३ आश्विन २०८१, बिहिबार | September 19, 2024

चीनको मानसरोवर हुँदै सिगात्से अनि भारतको हिमाञ्चल हुँदै सिक्किम विवेकशीलले ल्याएको सांस्कृतिक मानचित्रमा


0
Shares

काठमाडौं, १६ असार । नेपाल वर्तमान अवस्थामा भौगोलिक रुपमा खुम्चिएपनि कुनैबेला सिक्किम देखि हिमाञ्चलसम्म फैलिएको थियो । जुन अहिले भारतको छ । उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बतको सिगात्से, कुती हुँदै मानसरोवरसम्म फैलिएको थियो ।

१८औं शताब्दीको नेपालको गौरवशाली मानचित्र विवेकशील साझा पार्टीले सार्वजनिक गरेको छ । नेपालको एक राजनीतिक दलले चीन र भारत दुवैको वर्तमान भूभागहरु समेटेर शुक्रवार सार्वजनिक गरेको नेपालको सांस्कृतिक नक्शाको विषय चर्चामा पुगेको छ । यसअघि ग्रेटर नेपाल भनी सार्वजनिक नक्शामा भारतको मात्र भूभाग समेटिएकोमा विवेकशीले सार्वजनिक गरेको नक्शामा चीनको समेत भूभाग समेटिनुले चर्चा बनेको हो ।

विवेकशील पार्टीका उपाध्यक्ष प्रकाशचन्द्र परियारले ऐतिहासिक नेपालको गौरवमय सांस्कृतिक मानचित्र गहिरो अनुसन्धानपछि सार्वजनिक गरिएको बताए । उनले इतिहासमा नेपालले जहाँसम्म सैन्य विजय हासिल गरेको थियो त्यहाँसम्मको भूभाग समेटिएको बताए ।

नक्शामा तासिहुम्पो गुम्बा पनि छ । सगरमाथाभन्दा उत्तरतर्फको केही भूभाग पनि नेपालको सांस्कृतिक नक्शामा छ ।

भारततर्फको उत्तराखण्ड, हिमाञ्चल, सिक्किम, दार्जिलिङ र विहारका कतिपय भूभाग पनि सांस्कृतिक नक्शामा समेटिएका छन् ।

भारतले आफ्नो नयाँ संसद भवनमा नेपालको भूभागसहित समेटेर सांस्कृतिक नक्शा राखेपछि नेपालमा त्यसको विरोध भइरहेको छ । विभिन्न समूहले भारतको मात्र भूभाग समेटेर नेपालको सांस्कृतिक नक्शा भन्दै सार्वजनिक गरेका थिए । विवेकशील साझा पार्टीले भने चीनको समेत भूभाग समेटेर सांस्कृतिक नक्शा समेटेको छ ।

विवेकशील साझा पार्टीका उपाध्यक्ष परियारले यो नक्शा राजनीतिक नभई सांस्कृतिक मात्र भएको बताए । नयाँ पुस्तालाई नेपालको गौरवगाथा सम्झाउनका लागि सांस्कृतिक नक्शा अनिवार्य भएको उनको भनाई छ ।

प्रतिक्रिया