३१ भाद्र २०८१, सोमबार | September 17, 2024

सिटौलाको गुन तिर्दै देउवा, राष्ट्रिय सभा उम्मेदवार छनोटले काँग्रेसमा भाडभैलो


January 8, 2024
249
Shares

काठमाडौं, २३ पुस । राष्ट्रिय सभाको उम्मेदवार छनोटको विवादले नेपाली काँग्रेसभित्र भाँडभैलो मच्चिएको छ । उम्मेदवार छनोटमा संस्थापन पक्षले कम सिट दिएको भन्दै डा. शेखर कोइराला पक्षधरले आपत्ति जनाएको छ ।

उम्मेदवार छनोट गर्दा प्रतिनिधि सभामा पराजित उम्मेदवारहरु समेत पर्नुले पनि विवाद ल्याएको हो । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला राष्ट्रिय सभाको अध्यक्ष बन्ने उद्देश्यका साथ उम्मेदवार छनोट गरिएका छन् । उनी कोशीबाट उम्मेदवार बन्दैछन् । चुनाव हारेका सिटौलाले देउवलाई सभापतिमा जिताउन अन्तिम समयमा साथ दिएका थिए । यही गुन तिर्न पनि देउवाले सिटौलालाई बढाएका छन् ।

प्रकाशमान सिंह पक्षधरका विष्णुकुमारी पुडासैनी महिलातर्फ बागमतीबाट उम्मेदवार बन्ने निश्चित भएको छ । सिंहको सहमतिमा जितजंग बस्नेत पनि सभापति शेरबहादुर देउवा पक्षधरबाट उम्मेदवार बन्ने भएका छन् ।

मधेश प्रदेशमा आनन्द प्रसाद ढुंगाना उम्मेदवार छनोटमा परेका छन् । उनको नाममा शेखर पक्षका अधिकांश नेताले आपत्ति जनाएका छन् ।

गण्डकी प्रदेशबाट किरणबाबु श्रेष्ठ, अपांगतर्फ पदमबहादुर परियार र लुम्बिनीमा महिलातर्फ विष्णुकुमारी सापकोटा उम्मेदवार बनाउने निर्णय काँग्रेसले गरेको छ । श्रेष्ठ र परियार शेखर कोइराला पक्षधर हुन् ।

कर्णालीबाट कृष्णबहादुर रोकाया, सुदूरपश्चिमबाट बलदेव बोहरा र अपांगतर्फ नारायणदत्त भट्ट उम्मेदवार बन्ने भएका छन् । तीनैजना देउवा पक्षधर हुन् ।

उम्मेदवार छनोटप्रति महामन्त्री गगन थापाले लिखित असहमति राखेका छन् । आनन्द ढुंगानाको नामप्रति अर्जुननरसिंह केसी र बलबहादुर केसीले असहमति जनाएका छन् ।

उम्मेदवार छनोटको विवादले काँग्रेसको मत कोशी र मधेश प्रदेशमा यताउता हुनसक्ने सम्भावना बढेको छ । यसमा नेकपा एमालेले पनि खेल्न सक्ने सम्भावना छ ।

प्रतिक्रिया