४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

सरकार ढाल्न खोज्नेहरुमाथि प्रचण्ड निर्मम, ‘गर या मर’ को लडाईंमा


August 12, 2023
0
Shares

काठमाडौं, २७ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रोपटक सरकारको नेतृत्वमा पुग्दा रणनीतिक चार्तुयता देखाएका थिए । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँगको सहकार्य तोड्दै हान्निएर बालकोट पुगी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग हात मिलाएका थिए ।

सत्ता सञ्चालनको तीन महिनामै प्रचण्डले ओलीसँग सहकार्य तोड्दै देउवासँग पुनः सहकार्य गरे । सत्ता टिकाउने र बढाउने यो खेल रोचक बन्दै जाँदा प्रचण्ड आक्रामक बन्दै गएका छन् । सत्ता समिकरणमा रहेका दलका नेताहरुलाई छानी छानी प्रचण्डले पक्राउ गर्न लगाएका छन् । जस्को जे कमजोरी छ त्यहीमा टेकेर प्रहार निरन्तर छ । यसरी प्रचण्ड आक्रामक बन्दै गएका छन् ।

प्रचण्ड सरकारले खोलेका फाइलहरु कुनै नयाँ होइनन् । कतिपय उजूरी परेर फाइल लुकाइएका थिए । ती सबै खोलिए यतिबेला ।

नक्कली भुटानी शरणार्थीको विषय लामो समय उठ्दा पनि बेवास्ता गरिएको थियो । प्रचण्डले फाइल खोल्न लगाएर टोपबहादुर रायमाझीलगायतलाई जेल हाल्न लगाए । बालकृष्ण खाँण पनि जेल परे । यो पनि प्रचण्डको आक्रामक रणनीति अन्तर्गत थियो जसले ओली र देउवालाई तर्साउन सक्यो । शरणार्थी प्रकरणमा देउवा र ओलीका खास मान्छेहरु जेल पर्ने अवस्था बनेपछि रक्षात्मक बनाइदिए ।

ललिता निवासको फाइल दुईपटक खुलिसकेको छ । सर्वेन्द्र खनाल आइजीपी हुँदा अनुसन्धान भई प्रतिवेदन बुझाएर कारबाही चलाइएको थियो । धीरज प्रताप सिंह आइजीपी हुँदा पनि कारबाही चलाइयो । अहिले वसन्तबहादुर कुँवर आइजीपी हुँदा फाइल फेरि खुलेको छ । यो प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराई पनि छानबिनको दायरामा ल्याइएका छन् ।

माधव नेपाल प्रधानमन्त्री बन्ने दाउमा बढिरहेका थिए । बाबुराम पनि प्रचण्डविरोधी कित्तामा उभिदै बढ्दै थिए । दुवैमाथि कारबाहीको त्रास देखाइदिएका छन् प्रचण्डले ।
पछिल्लो पटक डा. शेखर कोइराला निकट डा. सुनिल शर्मा नक्कली प्रमाणपत्र प्रकरणमा पक्राउ परे । शर्माले सुन तस्करीमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतमाथि आरोप लगाएका थिए । उनी प्रचण्ड सरकार ढाल्नुपर्ने पक्षमा छन् । ओलीसँग सहकार्य गर्ने पक्षमा देखिएका छन् सुनिल । यो प्रकरणमा प्रचण्डले शेखर कोइरालालाई तर्साएको देखिन्छ ।

प्रचण्डले जो जो विरोधमा उत्रन्छन् उसलाई तर्साइरहेका छन् । उनी विरोधीप्रति निर्मम छन् । यतिसम्मकी सत्ता साझेदार दलका नेताहरुलाई पनि जेल हाल्न पछि नपर्ने तयारीमा छन् । उनको यो कदमलाई गर या मरको लडाईंका रुपमा लिन सकिन्छ ।

प्रचण्ड यति धेरै अगाडि बढिसकेका छन् कि या त सत्ता गठबन्धनभित्र या बाहिरका विरोधीको राजनीति सिध्याउनुपर्ने अवस्था बनाएका छन् या त उनी आफै राजनीतिक रुपमा समाप्त हुन सक्छन् ।

प्रचण्डनिकट वर्षमान पुन र कृष्णबहादुर महरा सुन काण्डमा मुछिएका छन् । उनीहरुविरुद्ध भविष्यमा फाइल खुल्न सक्छ यति प्रचण्ड सत्ताबाट हटेमा । प्रचण्ड आफैमाथि लडाकु शिविरको रकम घोटालाको आरोप छ । यो विषय बाबुराम भट्टराईले शुक्रवार बुटवलमा पुगी बोलिसकेका छन् । यसकारण प्रचण्डका धेरै फाइल भविष्यमा उठ्न सक्छन् । उनका लागि अबको राजनीति गर या मरको लडाईं बनेको छ ।

प्रतिक्रिया