशरथनन्दन श्रीराम र नेपालकी छोरी जनकनन्दनी माता सीताको घर हो । यो समग्र सनातन सभ्यताका निम्ति हार्षाेल्लासको समय हो । हामी सबैले यो शुभ कार्यको स्वागत एवम्अभिनन्दन गर्नुपर्दछ ।

हामी व्यक्तिगत रूपमा वा नामको लागि त सनातनी छौँ तर सामाजिक रूपमा सनातनी बन्न सकिरहेका छैनौँ । हाम्रो सभ्यताको यत्रो विशाल कार्य हुँदै गर्दा, धर्मयुद्धमा पुनः विजय हुँदै गर्दा हामी
किन खुलेर विजयनाद गर्न सकिरहेका छैनौँ ? किन हामी खुलेर यो दिव्य कार्यको स्वागत गर्न सकिरहेका छैनौँ ? कमसेकम प्राण प्रतिष्ठाको दिन हरेकले श्रद्धा भावले आफ्नो घरमा दीप प्रज्ज्वलन
गरौँ । मानव जातिका आदर्श श्री रामको हर घरमा स्वागत गरौँ, यो हामी सबैको कर्तव्य पनि हो ।

श्री राम कुनै व्यक्ति, समाज वा कुनै सम्बन्धित राष्ट्रका मात्र होइनन् । श्री राम त विश्वभरका मानवजातिका आदर्श हुन्, प्रेरणाका स्रोत हुन्, मर्यादा पुरूषोत्तम हुन्। समग्र मानव जातिका हुन्, हामी
सबैका हुन्। तसर्थ भगवान्श्री रामको घरफिर्ती उत्सव हामी सबैले पुरै श्रद्धाभावका साथ मनाऔँ । राम मन्दिर प्राणप्रतिष्ठा दिवसको सबैमा हार्दिक मंगलमय शुभकामना । सबैको घरमा भगवान् श्री
रामको आगमन होस्। धेरै शुभकामना ।

प्रतिक्रिया