१२ श्रावण २०८१, शनिबार | July 27, 2024

सरकारी सञ्चारमाध्यम बन्यो राजनीतिक दलको अखडा, गोरखापत्रपछि राससमा कानूनविपरीत कर्मचारी भर्ती र बढुवा


August 10, 2023
83
Shares

काठमाडौँ, २५ साउन । सरकारी पत्रिका गोरखापत्र दैनिकमा कानून विपरीत कर्मचारी नियुक्ति गरिएको राष्ट्रिय सतर्कता केन्द्रले छानबिन गरी तथ्य सार्वजनिक भएलगत्तै अर्को सरकारी समाचार संस्था राष्ट्रिय समाचार समिति (रासस) मा पनि कानून विपरीत कर्मचारी भर्ती र बढुवा गरेको खुलेको छ ।

राससले २०८० असार २७ गते गोरखापत्र दैनिकमा प्रकाशन गरेको बढुवा सिफारिसको सूचना, राससको वेबसाइटमा रहेको विनियमावली (सेवा, शर्त, संशोधन २०७६) को विपरीत भएको भनी सतर्कता केन्द्रमा उजुरी परेको छ । विनियमावलीको दफा ५४ (२) मा सेवा, समूह, उपसमूह परिवर्तन गर्न चाहनेका लागि उपयुक्तता परीक्षणको लिखित परीक्षा दिनुपर्ने व्यवस्था छ । तर यस्तो परीक्षा नलिइकन तह ५ मा कुमारी कमला पौडेल खनाल र रेश्मा शाक्य, तह ७ मा युद्धकुमारी खड्कालाई बढुवा गरिएको भन्दै साउन ११ गते उजुरी दर्ता भएको हो । दर्ता नं. ५१ मा उजुरी दर्ता भई छानबिनको प्रक्रियामा रहेको केन्द्र जानकारी दिएको छ ।

राष्ट्रिय सतर्कता केन्द्रका सूचना अधिकारी हरि प्रसाद शर्माले उजूरी परिसकेकाले प्रक्रियामा गइसकेको बताए । यसबारे छानबिन कहाँ पुग्यो भन्नेबारे उनले थप बताउन चाहेनन् ।

विनियमावलीमा एउटा कुरा लेख्ने र कार्यान्वयन आफूखुसी गर्ने हो भने कानूनको के काम ? यदि विनियमावली संशोधन गरिएको हो भने त्यो किन वेबसाइटमा राखिएको छैन ? शासन कानूनको हुनुपर्ने कि ? व्यक्तिको लहडमा कार्यालय चलाउने ? भनी विधिको शासनका पक्षधर अभियानकर्मीको समूहले केन्द्रमा उजुरी दर्ता गराएको छ ।

विनियमावलीमा हुँदै नभएको सह निर्देशक पदमा रुद्रमणि अधिकारी र धीरेन्द्रकुमार दत्तलाई बढुवा गरिएको गोरखापत्रमा सार्वजनिक गरिएको सूचनामा उल्लेख छ । लेखा शाखा प्रमुख रहेका रुद्रमणि अधिकारीलाई करिब एक दशकअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनियमितता गरेको उजुरी परेको भनी सो पदबाट अन्यत्र सरुवा गराउन निर्देशन दिएको भन्दै अन्यत्र सरुवा गरिएकामा हाल लेखा शाखामै सरुवा गराएर विनियमावलीले नचिनेको पदमा गैरकानूनी रुपमा गरिएको ‘बढुवा खारेज गराई पाऊँ’ भनी निवेदन पेश गरिएको हो ।

आठौँ तहबाट नवौँ तहमा बढुवा गर्दा एमफिल गरेकालाई पन्छाएर वर्षभरमा दुई महिना कार्यालय बिदा लिएर व्यापार गर्ने कर्मचारीलाई बढुवा गरिएको छ । नवौँ तहमा काम गरेका ज्येष्ठ कर्मचारी मनोज कार्कीको बढुवा गरिएको छैन । कार्कीले बेतलबी बिदा लिएर केही समय काम गरेकै कारण बढुवा नगरेको भनिन्छ । अन्य कार्यालयमा काजमा गई काम गरेर राससको तलब खानेको यसअघि र अहिले पनि बढुवा गरिएको छ । तर बेतलबी बिदा लिएर अन्त जानेलाई ज्येष्ठ हुँदा पनि बढुवा नगर्नु कानूनसम्मत हुन्छ ? भनी कर्मचारी नै प्रश्न गर्न थालेका छन् । यसले राससकर्मीमा काम गरेर नहुने रहेछ भन्ने सन्देश प्रवाह भएको छ । शक्तिकेन्द्रको चाकडी गर्नुपर्ने, उच्च अधिकारीसँग मिलेमतो गरे, जे पनि हुन्छ भन्ने भावनाको विकास हुँदा राससको काममा दीर्घकालीन प्रभाव पर्ने भएकाले यसमा सरोकार भएका निकायले ध्यान दिनु आवश्यक रहेको भन्दै सचेत नागरिकले पनि आवाज उठाउन थालेका छन् ।

