१० श्रावण २०८१, बिहिबार | July 25, 2024

आज दिन र रात बराबर हुने महत्त्वपूर्ण दिन


September 23, 2023
0
Shares
श्याम खनाल: हामीलाई सानो सानोमा हाजिरीजवाफ प्रतियोगितामा सोध्ने गरिन्थ्यो – दिन र रात बराबर हुने दिन कुन कुन हुन् ? हामीले आफूले घोकेअनुसार उत्तर दिन्थ्यौँ – मार्च २१ र सेप्टेम्बर २३ । तर दिन र रात बराबर कसरी हुन्छ ? दिन लामो, रात छोटो या रात लामो, दिन छोटो कसरी हुन्छ यो चाहिँ थाहा थिएन ।
भूगोल विषय लिएर पढ्नेहरूले यसको बारेमा सामान्य जानकारी राखेपनि अरूहरूलाई यसको बारेमा खासै जानकारी नै थिएन । सायद त्यो बेला क्याम्पस लेभलमा विज्ञान विषय लिएर पढ्नेहरूले त जानकारी राख्थे कि ? तर यस विषयको वारेमा विस्तृत जानकारी हाम्रै प्राचीन ग्रन्थहरू सूर्यसिद्धान्त, सिद्धान्तशिरोमणि आदिमा पाइँदा रहेछन् । त्यहाँ यस किसिमका विषयका बारेमा यति राम्रोसँग बुझाइएका छन् कि, ती सबै कुरा यहाँ अवर्णनीय नै छन् । तर पनि दिनरातको बारेमा केही सारांश राख्ने प्रयत्न गरेको छु ।
जसरी पृथ्वीलाई ठ्याक्क आधा गरेर विभाजन गर्न पूर्वपश्चिम फैलिएको भूमध्यरेखा (वृत्ताकार भए पनि रेखा भनिने चलन छ) को कल्पना गरिएको छ त्यसैगरी आकाशलाई पनि विभाजन गर्न यही भूमध्यरेखाकै समानान्तर हुने गरी नाडीवृत्तको कल्पना गरिएको छ । पृथ्वीमा भूमध्यरेखाबाट उत्तरी भागलाई उत्तरीगोल र दक्षिणी भागलाई दक्षिणीगोल भनिएजस्तै आकाशमा पनि नाडीवृत्तदेखिको उत्तरी भागलाई उत्तरीगोल र दक्षिणीभागलाई दक्षिणीगोल भनिन्छ ।
यहाँ चित्रमा देखाइएको ना डी नामको वृत्तलाई नाडीवृत्त भनिन्छ । यो वृत्तमा वर्षको दुई दिन सूर्य हिँडेको देखिन्छ । ती अहोरात्रमा दिन र रात बराबर मानका हुन्छन् । अरु बेला चाहिँ यो वृत्तबाट उत्तरतिर वा दक्षिणतिर सूर्य हिँडेको देखिन्छ । यो वृत्तबाट उत्तरतिरका घ प, ग न आदि वृत्तमा सूर्य घुमेको देखिँदा दिन लामा रात छोटा हुन्छन् भने यो वृत्तबाट दक्षिणतिरका च फ, छ ब आदि वृत्तमा सूर्य घुमेको देखिँदा रात लामा दिन छोटा देखिन्छन् । यहाँ क्षि ति नामको क्षितिजवृत्तले दिन र रातलाई विभाजन गरेको गरेको छ । यही क्षितिजवृत्तदेखि सूर्य उदाउँछन् भने यही क्षितिजबाटै सूर्य अस्ताउँछन् ।
क्षितिजवृत्तभन्दा माथिका क ट, ज द आदि रेखाजस्ता देखिने वृूत्तार्द्ध दिनको आधा भागका प्रतीक हुन् भने क्षितिजभन्दा तलका ट ध, द भ आदि वृत्तार्द्ध रातका प्रतीक हुन् । त्यसैले क्षितिजभन्दा माथिका लामा भागमा सूर्य हिँडेको देखिँदा दिन लामा र रात छोटा हुन्छन् भने क्षितिजभन्दा माथिका छोटा भागमा सूर्य हिँडेको देखिँदा दिन छोटा र रात लामा हुन्छन् । यो कुराको वृस्तृत कुरा अब छिट्टै नै प्रकाशित हुन गइरहेको मेरो खगोलपरिभाषा भन्ने पुस्तकमा हुनेछ ।
यस्तो प्रत्यक्ष दिन पनि हाम्रा पञ्चाङ्गहरूमा मिलाइएको छैन । भारतवर्षबाट प्रकाशित अरु पञ्चाङ्गहरूमा यसको मेल खाएपनि हाम्रो नेपालबाट प्रकाशित प्रत्येक पञ्चाङ्ग अशुद्ध देखिन्छन् । सायनसूर्यको आधारमा दिनमानको साधन हुने हुनाले हाम्रा पञ्चाङ्गहरूले मान्दै आएको अयनांश अशुद्ध भएर पो यस्तो भएको हो कि ? या अरु कुनै कारणहरू हुन् ? मैले धेरै समयदेखि यसको जानकारी गराउँदा पनि शुद्ध बनाइएको छैन । किन यस्तो भएको हो यस अशुद्ध विषयलाई चाँडै शुद्ध बनाइयोस् भनी पञ्चाङ्ग निर्णायक समितिलाई यसै लेख मार्फत् सादर अनुरोध गर्दछु ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया