३ आश्विन २०८१, बिहिबार | September 19, 2024

भारतको सहयोगमा बनेको पोखरभिण्डी माविको भवनको उपराष्ट्रपति यादवले गरे उद्घाटन


November 27, 2023
83
Shares

काठमाडौं, ११ मंसिर । भारतको सहयोगमा बनेको रुपन्देहीको श्री पोखरभिण्डी माध्यमिक विद्यालयको भवनको उपराष्ट्रपति रामसहाय यादवले उद्घाटन गरेका छन् । सोमबार नवनिर्मित भवनको यादवले उद्घाटन गरेका हुन् ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको एक करोड २५ लाख आर्थिक सहयोगमा रुपन्देहीको रोहिणी गाउँपालिका–२, भटपुरवास्थित उक्त विद्यालयको नवनिर्मित विद्यालय भवनको उद्घाटन भएको हो । उद्घाटन समारोहमा भारतीय राजदूतावास, काठमाडौंका कार्यवाहक राजदूत प्रसन्न श्रीवास्तवको समेत उपस्थिति थियो ।

कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षकरशिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो ।

दुई तल्ले विद्यालय भवन भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत पहिले साना विकास परियोजना नामले परिचित परियोजना अन्तर्गत हो । जिल्ला समन्वय समिति, रुपन्देहीमार्फत यो परियोजनाको कार्यान्वयन गरिएको हो ।

कार्यक्रममा बोल्दै उपराष्ट्रपति यादवले नेपालका शैक्षिक तथा अन्य विविध क्षेत्रमा पूर्वाधार विकासका लागि भारत सरकारले गरेको सहयोगको प्रशंसा गर्दै दुई देशबीचको विकास साझेदारीले दुई देशका जनताबीचको मित्रताको सम्बन्धलाई अझ मजबुत बनाउन ठूलो योगदान गरेको बताए ।

भारतीय राजदूतावास, काठमाडौंका कार्यवाहक राजदूत प्रसन्न श्रीवास्तवले यी परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एक महत्वपूर्ण हिस्सा भएको बताए । उनले यी परियोजनाले हालैका वर्षमा उल्लेख्य प्रगति हासिल गरेको र नेपाल सरकार र नेपाली जनताका प्राथमिकतामा रहेका विभिन्न क्षेत्रहरुलाई समेत समेटेको बताए । उनले दुवै देशका जनताको हितका लागि नेपाल सरकारको प्राथमिकता अनुरुप विकास साझेदारीलाई सुदृढ गर्न भारत सरकार निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।

श्री पोखरभिण्डी माध्यमिक विद्यालय सन् १९५९ मा स्थापना भएको हो । त्यसयता यस क्षेत्रका विद्यार्थीलाई कक्षा १० सम्मको शिक्षा दिदै विद्यालयले राम्रो शैक्षिक वातावरणमा गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको छ । विद्यायलमा ६०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् जसमा करिब ५५५ छात्रा रहेका छन् ।

सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५५० वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएका छन् र ४८८ वटा परियोजना सम्पन्न भइसकेका छन् । यी मध्ये ६० वटा परियोजना लुम्बिनी प्रदेशमा रहेका छन् जसमा १२ वटा परियोजना रुपन्देहीमा छन् । यसका साथै भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ जसमध्ये लुम्बिनी प्रदेशलाई १६० वटा एम्बुलेन्स र ३५ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ । रुपन्देही जिल्लालाई हालसम्म २९ वटा एम्बुलेन्स र १४ वटा स्कुल बस प्रदान गरिएको छ ।

प्रतिक्रिया