१७ मंसिर २०८१, सोमबार | December 2, 2024

सर्बनास भए छ उता फेरि


November 12, 2023
166
Shares

दुर्गा ढकाल । हामी त सधैं राहत मात्र बटुल्ने र राहत कसले पठाउँछ भनेर मुख ताकेर बस्ने मात्र भयौ। हेर न उता सर्बनाश नै गरे छ । के गर्नु र खोई शहरमा बस्नेहरुलाई केही मतलब नै छैन् । हिजो त दुई हात जोडी–जोडी यो गर्छु र त्यो गर्छु भन्दै आएका थिए । अनि हामीले पनि होला त नि भने र सबै जना गएर भोट गरेका थियौ । अझ अरुलाई नि उनैलाई भोट दिनलाई रात बिरात भनि खटिएका थियौं । तर यहाँबाट जितेर गए पछि के फर्किन्थे र आफुले उता कति तले बिल्डिंग र कति वटा घडेरी जोडी सके होलान् । सबै सुबिधा छदैं छ सहरमा अनि ऊता गाउँमा मान्छे मरुन कि जे सुकै गरुन के मतलब र, रीता फत्फताउँदै आई ।

होइन के भन्छ्यौ हँ ? कसलाई गाली गरि रहेकी छ्यौ। अनि निर्मल गइसक्यो कि के हो ? के भो र ? केही नयाँ कुरा सुन्यौ कि क्या हो आज ? तिमी फत्फताई रहेको सुन्दा त त्यस्तै लाग्यो त अस्ति नि बुहारी सुत्केरी भएर टीका लगाउन पाइएन भन्दै खवर लिएर आएकी थियौ फेरी के भो ? आमा एकछिन बाहिर निस्किदै रीतालाई सोध्नु हुन्छ।

हे भगवान अझै सुन्नु भएको छैन् । संसार रोदनमा डुबी सक्यो मान्छे कति मरी सके । के भाको तपाइँ चै यसो कहिले काहीं त समाचार पनि हेर्नु नि, गाउँमा बसे पनि समाचार हेर्नु, देश विदेशबारे बुझ्नु पर्छ नि के एकलकाटे भएर खालि खेतबारी मात्र गरेर बस्नु भाको तपाइँ पनि ।
हो नि हुन त अब चन्द्रे शहरबाट आएको, दशैं मनाउन, तिहार सम्म बस न त् सानीले टीका लगाई दिन्छे अनि जा भनेकी, फेरी होइन जान्छु, बरु तिहार कै मुख पारेर आऊँला, अहिले केहि काम छ भन्छ । यसो खर्च बर्च पनि चाहियो। त्यसै शहर पनि गईदैन । कमाको छैन। अनि अलमल्ल परेर बसी रहेकी थिएँ। फेरी तिमीले के खबर बोकेर आयौ र पो झसंग भएँ। के भयो रीता के खबर आयो भन त ?

के हुनु उही त हो नि, हाम्रा मान्छेहरुको केही भिजन छैन् । परे पछि मात्र तातिन्छ्न । नपरुन्जेल कानमा तेल हालेर बस्छन अनि यसरी कति दिन चल्छ ? सबै लाई थाहा भएको कुरा हो त हाम्रो देश भुईचालोले जोखिमपूर्ण छ भन्ने। तिबेति प्लेट र इन्डियन प्लेट सरिरह्न्छ भन्ने।

भुइचालोको जोखिम हो भनि सके पछि त अब बेलैमा सबै जनतालाई ग्रास रुट लेभल मै सुसुचित गराएर यसको जानकारी दिने । स्कूल बाट नै बच्न उपाय सिकाउने। र उचित शिक्षा दिलाउने गर्नु पर्यो नि, त्यो चै केहि छैन, दुई चार जना ले मात्र बुझेर हुन्न नी, गाउँ गाउँ मा, शहर शहरमा चेतना फैलाउनु पर्छ । साथै जोखिम छ भने पछि त सरकारले पनि कस्तो घर बनाउने र कति तले बनाउने भनेर मापदण्ड तोकी दिनु पर्यो कडाई गर्नु पर्यो। भोलि हुने जोखिम लाइ न्यूनीकरण गर्न अहिले देखी नै योजना बनाउनु पर्यो। योजना बनाएर मात्र हुन्न जोखिम र जन धनको क्षतिको बारेमा सर्ब साथारणलाई जानकारी गराएर सचेतना फैलाउनु पर्यो। भुइचालो त जान्छ । यो हामीले नियन्त्रण गर्न सक्दैनौ तर हाम्रो क्रियाकलाप त नियन्त्रण गर्न सक्छौ नी,हामीले सानो घर बनाउन सक्छौ। बलियो घर बनाउन सक्छौ। धेरै तला माथी तला नथपी, छिमेकीलाई नढेपी पनि केहि हदसम्म जोखिम कम गर्न सकिन्छ । साथै सधैं अर्काको आशमा मात्र बस्नु भन्दा पूर्व योजना बनाएर राहत कोष खडा गरी आफ्ना जनताको सुरक्षा आफैले गर्न सक्छौ। सक्दैनौ ? त्यो चै कहिले छैन, ल समय हुन्जेल यता प्रदेश नामकरण भन्या छ उता मन्दिरमा सुनको गजुर भन्या छ अर्को तिर कसलाई कता माफी दिने भन्या छ, कता के उद्घाटन भन्या छ, कता राजदुत नियुक्त गर्ने भन्या छ, कता आफ्नो पार्टी भन्या छ। देश र देशका जनताको हित, सहर गाउँ सबै तिर सुबिधा पुर्याउने, देशलाई गरिबी रेखाबाट माथि उकाल्ने प्रयास कहिले नगर्ने। के देश उभो लाग्छ खोई । साह्रै गार्हो हुने भो हामी नि गाउँ कहिले सम्म बस्ने हो शहर पनि गतिले गरेर बनाएको छैन भन्छन, गाउँमा नि सुख छैन, न विदेश गएर सुख छ नेपालीलाई, न देशमा बसेर साह्रै कठिन पो हुने भो त। बरु बाउ बाजेहरुको पालामा त कमसे कम सबैले सबैलाई त मान्थे, ईज्जत थियो, बिश्वाश थियो अहिले त के हो के हो के भाका हुन् नेता पनि उस्तै हामी नि उस्तै छौ। चुनाबको बेला कता मासु भात खान पाइन्छ भनेर मुख फेर्दै हिड्छौ अनि अहिले गरेनन भनेर नि के गर्नु ?

होइन लामो फेहरिस्त नै पो सुनायौ त गाँठे आज त, कसरी थाहा पाउछ्यौ तिमीले यी सबै कुरा ? अनि भुइचालो त कता गएको हो सहर तिर नै हो ?यो भिजन भन्या के हो फेरी (भन है भन म त तिम्रा कुरा सुन्दा निकै चाख पो लागेर आउछ। तिमीले नै पो मलाई बाठी पार्छ्यौ भने जस्तो पो लाग्न थाल्यो। तिम्रा कुरा ले खुब मन छुन्छ मेरो, म बुढी भए पनि।)

कसरी बुढी हुनु भो अहिले नै तपाइँ ?, कति छिटो खुट्टा तान्नु भएको। छोरी पनि सानै छे। छोरो कमाई धमाईमा लागेकै छैन अनि अहिले नै बुढी भनेर बस्न पाइन्छ र भन्या ? कम से कम यिनीहरुको भबिष्य त सोच्नु पर्यो नि तपाइँले । मैले उता जाजर कोटतिर भुइँचालो आएर धेरै जनधनको क्षति भएछ त्यहि कुरा गर्या। हामीलाई अहिले नपरे पनि सुन्दा नी सारै दुख लागेर आउछ क्या। हामीलाई पर्दैन भन्न सकिन्छ र ? नेपालमा जता पनि भुकम्प जोखिम छदै छ। फेरी अब तिमरु गाउँ नबस , काठमान्डूमै गएर बस भन्दै हुनुहुन्छ उहाँंले पनि। अनि काठमाडौंमा त् झन् कति डर मर्दो छ अरे घर नै घर जता ततै।

ए अनि तिमरु पनि साच्चै सहर जाने नै हो ? म त एक्लै पर्ने भएँ तिमरु नि हिड्यौ भने त। अनि तिम्रा श्रीमानले पनि केहि सहयोग गर्ने भए त भुइँचालो पिडित को लागी उसोभए। ऊ त विदेश बसेर आएको झन् । अब गर्नु होला नी। उतै गएर साथीभाई संग नि अलेली उठाएर पठाऊछु भन्दै हुनुहुन्थो। विदेश बसे पछि देशको खुब माया हुँदो रहेछ कि क्या हो सारै चिन्ता गर्नु हुन्छ। ए हो र झन् उताको रम् झममा भुले पो होला भन्या त त्यस्तो हुदो रहेन छ नी ?

के भुल्नु ? सधै नेपाल कै चिन्ता गरी राख्या मात्र देख्छु म त फोन मा कुरा गर्दा नि। रीता तिम्रा कुरा सुन्दा समय गएको पत्तै भएन, चन्द्रेले आमा कता अलमलिनु भो भन्दै होला म आफ्नो काम मा लागे हैं। बरु हामीले पनि केहि दिनु पर्ने हो कि त भन है म नि अलकति धान चामल जे जति छ ठिक पारि दिन्छु नी।

हुन्छ, हुन्छ त्यस्तो केही गर्ने भयौं भने म आउछु नी। हामी नेपालीको जे भए पनि मन त ठुलो नै छ है। छोरोलाई शहर पठाउन खर्च बर्च चाहियो भन्दै हुनुहुन्थो अहिले सम्म अहिले तुरुन्तै सहयोग गर्न तयार हुनु भो।

ल ल आकाशमा कालो बादल मडारी रहेको छ, पानी चुही हाल्ला जस्तो छ आँगन भरी बिस्कुन असरल्ल छ । म हिडे अहिलेलाई। पछि फेरी आउला भन्दै रीता हतार हतार गर्दै आफ्नो बाटो लाग्छिन् ।

लेखक ढकाल हाल विदेशमा हुनुहुन्छ ।

प्रतिक्रिया