१० श्रावण २०८१, बिहिबार | July 25, 2024

सेटिङमा न्यायालय पंगु बनाउने संगठित समूह


November 28, 2023
22.7k
Shares

आलोक गौतमः देशको सर्वोच्च अदालतका न्यायाधीश अर्थात् न्यायमूर्ति बन्न अन्याय नै अन्यायको पहाडमा टेकेकाहरुबीच तछाडमछाड हुँदै आएको छ । अदालत जस्तो गरिमामयी संस्थालाई नै दूषित बनाउने यस्ता गतिविधिमा राजनीतिक दलका मुख्य नेता देखि सर्वोच्च अदालतकै जिम्मेवार न्यायाधीशहरु देखिएका छन् । कतिपय अवस्थामा पूर्व प्रधानन्यायाधीशहरु पनि आफू अनुकूलकालाई न्यायाधीश बनाउन नैतिक मूल्य मान्यतालाई नै तिलाञ्जली दिन पछि पर्दैनन् । यस्तै भएको छ पछिल्लो पटक ६ न्यायाधीश नियुक्तिको सिफारिशमा । यसका पछाडि ठूलै चक्रव्यूहको रचना गरिएको छ । यो चक्रव्यूह इगो, लालच र राजनीतिक हस्तक्षेपबाट रचना भएको हो ।

न्यायाधीश नियुक्तिको चक्रव्यूहमा को को
सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडा र डा. आनन्दमोहन भट्टराई २०३९ चैतका एकै लटमा अधिकृत हुन् । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ सेवा प्रवेश र उमेर दुवै हिसाबले उनीहरूभन्दा कान्छा छन् ।

श्रेष्ठभन्दा ७ महिना र भट्टराईभन्दा ३ महिना जेठा खतिवडा आफूलाई श्रेष्ठभन्दा सिनियर सम्झोर हावी भइरहेका छन्। उदयपुरमा जन्मेका खतिवडाको परिवार, आफन्त र सङ्गत कम्युनिष्ट र प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रैष्ठ र न्यायाधीश आनन्दमोहन भट्टराईको पारिवारिक पृष्ठभूमि काँग्रेसी हो । श्रेष्ठ र भट्टराई न्याय सेवाको अधिकृत, जिल्ला, पुनरावेदन हुँदै अहिलेको पदमा पुगेका हुन् भने खतिवडाको पृष्ठभूमि सरकारी वकिल हो ।

न्यायाधीश बनाउँदा एलएलएम गरेको र सहन्यायाधिवक्ता भइसकेको आफूलाई १ वर्ष ९ महिनापछि अधिकृत बनेको विश्वम्भरभन्दा वरियतामा तल पारिएकोमा ईश्वर न्याय परिषद्सँग असन्तुष्ट थिए । धेरै प्रयासका बाबजुद पनि यो वरियता ब्रेक गर्न सकेनन् । २०६२ माघमा पुनरावेदनको न्यायाधीश सिफारिस गर्दा त यो निकै मजबूत भयो । ईश्वरको यही लघुताभाष स्थायी इगोमा परिणत भयो । न्यायाधीशहरूको जमघटको बेला वा आफूसँगको भेटघाटमा ईश्वरले असन्तुष्टि पोख्दै आए ।

अपूर्व संयोग
सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाका छोरा अपूर्व खतिवडा पेसाले वकील हुन् । एकै छतमुनि एकै भान्साको खाना खाने सहोदर बाबुछोरामध्ये एकको न्याय सम्पादन र अर्कोको वकालत । न्यायिक संस्कार र आचारसंहिताका हिसाबले यो अमिल्दो हो । २०६७ सालमा वकालतको लाइसेन्स लिएका अपूर्व सुरुमा शिक्षण पेसामा थिए । चक्रवर्ती हबी कलेजमा पढाउने अपूर्व २०७२ मा बाबु सर्वोच्चको न्यायाधीश बनेपछि वकालतमा जम्न थाले । बाबुको आडमा अपूर्वको प्रभाव बढ्दै गयो ।

सिन्डिकेटको दलदलमा फसेको बारका जिम्मेवार व्यक्तिहरु केबल सेटिङमा रमाए । सर्वोच्चका अन्य न्यायाधीशका छोरा-छोरी, श्रीमती वा आफन्तको घर (अदालत) लफर्मको साझेदारी यसरीनै फलिफाप हुँदै आएकोले बार र श्रीमानहरूको नजरमा यो न्यायिक निष्ठा, नैतिकता र आदर्श अन्तर्गत नै गनियो । ठूला आर्थिक लाभका मुद्दामा अपूर्व वकीलका रुपमा देखिन थाले । यसको कारण हो ईश्वरको आशिर्वाद पाउने लालसामा हरिहर दाहाल, शम्भु थापा, रमण श्रेष्ठ, चण्डेश्वर श्रेष्ठ, कृष्ण सापकोटा लगायतको सिण्डिकेट । आफूले हेरेका मुद्दाहरूमा अपूर्वलाई पनि वकील राख्न सुझाउन थाले उनीहरु। यतिसम्मकी न्यायाधीशको स्वार्थ मिल्ने गरी वकील राख्ने रणनीति चलिरह्यो । सफल वकील बन्न न्यायाधीशहरुसँग साँठगाँठ या नजिकको सम्बन्ध रहेको मापदण्ड हुनपर्ने अवस्था बनाइयो ।

न्यायाधीशको आकांक्षी विजयप्रसाद मिश्र, सुनिलकुमार पोखरेल, आशिष अधिकारी, बालकृष्ण ढकाल, सुभाष आचार्य, मेघनाथ पोखरेल, चन्द्रकान्त ज्ञवाली, परसुराम कोइरालाजस्ता अधिकांश वकीलहरूका मुद्दामा पनि अपूर्व खतिवडा भटाभट थपिन थाले । भविष्यमा न्यायाधीश बन्ने सपना देख्ने वरिष्ठदेखि कनिष्टसम्मका वकीलहरू अपूर्वसँग नजिकिन र उनलाई मुद्दा सिफारिस गर्न तँछाड मछाड गर्न थाले । अपूर्व उपस्थित भएका मुद्दा जिताइदिने सम्मको गतिविधि हुन थाले । न्याय प्राप्तिको यो अपूर्व ट्रेन्ड देखेका झगडियाहरू स्वयं न्यायाधीशको छोरालाई वकील राखे मुद्दा नबिग्रने लालसामा उनकोमा लाइन लाग्न थाले ।

पछिल्लो ८ वर्षयताको आदेश र फैसलाको अनुपात हेर्दा राजस्व न्यायाधीकरण, जिल्ला, उच्च, विशेष र सर्वोच्च अदालतका ठूला बिगो भएका राजस्व, भन्सार, करछली, करार, कम्पनीजस्ता मालदार मुद्दाहरूमा तथाकथित नाम चलेका वकीलहरूभन्दा अपूर्वको वकालतनामाको अनुपात बढी पाइन्छ । अदालतहरूमा उनको उपस्थिति मात्रैले पनि अधिकांश मुद्दामा धरौटीको आदेश वा कि सफाइ कित सजाय वा जरिबाना कम गर्ने गरी फैसला हुने गरेको अनुसन्धानबाट देखिन्छ ।

२०६८ देखि ७१ सम्म भाञ्जीज्वाइँ डालकुमार खड्का र साँढू उज्वल शुक्ल वकीलहरूको सिन्डिकेटबाट दीपककुमार कार्कीले प्रभाव नै बनाएका थिए । त्यसलाई पनि माथ गर्नेगरी पछिल्लो समय टेकप्रसाद ढुङ्गाना राजस्व न्यायाधीकरणको अध्यक्ष भएयताका महानिर्देशको निर्णय उल्टेका वा कर, राजस्व, कैद वा जरिबाना घटाइएका ७० प्रतिशतभन्दा बढी मुद्दाहरूमा अपूर्व खतिवडाको वकालतनामा पाइन्छ । त्यसैगरी श्रीकान्त पौडेलको बेञ्चले धरौटीमा छाडेका, सफाइ दिएका वा सजाय घटाएका बहुल मुद्दाहरूमा अपूर्वको संलग्नता देखिन्छ । उच्च अदालतको अवस्था पनि उही छ ।

अपूर्वले हेरेका मुद्दाहरूमा महेश शर्मा पौडेलको इजलासबाट पनि सोही प्रवृत्तिको तथ्यांक भेटिन्छ। हालै भएको सर्वोच्चका न्यायाधीश र उच्चका मुख्य न्यायाधीशको नियुक्तिमा अपूर्व फ्याक्टरले भूमिका खेलेको कानूनव्यवसायीहरू बताउँछन् । यसको पुष्टि ठाडै संविधान मिचेर भएपनि न्याय परिषद नियमावली संसोधन गरी वरिष्टता मिची टेकप्रसाद ढुङ्गाना, महेश शर्मा पौडेललाई सर्वोच्च र श्रीकान्त पौडेललाई मुख्य न्यायाधीश बनाउन भएको चलखेल नै हो।

टेकप्रसादलाई टेको
तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनकालमा पवनकुमार ओझा, माधवकुमार नेपालकालमा डा. भरतबहादुर कार्की र ओलीकालका हरिकृष्ण कार्की महान्यायाधिवक्ताको पदमा बहाल रहेकै बेलामा सर्वोच्चको न्यायाधीश बनेको नजिर देखाउँदै पदमा रहँदा रहँदै सर्वोच्चमा जाने महान्यायाधिवक्ता दिनमणि पोखरेलको बालहठलाई ईश्वर खटिवडाले असफल बनाइदिए । यसको भित्री कारण हो महान्यायाधिवक्ताको पोर्टफोलियो सर्वोच्चको न्यायाधीशसरह हुने भएकोले टेकप्रसादको रोलक्रम भत्किने भयनै थियो । माओवादी भित्र वर्षमान पुन र जनार्दन शर्माबीचको खुट्टा तानातानको फाइदा यसपटक टेकप्रसादले राम्रैसँग उठाए ।

उच्चको न्यायाधीशको १ नं। मा रहेका थारू समुदायबाट बढेका सत्यमोहन जोशी र ३ नं. मा रहेका पिएचडी गरेका दलित समुदायबाट उठेका रत्नबहादुर बागचन्द ईश्वर खतिवडाको गुड लिष्टमा पर्न नसक्दा मुख्य न्यायाधीशमा पनि योग्य भएनन् । रोलक्रमको ४ नं. मा रहेका माधवप्रसाद पोखरेल जिल्ला न्यायाधीशबाट आएका र प्रतिष्पर्धीहरूमध्ये सबैभन्दा अनुभवी र स्वच्छ छवि भएपनि २ वर्षभन्दा बढी अवधि सेवा गर्न पाउने सर्वोच्चमा नलगी २ महिनामै अवकास हुने मुख्य न्यायाधीशमा लगिए । ईश्वर खतिवडाकै आशिर्वाद पाएर १२ जना सिनियरलाई फड्किदै रोलक्रमको १४ र १५ नं। मा रहेका महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गाना सर्वोच्चको न्यायाधीशका लागि बढाइए ।

मुख्य न्यायाधीशमा पनि ४ जना सिनियरलाई पाखा लगाउँदै रमेशप्रसाद राजभण्डारी, ६ जना लाई उछिन्दै लोहितचन्द्र शाह, ७ जनालाई पछार्दै श्रीकान्त पौडेल र नित्यानन्द पाण्डे, ११ जनालाई पछि पार्दै शान्तिसिँह थापा बाजी मार्न सफल भए । यसमा पनि नातागोता, भागबण्डा र अदृष्य तत्वको भूमिका देखिन्छ । मुख्य न्यायाधीशमा लोहितचन्द्र र शान्ति राप्रपा, पोखरेल, राजभण्डारी र पौडेल एमाले र पाण्डे काँग्रेस निकट मानिन्छन् । पोखरेल र पौडेल ईश्वर खतिवडा, राजभण्डारी कल्याण श्रेष्ठ र लोहितचन्द्र र शान्तिसिँह चोलेन्द्र शमशेर निकट एवं पाण्डे रमेश लेखकको कोटामा परेका हुन् ।

