११ श्रावण २०८१, शुक्रबार | July 27, 2024

दैलेखमा भारतको सहयोगमा निर्मित ४ शैक्षिक संस्थाका भवनको उद्घाटन


0
Shares

काठमाडौं, २१ असार । दैलेखमा भारतको सहयोगमा निर्मित चार वटा शैक्षिक संस्थाका भवनहरुको उद्घाटन भएको छ । भवनहरुमध्ये तीनवटा विद्यालय र एक क्याम्पसको भवन छन् । १० करोड ८६ लाख नेपाली रुपैयाँको लागतमा चारवटा भवनको निर्माण भएको हो ।

भारतीय राजदूतावासको विकास साझेदारी प्रभागका द्वितीय सचिव प्रशान्त कुमार सोना र जिल्ला समन्वय समिति, दैलेखका प्रमुख नमराज शाहीले संयुक्त रुपमा भवनहरुको उद्घाटन गरेका हुन् ।

नेपाल–भारत विकास सहकार्य अन्तर्गत भारत सरकारको सहयोगमा निर्माण गरिएका तीनवटा विद्यालय भवनहरु क्रमशः लालिकाँडास्थित श्री मालिका उच्च माध्यमिक विद्यालय, बडाभैरवस्थित श्री भैरव माध्यमिक विद्यालय, बडाखोलास्थित श्री जगदीश माध्यमिक विद्यालय र रामपुरस्थित श्री नारायण क्याम्पसको भवन छन् । भवनहरु १८ असारमा स्थानीय निकायलाई हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा गुराँस गाउँपालिकाका अध्यक्ष टोप बहादुर वि.सी, भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेश बहादुर थापा, महाबु गाउँपालिकाका कार्यवाहक अध्यक्ष मन्जु कुमारी शर्मा ९पाण्डे०, नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्मा, समाजसेवी, राजनीतिक दलका प्रतिनिधि, नेपाल सरकारका पदाधिकारी तथा स्थानीय समुदायका अगुवाको उपस्थिति थियो ।

परियोजनाहरु भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको उल्लेख छ ।

विद्यालय र क्याम्पस निर्माण परियोजनाको कार्यान्वयन जिल्ला समन्वय समिति, दैलेखमार्फत भएको हो । विद्यालय र क्याम्पस भवनले त्यस क्षेत्रका विद्यार्थीलाई गुणस्तरीय शैक्षिक पूर्वाधार उपलब्ध गराई दैलेख जिल्लामा गुणस्तरीय शिक्षाको लागि उपयुक्त वातावरण सिर्जना गर्न मद्दत गर्ने विश्वास लिइएको छ ।

सन् २००३ यता भारतले नेपालमा ५४४ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइसकेको छ जसमध्ये ४८० वटा परियोजना सम्पन्न भइसकेका छन् ।

परियोजनाहरुमध्ये दैलेखका ४ वटा गरी कर्णाली प्रदेशमा १४ वटा परियोजना रहेका छन् । यसका अतिरिक्त भारत सरकारले भारतको स्वतन्त्रता र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी तथा शैक्षिक संस्थालाई ९४० वटा एम्बुलेन्स र १८४ वटा स्कुल बस उपहार स्वरुप प्रदान गरिसकेको भारतीय राजदूतावासले जनाएको छ । यी मध्ये दैलेख जिल्लालाई हालसम्म ६ वटा एम्बुलेन्स उपलब्ध गराइएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया