२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

नेपाललाई खरबौंंको ऋण बोकाउने बीआरआई योजना स्वीकार्न चीनद्वारा निरन्तर दबाब


0
Shares

काठमाडौं, ९ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चीन भ्रमणका बेलामा बेल्ट एण्ड रोड इनिटिएटिभ (बीआरआई) कार्यान्वयनको सम्झौता गराउने गरी दबाब बढाउन खोजिएको छ । यही उद्देश्यका साथ २६ सदस्यीय टोलीसहित चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य चुआन च्या च्युन नेपाल आएको रहस्य खुलेको छ ।
बीआरआई कार्यान्वयनको घोषणा गराउन चीनले राजनीतिक दबाब बढाइरहेको छ । नेपालले बीआरआई अनुदानमा लिने ऋणमा नलिने स्पष्ट पारेपनि चीन दबाब बनाइरहेको छ । उसले प्रधानमन्त्री प्रचण्डको भदौमा हुने भनिएको चीन भ्रमणमा यसको घोषणा गराउन चाहिरहेको छ ।

नेता चुआनले यसै मुद्यामा केन्द्रित रहेर राजनीतिक भेटघाट गरेका छन् । उनले प्रधानमन्त्री प्रचण्डसँग भर्चुअल संवाद गर्दा होस् या माओवादी वरिष्ठ उपाध्यक्ष समेत रहेका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसहितको टोलीसँग कुरा गर्दा नै किन नहोस् बीआरआई कै विषय उठाए । श्रेष्ठले त चीन भ्रमणबाट फर्किएपछि चीनको चासो बीआरआई कार्यान्वयनमा रहेको बताइसकेका छन् ।

नेपालमा अमेरिकी सहयोगसम्बन्धी एमसीसी अनुदानमा रहेकाले बीआरआई पनि त्यस्तै हुनुपर्ने नेपालको अडान छ । तर, चीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई नै बीआरआई अन्तर्गत हो भनिरहेको छ । त्यहाँ अरबौं चिनियाँ ऋण छ । विमानस्थलमा व्यवसायिक अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । जब कि उद्घाटन जनवरी १ मा भइसक्यो । ऋणको सावा घटाउन त के ब्याज तिर्न पनि मुश्किल पर्ने देखिएको छ व्यवसायिक उडान हुन नसक्दा ।

नेपाल भ्रमणमा रहेका चिनियाँ नेता चुआनले बीआरआई सम्बन्धी सम्झौता २०१७ मा भइसकेपनि कार्यान्वयनको घोषणा नहुनुबारे प्रश्न गरेका छन् । उनले यसबारे मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा पनि यसबारे चासो राखेको विश्वस्त स्रोतले बताएको छ । ओलीले आफ्नो पालामा भएका चीनसँगको सम्झौतालाई रोक्न खोजिएको विषय राखेको बुझिएको छ । उनले प्रचण्ड चीनविरोधी गठबन्धनमा रहेकोले समस्या आएको जिकिर गरे ।

ओली प्रधानमन्त्री हुँदा बीआरआई सम्झौता भएको थियो । तर, २०२२ मा शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि अनुदान भएमात्र स्वीकार्न सकिने जवाफ नेपाल सरकारले चीनलाई दिएको थियो । चीन भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई बीआरआई अन्तर्गत भनिरहेको छ । जुन नेपालले स्वीकारेको छैन ।

चिनियाँ नेता चुआनले नेपालका नेताहरुसँगको भेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको संचालनबारे पनि कुराकानी गरे । चीनको ऋणमा विमानस्थल निर्माण भएको हो उक्त् विमानस्थल ।

चुआनले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सेप्टेम्बरमा हुने चीन भ्रमणबारे पनि छलफल गरेका छन् । प्रचण्डसँग उनको आइतवार भर्चुअल संवाद भएको थियो ।

चिनियाँ नेता चुआनले नेपालका राष्ट्रपति रामचन्द्र पौडेल, सभामुख देवराज घिमिरे, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भेटवार्ता गरे ।

चुआनले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङलगायत नेताहरुसँग एकसाथ भेटेका थिए । डिनर मिटिङमा महत्वपूर्ण कुराकानी भएको बुझिएको छ । चीन ओहोरदोहोर गर्ने वर्षमान पुन पनि बैठकमा सामेल थिए ।

प्रतिक्रिया