सातौँ तहमा बढुवा गर्दा सेवा र समूहभन्दा बाहिरबाट ल्याएर बढुवा गरी रोलक्रममा रहेकालाई अन्याय गरिएको छ । छैटौँ तहबाट सातौँ तहमा बढुवा गर्दा डिग्री गरेकालाई भन्दा नक्कली तालिम लिएकालाई गरिएको चर्चा पनि राससमा छ । अध्यक्ष धर्मेन्द्र झा, महाप्रबन्धक सिद्धराज राई र प्रशासन प्रमुख शीतलप्रसाद महतोको मिलेमतोमा तालिमको नक्कली प्रमाण पत्र पेश गर्ने विक्रम गिरीलाई बढुवा गरिएको छ । उनका प्रतिष्पर्धी डिग्री गरेकालाई पछि पारिएको छ । सेवा, समूह परिवर्तन गरेर आफ्नालाई बढुवा गर्दा तह ७ मा खाली रहेको प्रशासन एवं लेखा समूहमा भने कसैलाई बढुवा गरिएको छैन । त्यो पद सञ्चार मन्त्रालयको दबाबमा खाली राखिएको समाचार स्रोतले जनाएको छ ।

बढुवामा अन्याय भएको भन्दै रासस अंग्रेजी शाखा प्रमुख दीपराज सन्यालले राजीनामा दिएको जनाइएको छ । सन्याल कार्यालय समयमा आफ्नो काम गर्ने इमान्दार कर्मचारीका रुपमा रहेको राससकर्मीको भोगाई छ । सन्याल सरले त बढुवाप्रति असहमति जनाउँदै राजीनामा दिनुभयो भने यसपटक विनियमावलीविपरीत अन्यायपूर्वक नै बढुवा गरिएको रहेछ भन्ने राससका अधिकांश कर्मचारीको भनाई छ ।

राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले फाइल बढुवा गरिएको बताए । नियममा लिखित मात्र लिएर बढुवा गर्ने भनिएकोमा फाइल बढुवा किन गरिएको भनेर सोध्दा उनले आफू बैठकमा रहेकाले महाप्रबन्धकसँग कुरा गर्न भने । यो विषयले अहिले राससमा ठूलै तरंग आइसकेकाले अध्यक्ष झा र महाप्रबन्धक सिद्धराज राई अप्ठ्यारोमा परेका छन् ।

‘नेपालको कानून, दैवले जानून’ भनेझैँ कार्यालयको वेबसाइटमा रहेको विनियमावली विपरीत काम भएको देखिन्छ । यसअघि श्यामल भनिने हरिहर अधिकारी कार्यकारी अध्यक्ष र ओपेन्द्र शर्मा महाप्रबन्धक हुँदा विनियमावली संशोधन गरी करिब एक वर्षसम्म लुकाएर राखिएको चर्चा राससकर्मीमा चल्ने गरेको छ । के यसपटक पनि विनियमावली संशोधन गरेर लुकाएर बढुवा गरिएको हो वा विनियमावली विपरीत नै बढुवा गरिएको हो ? भन्दै कर्मचारीले प्रश्न गर्न थालेका छन् । यस विषयमा छानबिन गरी दोषीलाई कानूनी कारबाही गरी पीडित कर्मचारीलाई न्याय दिन विधिको शासनका पक्षधर अभियानकर्मीको यो समूहले अपील गरेको छ ।

राससमा कानून विपरीत १८ जनालाई विशेष समाचारदाताका रुपमा नियुक्ति दिइएको छ । विनियमावली विपरीत लोक सेवा आयोगको परीक्षा दिएर असफल भएकासमेतलाई गरिएको यो नियुक्ति प्रक्रियाका विषयमा पनि छानबिन गरी दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउनु जरुरी आवश्यक छ भनी उजुरीमा माग गरिएको छ । यसअघि ज्यालादारीमा काम गरिरहेका ती समाचारदाता र कर्मचारी लोक सेवा आयोगले स्थायी पदपूर्ति गरेपछि महाप्रबन्धक सिद्धराज राईको सक्रियतामा विनियमावलीविपरीत जागीर खुवाएर जनताले तिरेको करको दुरुपयोग गरिएको हो । यी दुवै घटनाको छानबिन गरी दोषीलाई कडाभन्दा कडा कानूनी कारबाहीका लागि उजुरीमार्फत् अनुरोध गरिएको छ ।

 

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया