४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

प्रहरीमा नियन्त्रण बनाउँदै देउवा, प्रचण्डलाई ठूलै धक्का


August 21, 2023
0
Shares

काठमाडौं, ४ भाद्र । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल प्रहरीमा आफ्नो नियन्त्रण बनाउँदै लगेका छन् । प्रहरी कारबाही नेपाली काँग्रेसका नेताहरुमाथि सोझिएपछि देउवाले सिधै प्रधानमन्त्री प्रचण्डसँग गृहमन्त्री हटाउन दबाब दिए । उनले प्रहरीमा सरुवाको प्रस्ताव राखे ।

सत्ता नै डगमगाउने भएपछि प्रचण्ड देउवाको प्रस्ताव मान्न तयार भए । उनले गृहमन्त्रालय सम्हालेका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई समेत बेवास्ता गर्दै एआइजी सरुवाको निर्णय लिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन गर्ने टोली नै सरुवामा परे । जसमा उपत्यका हेर्ने श्याम ज्ञवाली, अपराध अनुसन्धान कार्यालयका डा. मनोज केसी र काठमाडौं परिसरका दानबहादुर कार्की छन् ।

अपराध अनुसन्धानमा देउवाले सिधा आफ्नो स्वार्थ देखाए । सोमेन्द्रसिंह राठौर अपराध अनुसन्धान कार्यालयमा लगिए । उनलाई आरजु देउवाको चाहना अनुसार लगिएको हो । उनको विषय पनि अनुसन्धानमा परेको थियो । अब उक्त अनुसन्धानको फाइल बन्द हुने निश्चित नै छ ।

दानबहादुर कार्कीको ठाउँमा भूपेन्द्र खत्री लगिएका छन् । खत्री रक्षा मन्त्रालय सम्हाल्दै आएका उपप्रधानमन्त्री पूर्णबहादुर खड्का निकट मानिन्छन् । खड्काकै चाहनामा उनले एसएसपी बढुवामा छलाङ मारेका थिए ।

विश्वस्त स्रोतका अनुसार देउवाले आइजीपी वसन्तराज कुँवरसँग समेत समन्वय बनाएर प्रहरीमा आफ्नो नियन्त्रण रहने गरी सरुवाको वातावरण तयार गरेका हुन् । यो घटनासँगै प्रचण्डको भ्रष्टाचार र संगठित अपराधविरुद्धको अभियानमा धक्का लागेको छ ।

देउवाले अब आफूनिकटस्थहरुलाई सुरक्षित बनाउन सकेका छन् । तर, माओवादीभित्र पनि नयाँ तरंग आउने देखिएको छ । गृहमन्त्री समेत रहेका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ असन्तुष्ट हुँदै राजीनामाको तयारीमा छन् ।

प्रतिक्रिया