२३ भाद्र २०८१, आइतबार | September 8, 2024

राष्ट्रपति सीका विश्वासपात्रहरु धमाधम कारबाहीमा, चीनको सत्ता राजनीतिमा ठूलै कम्पनको संकेत


September 22, 2023
0
Shares

एजेन्सी, ५ असोज । चीनमा पक्कै कुनै राजनीतिक भुइँचालो आउनेवाला त छैन ? विश्वभर यसबारे चासो छ । चिनियाँ राष्ट्रपति सी चिनफिङका विश्वासमात्र मानिएकाहरु धमाधम गायब हुन थालेका छन् ।
केही महिनायता सीको विश्वासमात्र भएकैले राजनीतिक फड्को मारेकाहरु कारबाहीमा परेका छन् । पदबाट हटाइएका उनीहरु गायब छन् । भ्रष्टाचार र दुराचारमा दोषी ठहर गरी उनीहरुलाई जेलमा हालिएको हुनसक्ने अनुमान भइरहेको छ ।

हालैमात्र रक्षामन्त्री लि साङफू गायब भएका छन् । उनी हप्तौयता सार्वजनिक रुपमा देखिएका छैनन् । उनीमाथि सैन्य सामाग्री र उपकरण खरिदमा अनियमितताको आरोप लगाई छानबिन भएको बताइएको छ । चीनका दुई उच्च सैन्य अधिकारी जनरल ली युचाओ र जनरल लियु गुआङबिन कारबाहीमा परेका छन् । ली चिनियाँ जनसेनाको रकेट फोर्स युनिटको नेतृत्व गर्थे भने लियु उक्त युनिटका उपप्रमुख थिए । यी दुई जनरलहरु गायब भएको केही हप्तामै रक्षामन्त्री साङफू गायब भए ।

यसअघि चिनियाँ विदेशमन्त्री सिन गाङ पनि कारबाहीमा परेका छन् । विदेश मामलाको जिम्मेवारी वाङ यीले सम्हाल्न थालेका छन् । गाङ सी चिनफिङका सबैभन्दा विश्वासमात्र मानिन्थे जसका कारणले उनले राजनीतिमा छलाङ नै मारेका थिए ।

चिनियाँ राष्ट्रपति सीले आफूलाई माओ पछिको प्रभावशाली नेताका रुपमा प्रस्तुत गरिसकेका छन् । दुई कार्यकालको पदावधिलाई अनिश्चितकाल हुने गरी चिनियाँ कम्युनिस्ट पार्टीको विधान नै परिवर्तन गराए । उनले विधान परिवर्तनमा फरक मत राख्नेलाई कारबाही गरे । सी पदमा आउँदै गर्दा उनका प्रतिष्पर्धीहरु कतिपय कारबाहीमा परेका थिए ।

सीभन्दा अगाडिका राष्ट्रपति हुन जिन्ताओले आजीवन कम्युनिस्ट पार्टीको महासचिव बन्ने सीको कदमको विरोध गरेका थिए । उनलाई चिनियाँ कम्युनिस्ट पार्टीको बैठकबाट निकालिएको दृश्य चर्चामा आयो ।

सीले एकपछि अर्को शक्तिशाली अधिकारीलाई कारबाही गर्नुलाई चीनमा हुनसक्ने ठुलै राजनीतिक हलचलको संकेतका रुपमा समेत लिन थालिएको छ । सीको बलियो टिमका सदस्यहरुनै धमाधम कारबाहीमा पर्न थालेका छन् । यसबाट उनले आफ्नो पकडहरु गुमाउँदै गएको हुनसक्ने आँकलन गर्न थालिएको छ ।

प्रतिक्रिया