९ माघ २०८१, बुधबार | January 22, 2025

सुन तस्करको चिनियाँ गिरोहको जालो तोडिदै


August 11, 2023
0
Shares

काठमाडौं, २६ साउन । नेपालमा सुन तस्करमा चिनियाँ गिरोह संगठित रुपमै सक्रिय भएको तथ्यहरु एकपछि अर्को खुलिरहेको छ । नेपालमा संगठित रुपमा अपराध धन्दा चलाइरहेका त्यस्ता चिनियाँ नागरिकहरु अहिले भाग्ने क्रम चलेको छ । यस क्रममा कतिपय पक्राउ परेका छन् । पछिल्लोपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करमा संलग्न दुई चिनियाँ नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा लिजिया लिन र लिउ फुयान छन् । उनीहरुलाई सीआइबीको जिम्मा लगाइएको छ । १०० केजी सुन तस्करीमा अहिलेसम्म चारजना चिनियाँ नागरिक पक्राउ परिसकेका छन् । अन्य देशको नागरिक भएपनि दुई जना चिनियाँ मूलकै छन् ।

त्यसो त नेपालमा चिनियाँ संगठित आपराधिक गिरोहको कनेक्शन व्यापारी, कर्मचारीतन्त्रमात्र मात्र सिमित छैन । उनीहरु उपल्लो तहको राजनीतिक शक्तिसँग सिधा पहुँच बनाएर अपराध धन्दा चलाइरहेका छन् । पक्राउ पर्ने अवस्था आए माथिल्लो तहमा प्रभाव बनाएर उन्मुक्ति पाउँदै आएका छन् ।

२ साउनमा हङकङबाट एक सय केजी सुन तस्करी गरी नेपाल ल्याइएको घटना खुलेपछि चिनियाँ गिरोहको नेपालमा संगठित अपराधमा भइरहेको सक्रियताबारे तथ्य प्रमाणहरु खुल्न थालेको छ । ३ साउनमा भन्सार चेकप्वान्इट कटेपछि राजश्व अनुसन्धान विभागले ब्रेक सु मा लुकाई ल्याइएको सुन बरामद गरेको थियो । त्यसको भोलिपल्ट चिनियाँ नागरिक जीक्वाङ लिन भाग्न खोज्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

जीक्वाङ माथि अनुसन्धान बढाउँदा अर्का चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङ पक्राउ परे । छिरिङको सम्बन्ध माओवादी उच्च नेताहरुसँग रहेको पाइएको छ ।
यसैगरी, माओवादी उपाध्यक्ष कृष्णबहादुर महराको सम्बन्ध इलेक्ट्रोनिक चुरोट भेप मा लुकाएर सुन तस्करी गर्ने गिरोहसँग रहेको खुलेको छ ।

२०७९ को पौषमा भेप मा सुन लुकाएर ल्याउने गिरोहबारे खुलेपछि प्रहरीले यसै वर्षको जुलाईमा केही व्यक्तिलाई पक्राउ गरेको छ । चिनियाँ नागरिक दाओजिन वाङ भेपबाट सुन तस्करी प्रकरणमा ९ केजी सुन छुटाउन सक्रिय रहे ।

प्रतिक्रिया