२२ भाद्र २०८१, शनिबार | September 8, 2024

इमरान खान पक्राउ,३ वर्ष जेल सजाय तोकियो


0
Shares

इस्लामावाद, २० साउन । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ठूलो झट्का लागेको छ । पाकिस्तानको ट्रायल कोर्टले इमरान खानलाई सरकारी उपहार (तोशाखाना मुद्दा) अवैध रूपमा बेचेको अभियोगमा ३ वर्षको जेल सजाय सुनाएको छ। जिल्ला र सत्र अदालतले पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का अध्यक्ष इमरानलाई तोशाखाना मुद्दामा दोषी ठहर गरेको छ।

इमरानविरुद्धको फैसला आएसँगै पाकिस्तान प्रहरीले पनि कारबाही गरेको छ । इमरान खान लाहोरबाट पक्राउ परेका छन् ।

कानुनी विज्ञहरू भन्छन् यस मुद्दामा दोषी ठहरिए इमरान खानको राजनीतिक करियर समाप्त हुन सक्छ। नोभेम्बरको सुरुमा हुने आम निर्वाचनमा इमरानले भाग लिने सम्भावना न्यून छ र उनले ५ वर्षसम्म चुनाव लड्न पाउने छैनन् ।

इमरान खानमाथि सन् २०१८ देखि २०२२ सम्म सरकारी उपहार बेचेर पैसा कमाएको आरोप लागेको थियो । यी उपहारहरू इमरानले विदेश भ्रमणका क्रममा प्राप्त गरेका थिए । पाकिस्तानको कानून अनुसार यी उपहारहरू स्टेट डिपोजिटरी (तोशाखाना) मा राख्नुपर्छ। तर, यदि कुनै प्रधानमन्त्रीले उनीहरुलाई आफूसँग राख्न चाहन्छ भने उसले लिलामी अन्तर्गत मूल्य तिर्नुपर्छ।

इमरानले ती उपहारहरू तोशाखानाबाट २.१५ करोडमा किनेर ५ करोडभन्दा बढीमा बेचेर ठूलो नाफा कमाएको आरोप छ । यी उपहारहरूमा महँगो कार, कलम र महँगो औंठीहरू पनि थिए।

प्रतिक्रिया