३१ भाद्र २०८१, सोमबार | September 17, 2024

भावी सेनापतिको प्रतिष्पर्धामा निर्मल थापा र अशोक सिग्देल


November 23, 2023
83
Shares

काठमाडौं, ७ मंसिर । नेपाली सेनामा फेरि एकपटक भावी सेनापतिको दौड पेचिलो बनेको छ । सेनाभित्र जर्नेलहरुबीच एकले अर्कोलाई पाखा लगाउने गरी चलखेल चलेपछि उमेर विवाद बाहिर आयो । जसले को भावी सेनापतिको रोलक्रममा रहने भन्ने निश्चित भएन । सेनाभित्र उमेर र नागरिकता विवाद नआएको भए ताराध्वज पाण्डे सेनापतिको लाइनमा बस्ने निश्चित थियो । उनको नाम रथी बढुवाका लागि सिफारिश भइसकेको थियो । तर, तथ्यसहित उनको नागरिकता र उमेर विवाद बाहिर आयो । जसका कारण पाण्डेले राजीनामा दिए जुन बिहिबार स्वीकृत भएको छ । योसँगै नयाँ प्रतिष्पर्धी देखापरेका छन् ।

सेनापति प्रभुराम शर्मा २०८१ को भदौमा घर जानेछन् । तीन वर्षे कार्यकाल पूरा गरी उनी घर जाँदा अब रथीमा जो पहिला बढुवा हुन्छ उही सेनापतिको लाइनमा बस्छ । त्यसैले रथी बढुवा निकै पेचिलो बनेको छ । उमेर विवादले उपरथी पाण्डेको सेनापति बन्ने सम्भावनामा पूर्णविराम लागेको छ ।

पाण्डेको राजीनामा स्वीकृत भएकाले अशोक सिग्देल र निर्मल थापा रथी बढुवाका प्रतिष्पर्धी देखिएका छन् । सिग्देल देशभित्र छन् भने थापा युएन मिसनमा महत्वपूर्ण जिम्मेवारीका साथ पुगेका छन् । रोचक त यो छ कि सिग्देलको जन्ममितिमा पनि विवाद देखिएको छ । उनीविरुद्ध अख्तियारमा उजूरी समेत परेको छ । यसले सिग्देललाई पनि सेनापति बन्न कठिन हुने देखिएको छ ।

सिग्देलबारे पनि जंगी अड्डाले छानबिन चलाएको छ । यस्तो अवस्थामा थापाको भाग्योदय हुनसक्छ । रोलक्रममा तीन नम्बरमा रहेका उपरथी थापा सेनाभित्र सरल स्वभावका जर्नेल मानिन्छन् । उनको यही स्वभावले आफूभन्दा माथिका सैनिक अधिकृतका प्रीय बनेका छन् ।

सेनाभित्र जर्नेल अशोक सिग्देलले सेनापति बन्न भण्डाफोर अभियान भित्र भित्र चलाएको चर्चा चलेको छ । उनीप्रति सेनापति शर्मा पनि रुष्ट भएका छन् । सिग्देललाई रोक्न खेलमा एउटा समूह नै लागेको छ । यसले उनी अप्ठ्यारोमा परेका छन् । सेनाभित्र नेतृत्वको लाइनमा बस्न अस्वस्थ प्रतिष्पर्धा चल्दा घटनाक्रम रोचक मोडमा पुगेको छ ।

सैनिक मुख्यालयले बढुवाका लागि सिफारिश गरिसकेका पाण्डेको जन्ममितिमा विवाद आएपछि अब सिफारिश गर्दा सबै प्रमाणपत्र रुजु गर्ने भएको छ । यसले पनि अब सेनाभित्र जन्ममिति विवाद टुंगिने सम्भावना रहेको छ । तर, कतिपय जर्नेल यो प्रकरणपछि आत्तिएका छन् । विगतमा पनि नागरिकता विवाद र शैक्षिक प्रमाणपत्र विवादले कतिपय जर्नेलहरु कोर्ट मार्सलमा परेका थिए । कतिपय राजीनामा दिएर घर गएका थिए ।

प्रतिक्रिया