३१ भाद्र २०८१, सोमबार | September 17, 2024

चिनियाँ संगठित आपराधिक गिरोहसँग वर्षमान र महराको कनेक्शन


0
Shares

काठमाडौं, १५ साउन । नेपालमा चिनियाँ संगठित आपराधिक गिरोहको कनेक्शन व्यापारी, कर्मचारीतन्त्रमात्र मात्र सिमित छैन । उनीहरु उपल्लो तहको राजनीतिक शक्तिसँग सिधा पहुँच बनाएर अपराध धन्दा चलाइरहेका छन् । पक्राउ पर्ने अवस्था आए माथिल्लो तहमा प्रभाव बनाएर उन्मुक्ति पाउँदै आएका छन् । प्रहरीको खोजीको सूचीमा रहेका चिनियाँ अपराधिक गिरोहका सदस्यहरुलाई प्रहरीले पक्राउ नगरी आँखा चिम्लिएर बस्ने गरेको खुलेको छ ।

एक सय केजी सुन तस्करी प्रहरणले राजनीतिक वृत्तमा समेत हलचल ल्याएको छ । यसले चिनियाँ अपराधिक गिरोहको राजनीतिक कनेक्शनको रहस्य खुलाइरहेको छ । त्यस्ता गिरोहले देशको उच्च पदमा पुगिसकेकाहरुसँग सम्बन्ध बनाएर योजनावद्ध तरिकाले नेपालमा तस्करी, प्रविधिसम्बन्धी अपराधमा सक्रियता बढाएका छन् ।

२ साउनमा हङकङबाट एक सय केजी सुन तस्करी गरी नेपाल ल्याइएको घटना खुलेपछि चिनियाँ गिरोहको नेपालमा संगठित अपराधमा भइरहेको सक्रियताबारे तथ्य प्रमाणहरु खुल्न थालेको छ । ३ साउनमा भन्सार चेकप्वान्इट कटेपछि राजश्व अनुसन्धान विभागले ब्रेक सु मा लुकाई ल्याइएको सुन बरामद गरेको थियो । त्यसको भोलिपल्ट चिनियाँ नागरिक जीक्वाङ लिन भाग्न खोज्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परे ।

जीक्वाङ माथि अनुसन्धान बढाउँदा अर्का चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङ पक्राउ परेका छन् । आइतवार पक्राउ परेका उनको नेपालको सत्तारुढ नेकपा माओवादी केन्द्रका नेताहरुसँग सम्बन्ध रहेको खुलेको छ । चीनसँग निकट मानिने माओवादी नेताहरु कृष्णबहादुर महरा र वर्षमान पुनसँग छिरिङको सम्बन्ध रहेको पाइएको छ ।

राजश्व अनुसन्धान विभागका एक अधिकृतले नेपाल पेनलाई बताए अनुसार चिनियाँ तस्कर गिरोहको राजनीतिक कनेक्शनबारे अनुसन्धान भइरहेको बताएको छ । तर, कर्मचारीहरु नेताको नाम पोलिहाल्न डराउँछन् । उनीहरु माथिको आदेश कुर्दछन् ।

समाजिक सञ्जालमा छिरिङले माओवादीका उपमहासचिव वर्षमान पुन र उनकी पत्नी एवं पूर्वसभामुख ओनसरी घर्तीसँग खाना खाइरहेको तस्बीर पत्ता लागेको छ । पुन चीनसँग बलियो सम्बन्ध रहेका माओवादी नेता हुन् ।

माओवादी उपाध्यक्ष कृष्णबहादुर महराको सम्बन्ध इलेक्ट्रोनिक चुरोट भेप मा लुकाएर सुन तस्करी गर्ने गिरोहसँग रहेको खुलेको छ । २०७९ को पौषमा भेप मा सुन लुकाएर ल्याउने गिरोहबारे खुलेपछि प्रहरीले यसै वर्षको जुलाईमा केही व्यक्तिलाई पक्राउ गरेको छ । चिनियाँ नागरिक दाओजिन वाङ भेपबाट सुन तस्करी प्रकरणमा ९ केजी सुन छुटाउन सक्रिय रहे । उनले पूर्वसभामुख महरालाई लगाएर यो प्रकरणमा सुन र पक्राउ परेकाहरुलाई छुटाउन दबाब दिएका थिए । उनका छोरा राहुल महरा पनि यो घटनामा मुछिएका छन् ।

रोचक त यो छ कि वर्षमान पुन अर्थमन्त्री भइसकेका माओवादी नेता हुन् । महरा गृहमन्त्री भइसकेका छन् । गृह र अर्थ मन्त्रालय सम्हाल्नेहरुमाथि सुन तस्करीको दाग लाग्ने गरेको छ ।

सुन तस्करीमा पक्राउ परेका दावा छिरिङको संलग्नता नेपालमा अनलाइन ग्याम्बलिङ, म्याच फिक्सिङ, अश्लील भिडियो देखाउने, एपमार्फत् अवैध असुलीमा पनि रहेको छ । २०७९ को साउनमा ठमेलस्थित होटल भियनामा गैरकानूनी धन्दामा संलग्न चार चिनियाँ नागरिक पक्राउ परेका थिए । यो गिरोहमा दावा पनि थिए । तर, उनी फरार भए ।

२०७६ मा काठमाडौंमा अनलाइन ग्याम्बलिङ र अश्लील भिडियो देखाएर रकम असुल्ने गिरोहका १२२ चिनियाँ खोजीमा परेका थिए । प्रहरीले ठाउँ ठाउँमा गएर छापा मारेको थियो । त्यतिबेला सर्वेन्द्र खनाल आइजीपी थिए । चिनियाँ गिरोहको जालो धेरै तोडिएको थियो । तर, चिनियाँ अपराधिक गिरोहको संरक्षणमा नेताहरु नै सक्रिय भए । यो घटनामा अधिकांश चिनियाँ फरार भएका थिए । पक्राउ परेकाले नेपाल प्रहरीलाई नै आक्रमण गरेका थिए ।

नेपाल प्रहरीका एक उच्च अधिकारी चिनियाँ गिरोहलाई देशभित्र र बाहिरको समेत राजनीतिक संरक्षण प्राप्त भइरहेको बताउँछन् । उनीहरु योजनावद्ध रुपमा नेपालमा अपराधको जालो फैलाइरहेका छन् । विशेषगरी आर्थिक अपराधमा उनीहरुको संलग्नता बढिरहेको छ ।

नेपालमा संगठित अपराधमा चिनियाँ गिरोह नै लागेको छ । उनीहरु काठमाडौंका विभिन्न स्थानमा घर भाडामा लिएर अपराध कार्यमा लागेको पत्ता लागेको छ । तर, राजनीतिक पहुँच र प्रभाव देखाएर प्रहरी कारबाहीबाट जोगिने गरेका छन् । कतिपय घटनाको अनुसन्धान नै अगाडि बढ्न दिइदैन । चिनियाँ संगठित अपराधीको गिरोहले जालो निकै बलियो बनाइसकेको छ । यो नेपालको सुरक्षाकै लागि खतरा बन्दै गएको छ ।

प्रतिक्रिया