कल्याण सधै हावी
सर्वोच्च अदालतमा अझै पनि पूर्वप्रधानन्यायाधशि कल्याण श्रेष्ठ हालीमुहाली छन् । उनकै आशिर्वाद पाएकाहरु छानी छानी अगाडि बढाइन्छन् । श्रेष्ठले २१ वर्षको उमेरमा पञ्चायत विकास अधिकारी (पीडिओ) बाट जागिर सुरु गरेका थिए । दरबारका तत्कालीन जल्लाबल्दा सचिव मि।सु। नारायणप्रसाद श्रेष्ठकी बहिनी उर्मिलासँगको विवाहपछि उनको भाग्य रातारात चम्कियो । नारायणप्रसादका एक बहिनीमध्ये दिदी रामप्रसाद श्रेष्ठ र बहिनी कल्याणले विवाह गरेका हुन् । विवाह लगत्तै कल्याण श्रेष्ठको पद सर्वोच्चको शाखा अधिकृतमा परिणत मात्र भएन २०३३ मा डिएल गरेपछि उनी २०३६ सालमा जिल्ला न्यायाधीश बन्न सफल भए । पञ्चायतकाल सकिएपनि कहिले गणेशमानपुत्र प्रकाशमान र कहिले सुवास नेम्बाङ्गसँगको राजनीतिक निकटताको फाइदा उठाउँदै विना रोकतोक पदोन्नति हुँदै प्रधानन्यायाधीश बन्न सफल भए ।

मुलुकमा बहुदल आएपनि दरबार शक्तिशाली रहेको र दरबारका सचिव पशुपतिभक्त महर्जनसँगको साइनोको आडमा कल्याण सदाबहार शक्तिकेन्द्रमा रहिरहे । कल्याणको कोटरी पछि वाग्लुङ जिल्ला वा धौलागिरी अञ्चलभित्रका कर्मचारी वा न्यायाधीश हुँदै राजावादी वा कम्युनिष्ट विचारधारा बोक्ने नेपालभरिका न्यायाधीश वा कर्मचारीमा विस्तारित ठूलो ग्याङ नै बन्न गयो । कल्याणको समूहमा ठूलै समूह बनिरह्यो । जसमा प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, रामप्रसाद श्रेष्ठ, उनीभन्दा सिनियर तत्कालीन न्यायाधीशहरू गोविन्दबहादुर श्रेष्ठ, ओमभक्त श्रेष्ठ, शारदाप्रसाद पराजुली र जुनियरहरू प्रेम शर्मा, देवेन्द्रगोपाल श्रेष्ठ, बमकुमार श्रेष्ठ, पूर्व रजिष्ट्रार श्रीप्रसाद पण्डित, न्यायाधीशहरु केशरीराज पण्डित, गोविन्दप्रसाद पराजुली, विनोद शर्मा (पुनरावेदनबाट अवकाश), राजेन्द्र खरेल (उच्च अदालत), ईश्वर खतिवडा, डा। आनन्दमोहन भट्टराई, तिलप्रसाद श्रेष्ठ ९हाल सर्वोच्च अदालत०, विश्वम्भरप्रसाद श्रेष्ठ ९हाल प्रधानन्यायाधीश० लगायत कल्याणको ग्याङमा रहे ।

वकीलहरूको सिन्डिकेट र बारमापनि उनको पकड उत्तिकै रह्यो । पदमा रहँदा र अवकाशपछि पनि न्यायपालिकामा समानन्तर सत्ता चलाउँदै आएका कल्याण आफ्नो गुटमा नआउने वा आफूइतर न्याय सेवाका कर्मचारी वा न्यायाधीशलाई विभिन्न काण्डमा पारेर जागिरै सकिदिने सम्मको हैसियत राख्छन् ।

कल्याण-सुशीला कनेक्सन
कल्याण श्रेष्ठ र सुशीला कार्कीको समूह मोरङ र सुनसरीमा न्यायाधीश हुँदा बन्यो । त्यतिखेर सुशीला वकील थिइन् । आफ्नै समूहका मीनबहादुर रायमाझी न्याय परिषद सदस्य भएको मौकामा कल्याणकै योजना र सिफारिसमा सुशीला सर्वोच्च छिरिन् । पछि कल्याण र सुशीलाको समूहले २०७२ सालमा अग्नि खरेलसँगको मिलेमतोमा ११ जना न्यायाधीश सर्वोच्चमा नियुक्त गर्यो, जुन न्यायापालिकाको इतिहासमा सर्वाधिक आलोच्य र विवादित रह्यो । त्यतिखेर ओलीका महान्यायाधिवक्ता हरिकृष्ण कार्की र एमाले दलबाट २०६४ सालको संविधानसभा सदस्य भएकी सपना प्रधान मल्ल, काँग्रेस महासमिति सदस्य प्रकाशमानसिँह राउतसम्मलाई दलीय भागबन्डामा सर्वोच्च भित्र्याइ न्यायपालिकामा विधिवत दलीयकरण र प्रधानन्यायधीशको रोलक्रम निर्धारण गर्ने काम गरे । सर्वोच्च छिर्दा बाहिरी रूपमा फरक दलको प्रतिनिधित्व गरेको देखाएपनि प्रकाशमानसिंह राउत सर्वोच्च छिर्नुमा हरिकृष्ण कार्की र राउतकी आमा सहोदर दीदीबहिनी हुनु नै हो । त्यसैले हरिकृष्णको इशारामा हुने सर्वोच्चका गुटबन्दी र आन्दोलनमा राउतको साथ हरिकृष्णलाई हुँदै आएको हो ।

जागिरमा रहँदा र अवकाशपछि पनि न्यायपालिकामा हुने हरेक नियुक्ति र सरुवामा मात्र नभई मालदार मुद्दामा पनि कल्याण हाबी रहँदै आएका छन् । अहिले पनि कुनै सार्वजनिक वक्तव्य निकाल्दा होस् वा वसन्तपुर वा माइतीघरको आन्दोलनमा होस् वा तथाकथित नागरिक समाजको वा पूर्व प्रधानन्यायाधीशको नाममा होस् कल्याण, सुशीला, मीनबहादुर र अनुपराज शर्माको साथ सहयोग र एउटै वक्तव्य आउने गर्छ ।

प्रहारमा लोकमान
राजाप्रसाद सेवाका उच्च पदस्थ मि.सु. नारायणप्रसाद श्रेष्ठ र प्र.स. पशुपतिभक्त महर्जनसँग पूर्व दरबारिया भूपालमानसिंह कार्कीबीचको शक्तिसंघर्ष भूपालमान पुत्र लोकमान र नारायणप्रसादका ज्वाइँ कल्याणमा पुस्तान्तरण भयो । मृगौला तस्करीको अभियोगमा कल्याणको भाइ डा. पुकारचन्द्र श्रेष्ठलाई अख्तियारको प्रमुख लोकमानले पक्राउ पुर्जी जारी गरे । यही डरले लोकमानको कार्यकालभरी पुकार विदेशमा भूमिगत बस्न बाध्य भए । लछि लोकमानले अख्तियारमै टेलिकमको सर्भर निगरानीमा राखी सुशीला र कल्याणबीचको टेक्स्ट र कुराकानी ट्याप गर्न थालेपछि कल्याणले रिट हाल्न लगाइ अदालतको आदेशविना कल डिटेल रेकर्ड लिन नपाइने फैसला आफ्नै इजलासबाट बाट गराउनुपर्यो ।

कल्याणको सिण्डिकेटका शम्भु थापाले मासिक ८ हजार मात्र कमाइ देखाइ करछली गरेको अभियोगमा उनको पुतलीसडकस्थित लफर्ममा छापामारी अख्तियारले गिरफ्तार गरेपछि सुशीला कार्कीलाई प्रयोग गरी बन्दीप्रत्यक्षीकरणमार्फत कल्याणले छुटाउनु पर्यो । सोही बदला लिन सुशीला र ईश्वर खतिवडाको इजलासबाट कल्याणले लोकमानको जागिर चट गराए ।

ईश्वरको बदलाभाव
विद्यार्थीकाल देखिनै एमाले समर्थक हुन् ईश्वर खतिवडा । उनमा बदलाको भावना अत्याधिक रहने गरेको सहकर्मीहरु नै बताउने गर्छन् । पूर्वाग्रह वा अहंकार ईश्वरमा उग्ररूपमा हुने गरेको चर्चा न्यायक्षेत्रमा चल्ने गरेको छ । आफ्नो भत्किएको सिनियरिटी सर्वोच्चको न्यायाधीश बन्दा सुधारी आफूलाई प्रधानन्यायाधीशको रोलक्रममा राख्न खतिवडाले ओलीसँग हारगुहार गरेको विश्वस्त स्रोत बताउँछ। तर पार्टीमा काम गर्दाको अग्नि खरेल कानूनमन्त्री भएको बेला आफूलाई विश्वम्भरभन्दा सिनियर बनाउलान् भन्ने उनको आशा हरिकृष्ण भन्दापनि तल राखी न्यायाधीश बनाएपछि भने आगोको ज्वालासरी बल्यो । यही कारण उनी ओलीसँग क्रुद्ध थिए । यही कारण नेकपा विभाजनपछि ईश्वरको झुकाव माधव नेपाल समूहतर्फ गयो ।

विश्वस्त सुत्रका अनुसार ओलीको प्रतिनिधिसभा विघटनको विरुद्ध मुद्दा हाल्नुपूर्व माधव नेपालका सम्धी सोमप्रसाद पाण्डेका साँढु गोविन्द बन्दीलाई लिएर उनै जगन्नाथ खतिवडा ईश्वरको टुँडालदेवी घरमा गए । ओलीसँग बदला लिने यो स्वर्णिम अवसर हो भन्ने ठानी ईश्वर साथ दिन तयार भए । त्यसबखत बन्दीले गरेको ड्राफ्ट ईश्वरले करेक्सन गरेका थिए । ईश्वर खतिवडाले अमेरिकाबाट पठाएको इमेल डा। आनन्दमोहन भट्टराईले पढ्दापढ्दै ओलीप्रति आपत्तिजनक भाषा आएपछि अरू न्यायाधीशले “स्टप इट” भनेपछि रोकिएको समाचार सञ्चारमाध्यममा बाहिरिएको थियो । पछि उनै ईश्वरको रायमा तयार भएको फैसलामा पनि उनको इगो स्पष्ट झल्किन्छ ।

ईश्वरको दबाबमा ओलीको सरकार ढालेको पुरस्कार बन्दीले ६ महिने कानूनमन्त्री भएर पाए । ओलीको सत्ताच्यूत गराइ आफूलाई प्रधानमन्त्री हुने मार्ग प्रशस्त गरेको गुन तिर्न गठबन्धनका नेताहरूले ईश्वरलाई प्रधानन्याधीश बनाउने आश्वासन दिएको विश्वस्त स्रोतले बताएको छ । तर संसदीय गणितका कारण हरिकृष्णलाई बाइपास गरी गठबन्धनले उनलाई प्रधानन्यायाधीश बनाउन नसकेपछि उनी बिस्तारै ओलीको नजिक हुनथाले । ओलीकै आग्रहमा कोशीको सरकार ढाल्नमा सहयोग गरेपछि ओलीले विश्वम्भरको स्थानमा ईश्वरलाई प्रधानन्यायाधीश बनाउने प्रस्ताव संवैधानिक परिषदमा राखे तर डोटीका विश्वम्भर श्रेष्ठको देउबासँगको शदीयौँ लामो सान्निध्यता र कल्याणसँगको पारिवारिक नाता सम्बन्धको कारण ईश्वरको योजना सफल हुन सकेन ।

यो विवाद मिलाउन कल्याणको कुपन्डोलस्थित घरमा नेता र न्यायाधीशको पटक-पटक गोप्य बैठक भएको थियो । त्यहाँ कल्याणले ईश्वर अवकाश नहोउञ्जेल तिमी डिजुरे (नाममात्रकोे) र ईश्वर डिफ्याक्टो प्रधानन्यायाधीश भएर मिलिजुली काम गर्नु भनी विश्वम्भरलाई कबुल गरेर पठाएको विश्वस्त स्रोतले बताएको छ । यही कारण आफूलाई न्यायाधीश बनाउने वा सरूवा बढुवा माग्न आउने जोकोहीलाई ईश्वरकोमा जान विश्वम्भर सल्लाह दिने गरेको न्यायाधीशहरू बताउँछन् । नियुक्तिको लागि ईश्वरनिवास टुँडालदेवी मन्दिर वरिपरि दिनहुँ ठूलो भीड जम्मा भइरह्यो। उता प्रधानन्यायाधीश निवास बालुवाटारमा भने कमै मानिस जाने गरेको निकट स्रोतले बतायो । ईश्वर खतिवडाको कार्यकाल कटाइ न्यायाधीश नियुक्त गर्ने सुझाव प्रधानन्यायधीशलाई शुभचिन्तकले नदिएका पनि होइनन्, उनले नसोचेका पनि होइनन् । तर आआफ्नो छुट्टाछुट्टै डिलमा लागेका परिषद सदस्यहरू र सरकारको अस्थिरताको सङ्घारमा कानूनमन्त्री पनि यो नियुक्ति धेरै लम्ब्याउने मुडमा थिएनन् । उता ईश्वरले पनि एमाले र बारमार्फत छिटो नियुक्ति सक्न अलग्गै प्रेसर दिइरहेका थिए । कल्याण सँगको डिलको कारण विश्वम्भरको आँट भएन फलस्वरुप ईश्वरको अगाडि उनी निरिह भए, ईश्वर हाबी भए ।

नियुक्तिका अन्तर्कथा
२०७२ मा कल्याण श्रेष्ठले पय्रधानन्यायाधीश हुँदा न्यायाधीश नियुक्त गरेपछिको यो सर्वोच्चको दोस्रो ठूलो लट हो । कल्याणको पालामा भित्रिएको भागबन्डाको संस्कार सुशीलाको कार्यकालमा झाङ्गियो भने गोपाल पराजुली, चोलेन्द्र शमशेर, दीपक कार्की हुँदै विश्वम्भरप्रसाद श्रेष्ठसम्म आइपुग्दा झन् संस्थागत भयो । यसपटकको नियुक्तिमा कानूनमन्त्री धनराज गुरुङसँग मिली विश्वम्भर श्रेष्ठले हरिकृष्ण कार्कीको कार्यकाल बाइपास गरे, यसमा उनलाई कल्यणको ग्रीन सिग्नल थियो । न्याय परिषदमा रामप्रसाद श्रेष्ठ र रामप्रसाद भण्डारी दुवै एमाले कोटामा आएका हुन् ।

न्यायपालिकाको क्याडरबाटै आएपनि ईश्वर खतिवडा उनीहरूभन्दा कट्टर एमाले मानिन्छन् । धनराज गुरुङले नाम अनुसारको काम सार्थक गराउन मरिहत्ते गर्ने कारण जोकोहीले पनि उनलाई सजिलै प्रभावित पार्न असजिलो थिएन । उनी रातो पासपोर्ट काण्डमा डामिएका व्यक्ति हुन्, तर अदालतमा सेटिङ मिलाइ सफाइ पाएका थिए । विभिन्न गुट, उपगुट र लविका कारण उनी पार्टीभित्र आफ्नो राजनीतिक भविष्य सुरक्षित देख्दैनन् तसर्थ आफ्ना भित्रियाहरूलाई न्यायाधीश नियुक्तिमा डिल गर्न उनले सुक्षमरूपमा खटाएका थिए ।

नियुक्तिको प्रकृया चलेपछि उनी ४ पटक विदेश गए, त्यसमध्ये १ चोटी अमेरिका र १ चोटी अष्ट्रेलिया जाँदा त भूमिगत नै रहे । रामप्रसाद श्रेष्ठ पनि अमेरिका गए । अर्का सदस्य रामप्रसाद भण्डारी पनि सुटुक्क विदेश गई काम “सम्भव” बनाएर फर्किए । प्रधानन्यायाधीश भने चीनको औपचारिक भ्रमणमा गएपनि ईश्वरको डिलनै उनको लागि फाइनल भयो । पदीय हिसाबले पनि बढी हल्ला हुने डरले उनीहरू विदेश जान आँटेनन् । ईश्वर खतिवडामा छोरीहरू र सालो अमेरिकामै छन् । प्रधानन्यायाधीशका छोरीहरू र आफन्त पनि अमेरिकामै छन् । सर्वोच्चको नियुक्तिमा परेका सुनिल पोखरेल केही महिना अघि अमेरिका भ्रमणमै थिए । उनका पनि परिवारका सदस्य र आफन्त अमेरिकामै छन् । सर्वोच्चकै नियुक्ति पाएका अर्का वकील बालकृष्ण ढकालका आफन्त पनि अमेरिकामै रहेका छन् । यसपटकको नियुक्तिमा परिषद पदाधिकारी, उनीहरूका आफन्त, एनआएएन, बीचौलिया र केही व्यापारीहरूको देशभित्र र बाहिर पनि ठूलै दौडधुप रहेको जानकारहरूले बताए ।

फेरिएको सेटिङ
न्यायाधीश नियुक्तिदेखि मुद्दा सेटिङ मिलाउनसम्म लामो समयदेखि न्यायपालिकामा पकड राख्दै आएको पुरानो सिण्डिकेटले उम्मेदवार बनाएको विजयप्रसाद मिश्र, डि।एन। पराजुलीको सुनिष्चित भइसकेको लिष्टमा यसपटक सुनिल पोखरेल र बालकृष्ण ढकालले टिपेक्स लगाइदिए । बारमा आफूलाई असहयोग गरी हराएको बदला लिन मिश्रलाई रोक्न सुनिल न्वारनदेखिको बल लगाएर भिडे । उनले कोइराला क्याम्पदेखि सिटौला हुँदै देउवा क्याम्पसम्म सेटिङ मिलाउन भ्याए । स्वन्त्र पार्टीका रवि लामिछाने सम्मलाई आफ्नो लबिमा पटकपटक प्रधानमन्त्रीसमक्ष पठाए । यतिसम्म कि भदौ २९ गते बिहान ७ बजेनै अचानक रवि लामिछाने प्रधानमन्त्री निवास बालुवाटार पुगे ।

भोलिपल्ट अमेरिका र चीनको भ्रमणमा निस्कने प्रधानमन्त्रीसँग चिनीया प्रतिनिधिमण्डलको भेटको समय तय भएपनि रविको अचानक आगमनले प्रधानमन्त्री अचम्मित भए तर नकार्न सकेनन् । उनी आफ्नो सहयोगको जरूरत सम्झाउँदै सुनिल पोखरेललाई सर्वोच्चको न्यायाधीश बनाउन प्रधानमन्त्रीसमक्ष दबाब दिएर गरेर ठाडै काठमाडौँ बाहिर हानिए । यता बालकृष्ण ढकालले पनि सत्ता गठबन्धनको घटक माधवकुमार नेपालदेखि केपी ओलीसम्मलाई दौडाए । ईश्वर खतिवडा र कानूनमन्त्रीसँग धेरैचोटी गोप्य बैठक गराए । साम, दाम, दण्ड, भेदका सबै ट्रिकहरू प्रयोग गर्न उनीहरू कहिँ, कतै चुकेनन् ।

सर्वोच्च अदालतको फेरिएको समिकरण
हालको नियुक्तिपछि सर्वोच्च अदालतमा राजनीतिक समिकरण बदलिएको छ । एमालेनिकट मानिएका ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल, हरिप्रसाद फुयाँल, मनोजकुमार शर्मा, कुमार चुडाल, नहकूल सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेक प्रसाद ढुङ्गाना र बालकृष्ण ढकाल गरी १० जनाको स्पष्ट बहुमत छ । यीमध्ये मल्ल, फुयाँल, सुवेदी र ढुङ्गाना गरी ४ जना प्रधानन्यायधीशको रोलक्रममा रहेकामा फुयाँल एक्लै ४ वर्षभन्दा बढी प्रधानन्यायधीश बन्ने लाइनमा छन् । काँग्रेसप्रति झुकाव राख्ने विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत, प्रकाश ढुङ्गाना, कुमार रेग्मी, तिलप्रसाद श्रेष्ठ, सारङ्गा सुवेदी र सुनिल पोखरेल गरी ९ जना भएपनि पछिल्लो समय सुनिलको झुकाव राष्ट्रिय स्वतन्त्र पार्टीतिर रहँदै आएको छ । यीमध्ये काँग्रेस खेमाबाट राउत र रेग्मी गरी २ जनामात्र प्रधानन्यायाधीशको लाइनमा छन् । यो सेटिङ २०९३ पुस ५ गतेसम्मको लागि प्याक भइसकेको छ ।

न्यायाधीश बनाउन पैसा, पावर र नातावादको नालीबेली

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया