९ श्रावण २०८१, बुधबार | July 24, 2024

धर्म रोज्ने कि अधर्म ?


September 20, 2023
0
Shares

डा. दीपेश केसीः महाभारतको युद्ध हुनुपूर्व को कस्को पक्षमा लाग्ने तय हुँदै गयो । कोही कुन बहानामा त कोही कुन बहानामा कौरव र पाण्डवको पक्षमा लाग्न पुगे । अधिकांश राजा र योद्धाहरु पुस्तेनी रिसिबी र बदलाको भावनाले कित्ताकाट गर्न पुगे । वास्तवमा पाण्डवहरु पनि कौरवहरुबाट राज्य नपाएको, हत्याको षड्यन्त्रहरु भएको, द्रोपदीको वस्त्रहरण गरिएको रिसको बदला लिन युद्धका लागि तयार भएका थिए । राजा द्रुपदलाई आफ्नी छोरीको वस्त्रहरणको रिसभन्दा द्रोणसँग बदला लिने महत्वाकांक्षा थियो । धृष्टधुम्न बहिनी द्रोपदीको वस्त्रहरणको आवेगमा भन्दा पिता द्रुपदका लागि द्रोण बध गर्न युद्ध चाहन्थे ।

सकुनीलाई भीष्मसँग बदला लिनु थियो । काशीको राजकुमारी अम्बाले पटक पटक जन्म लिएर शीखण्डी बनिकन भीष्मको हत्याको कारण बन्न सकिन् । राजा साल्भलाई पनि आफ्नी प्रेमिका अम्बाको अपहरणको बदला लिनु थियो र कौरव पक्षमा लागे । भीष्म स्वयं प्रतिज्ञाको बन्दी बने । अधर्मको पक्ष जान्दाजान्दै कौरवको युद्ध सेनापति बने । द्रोण पनि अधर्मको पक्षधर भए । कठिन अवस्थामा आश्रय दिएको गुन लगाएको भन्दै कौरवको पक्षमै लागे । कर्ण पनि दुर्योधनको मित्रताको जालबाट निस्कन नसकेर अधर्मको पक्षमा लागिरहे । यसरी महारथीहरु नै विभिन्न प्रभाव, प्रतिज्ञा, वाध्यताको नाममा अधर्मको पक्षमा लागेको उदाहरण महाभारतको युद्ध नै हो । धर्मको पक्षमा जो जो भित्री मनले नभई आफ्नो बदला र स्वार्थ पूरा गर्न लागे तिनको पनि दर्दनाक मृत्यु भयो ।

महाभारतमा कसैको पनि पक्ष नलिने महान योद्धा थिए बर्बरिक । उनी जो कमजोर छ उस्को पक्षमा लाग्ने प्रतिज्ञाका दास थिए । आफूलाई एक प्रकारले तटस्थ या निरपेक्ष नै भन्थे । तर, सँसारमा यो भनाईमा सम्भव हुन्छ । या त अरुलाई झुक्याउनका लागि उपयोग गरिन्छ । वास्तवमा कोही पनि तटस्थ हुँदैन या भनौ निरपेक्ष हुनसक्दैन । बर्बरिक तटस्थ जस्तै बसेर जो कमजोर छ उसैको पक्षमा लागेर युद्धलाई अन्तहीन बनाउने दिशामा लागे । श्रीकृष्णले उनलाई योजना बनाएर युद्धको दर्शकमा सिमित पारिदिए । वास्तवमा कुनैपनि धर्मयुद्धमा कि धर्मको पक्षधर हुन्छन् कि अधर्मको । धर्मनीरपेक्ष या धर्मतटस्थ कोही हुँदैनन् । यो त सम्भव नै छैन । कसैले आफूलाई धर्मनीरपेक्ष भन्छ भने ऊ कि अबुझ छ या बुझेरै अरुलाई झुक्याइरहेको छ । ऊ कुनै अर्को धर्मको पक्षमा सक्रिय छ ।

देशमा पछिल्लो समय धर्मसापेक्ष कि निरपेक्षको बहस जोडतोडले चलिरहेको छ । नेपाल विगतमा विश्वको एकमात्र हिन्दुराष्ट्र थियो । आमूल परिवर्तनको नाममा देशको संविधानबाट हिन्दुराष्ट्र हटाइयो । देशको धर्म हुँदैन भनियो । सँसारमा कि धर्म हुन्छ कि अधर्म हुन्छ । राजधर्म कि अधर्म राज ? धार्मिक राज्य कि अधार्मिक राज्य ? यो रोज्ने बेला आएको छ अब । राजधर्म बिर्सिएर अधर्म राज खडा गरिएको अहिलेको घटनाले देखाइसकेको छ । धर्मछाडा शासन शैली हावी छ । ईश्वरको नाममा सपथ लिनुनपर्ने कानून बनाएर देश र जनतामाथि ठगीधन्दा राज्य चलाउनेहरुबाट भइरहेको छ ।

हो विगतमा पनि भ्रष्टाचार हुन्थ्यो । करोडमा भ्रष्टाचार गर्थे र कारबाहीमा पनि पर्थे । अहिले अरबमा भ्रष्टाचार हुन थालेको छ । भ्रष्टाचार गर्नेहरु विदेशमै घूस लेनदेन गर्न थालेका छन् । विदेशमा पैसा राख्न थालेका छन् । कालोधनको स्वर्ग मानिएका देशहरुमा रकम जम्मा गर्न थालेका छन् । कतिपय यही कालोधनका कारण ज्यानको खतरामा समेत परेका छन् ।

माहुरी महमा डुबेर मर्छ । झींगा चास्नीमा डुबेर मर्छ । हिजो करोडमा भ्रष्टाचार गर्ने नेता, कर्मचारी, न्यायाधीशहरु आज अरबौंमा गर्न थाले । त्यो पनि सेटिङमा घूस विदेशमै व्यवस्थापन गर्छन । उनीहरुका लागि भ्रष्टाचारको त्यो रकम नै काल बन्न पुग्छ । माफिया शैलीमा कालोधन विदेशमा जम्मा गर्नेहरु त्यही कालोधनले मारिएको उदाहरणमा विश्वमा धेरै छन् । अफ्रिकी देशमा हीरा, सुन, पेट्रोलको खानीमा हुने घूस विदेशमै लेनदेन हुने र त्यो धनका कारण त्यहाँका नेताहरु मारिने गरेका छन् । नेपालमा पनि यस्ता घटना भइसकेका र हुने क्रम बढ्न सक्छ । जब धर्मछाड राज चल्छ तब हुने यस्तै हो । जस्तो प्रणाली बनायो परिणाम त्यस्तै आउने हो ।

देशमा धर्ममाथि प्रहार हुँदा बेथिती विसंगतिको धुनचक्र चलिसकेको छ । अराजकताले सीमा नाघेको छ । मानिस पाप र धर्म सम्झिएर पनि भ्रष्टाचार, अनियमितता, अपराध गर्नबाट झस्किन्थे । धर्मलाई अफिम भन्दै अराजकतालाई प्रश्रय दिनेहरुले आफ्ना लागि शासनको जग त बसाले तर त्यो तासको घर जस्तै बन्नपुगेको छ । उनीहरु आफैले एकपछि अर्को क्षति भोग्दै गएका छन् । उनीहरुको व्यक्तिगत लाभ र हानी भन्दा देश र जनताले ठूलो मूल्य चुकाउनुपरिरहेको छ । यसकारण समाजको तल्लो इकाईबाट धार्मिक चेतना जाग्न जरुरी छ । धर्म मानिसको नशा नशामा बग्नुपर्छ जसले मूल्य मान्यता र नैतिकताको पाठलाई संचार गरिरहोस् ।

हामीसँग सनातन हिन्दु धर्म छ जसको सही अभ्यासले समाज सुसंस्कृत र सभ्य बन्छ । राजधर्मको पालना यही धर्मले सिकाएको छ । संयुक्त परिवार मजबुत बनाउने, समाज संगठित हुने, एक अर्कालाई पर्दा सहयोग गर्ने देखि जीवनशैली सरल र सभ्य बनाउने सिद्धान्त पनि हो हिन्दुत्व । यसमाथि प्रहार गर्नु हाम्रो सभ्य समाजलाई तहसनहस बनाउने ग्रान्डडिजाइन नै हो । हामी ८१ प्रतिशत छौं भन्दै ढुक्क हुनुपर्छ भनेर पनि प्रहार भएका छन् । कुनैबेला अफगानिस्तानमा पनि हिन्दु बहुमत थिए तर आज ५० जना पनि हिन्दु छैनन् अफगानिस्तानमा । धर्म परिवर्तन गराएर अर्को सभ्यताको विनाश गराउने प्रयोगहरु विश्वमा धेरै भइसके । जब सनातन देखि चलिआएको सभ्यता नै नष्ट पारिएपछि कुनैपनि देशको अस्तित्व समाप्त भइहाल्छ । नेपालको अस्तित्व समाप्त पार्ने गतिविधि यसरी नै भइरहेको छ । यसविरुद्ध समाजको तल्लो इकाई देखि जागरण चलिरहेको छ ।

यतिबेला हिन्दु धर्मविरुद्धको षड्यन्त्रबारे जागरण ल्याउने अभियान पूर्व देखि पश्चिमसम्म चलेको छ । समाजको तल्लो इकाईसम्म हिन्दुत्वको जागरण मौलाएको छ । धर्म कर्मकाण्डी मात्र होइन । पूजा गर्नु, प्रार्थना गर्नु मात्र धर्म होइन धर्म त जीवनपद्धति हो भन्ने सन्देश गइरहेको छ । हिन्दुत्व नेपाललाई मजबुत बनाउने र नेपालीलाई एकढिक्का पार्ने सूत्र पनि हो । पृथ्वीनारायण शाहले नेपाली एकीकरण गर्दाको विचार र सिद्धान्त पनि हो यो । नेपाल राष्ट्रको जग हो हिन्दुत्व । तर, संविधानमा यसलाई नामेट पारेर नेपालकै अस्तित्व समाप्त पार्ने चलखेलहरु भएपछि हिन्दुत्व विचारधाराका सिपाहीहरु देशको कुनाकाप्चामा पुगेर जागरणको काम गर्न तयार भए ।

धर्मका लागि महाभारत जस्तो अर्को युद्ध लड्न तयार भए । ठिक यही बेलामा बर्बरिकहरु देखिन खोजे । कौरव र पाण्डव जस्ता पात्रहरु पनि देखिए । निश्चित स्वार्थमा धर्मसापेक्ष र निरपेक्षको नाम दिएर जो जो देखिएपनि नेपालमा अब हुने भनेको धर्म र अधर्मबीचको निर्णायक लडाई नै हो । जसमा अनेकन पात्रहरु विभिन्न बहानामा पक्ष विपक्षमा देखिइसकेका छन् । तटस्थ बस्न खोज्नेहरु गीड नभएर केही गर्न नसक्ने दर्शक मात्र त हुन् । त्यसैले ढिलो हुन्छ जीत धर्मको हुन्छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया