३ आश्विन २०८१, बिहिबार | September 19, 2024

एनसेल प्रकरणको विरोध साम्य पार्न टंकमणि शर्मालाई ठेक्का


December 11, 2023
913
Shares

काठमाडौं, २५ मंसिर । एनसेलसँग जोडिएका माफियासँग मिलिभगतले बैकुण्ठ अर्याललाई मुख्यसचिव मिलेकै हो । खरबौंको चलखेल भएको यो घटना सामसुम हुन कठिन भएपछि अहिले आएर नयाँ नाटक मञ्चन गरिएको छ । पूर्वमहालेखापरीक्षक टंकमणि शर्मालाई छानविन समिति बनाएर छक्याउन खोजिएको छ ।

अर्याल जस्तै शर्मा पनि टेलिकम माफियासँग कनेक्शन भएकाहरु हुन् । शर्माले एनसेलको २५ अर्ब पुँजीगत लाभकर मिनाहा गर्न भूमिका खेलेका थिए । उनको महालेखापरीक्षकमा नियुक्तिमा पनि टेलिकम क्षेत्रमा माफियाकै चलखेल रहेको थियो ।

छानविन समितिमा शर्मालाई ल्याउने सुझाव एनसेल माफियाले नै दिएका थिए । मुख्यसचिव रहेका बैकुण्ठ अर्यालले पनि क्याबिनेटमा प्रस्ताव बढाउने सुझाव प्रधानमन्त्री प्रचण्डलाई दिएका थिए । अर्याल सञ्चार क्षेत्रका जानकार हुन् । उनले उक्त क्षेत्रमा के के चलखेल गर्न सकिन्छ भन्ने प्रधानमन्त्री कार्यालय र सञ्चार मन्त्रालयमा जिम्मेवारी सम्हालेर राम्रो सिकेका छन् ।

पूर्वमहालेखापरीक्षक सुकदेव खत्रीले त टंकमणि शर्मालाई छानविन समितिमा ल्याएकोमा प्रश्न उठाएका छन् । छानविन समिति काम नलाग्ने समेत एक कार्यक्रममा बोले ।

एनसेल प्रकरणमा प्रधानमन्त्री प्रचण्डकी छोरी गंगा दाहाल र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर सिंह देउवाको संलग्नताको खुलासाहरु भइसकेको छ । सांसद अमरेश सिंहले त दुवैको कनेक्शनको प्रमाण आफूसँग रहेको दाबी गरेका छन् ।

एनसेल प्रकरणमा राज्यलाई प्रत्यक्ष अप्रत्यक्ष ३ खर्ब नोक्शानी परेको अनुमान छ । जसमध्ये ६० अर्बभन्दा बढी कर नै रहेको छ । बाँकी रकम विदेशिएको छ । एनसेलले ५७ अर्ब कर तिर्नुपर्ने मुद्या अदालतमा विचाराधीन नै छ ।

प्रतिक्रिया