३ आश्विन २०८१, बिहिबार | September 19, 2024

कुलमान झन् आक्रामक, अहिलेसम्म २३ उद्योगको लाइन काटियो (नामसहित)


December 30, 2023
1.6k
Shares

काठमाडौं, १४ पुस । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ डेडिकेटेड फिडर एवं ट्रंक लाइनबाट विद्युत उपभोग गरी महशुल नतिर्ने उद्योगहरुप्रति कडा रुपमा प्रस्तुत भइरहेका छन् । उनले शुक्रबार थप १४ उद्योगको लाइन काट्न निर्देशन दिएका छन् । योसहित २३ उद्योगमा विद्युत आपूर्ति बन्द भएको छ ।

डेडिकेटेड फिडर एवं ट्रंक लाइनबाट विद्युत उपभोग गरी प्रिमियमसहितको महसुल नतिर्ने उद्योगहरुले प्रधानमन्त्री प्रचण्डलगायत नेताहरुबाट कुलमानमाथि दबाब बढाउन खोजेका थिए । तर, कुलमान ब्याक नहुने भएका छन् ।

महशुल नतिरेसम्म २३ उद्योगले विद्युत प्राप्त गर्ने छैनन् । उनीहरुले २० अर्बभन्दा बढी रकम तिर्न बाँकी छ । १० वर्षयता रकम नतिर्नुले यसको ब्याजमात्र दुई अर्ब हुन आउँछ । उद्योगीहरुले महशुल नतिरी उक्त रकम चलाइरहेका छन् ।

प्राधिकरणले पहिलो चरणमा एक अर्ब रुपैयाँभन्दा बढी बक्यौता रहेका ४ उद्योगको लाइन काटेको थियो । त्यसपछि थप ५ उद्योगको लाइन काटियो ।

शुक्रबार ५ करोडभन्दा बढी बक्यौता रहेका उद्योगको लाइन काटिएको छ । जसमा बाबा जुट मिल, निगाले सिमेन्ट, त्रिवेणी सिन्थेटिक, हिमाल आइरन, जगदम्बा इन्टरप्राइजेज, हामा आइरन, एभरेष्ट पेपर मिल, कसमस सिमेन्ट, शुभश्री अग्नि सिमेन्ट, जगदम्बा सिन्थेटिक, घराना फुड्स, सिद्धार्थ पेटप्लास्ट, बुटवल सिमेन्ट, नारायणी स्पात रहेका छन् ।

यसअघि जगदम्बा स्टिल, घोराही सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स, अर्घाखाँची सिमेन्ट, सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टिल, अशोक स्टिल, सोनापुर मिनरल्स एण्ड आयल प्रालि र त्रिवेणी स्पिनिङ मिल्सको लाइन काटिएको थियो ।

 

प्रतिक्रिया