३१ भाद्र २०८१, सोमबार | September 17, 2024

कोरोनाकालमा धोबीखोला मास्ने वडाध्यक्ष ढकालले प्राविधिक सिफारिसविपरीत डोजर हानेको खुलासा


0
Shares

काठमाडौं । कोरोनाकालमा धोबीखोला मास्ने काठमाडौं महानगरपालिका वडा नम्बर २९ का वडाध्यक्ष कुश ढकालले प्राविधिक प्रतिवेदनविपरीत वडा भवन बनाउन सिफारिस गरेको भेटिएको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई प्राविधिक समितिले बुझाएको प्रतिवेदनलाई ‘बाइपास’ गरेर वडाध्यक्ष ढकाल, सदस्यद्वय अनिलकुमार श्रेष्ठ र सन्तोष ढुंगेलले डोजर चलाएको खुलेको हो ।

काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगका उपाध्यक्ष तपेन्द्रबहादुर खड्काले मेयर बालेन शाहलाई बुझाएको प्राविधिक प्रतिवेदनमा ९ नम्बर कित्तामा वडा भवन बनाउन उपयुक्त हुने उल्लेख छ । प्राविधिक दृष्टिकोणले ९ नम्बर कित्तामा वडा भवन बनाउन शहरी योजना आयोगले सिफारस गरेपनि वडाका जनप्रतिनिधिले ८ नम्बर कित्तामा डोजर लगाएको खुलेको हो ।

९ नम्बर कित्तामा सरकारी जग्गा खाने हरिप्रसाद गिरीलगायतको विशेष स्वार्थ छ । डोजर लागेपछि ८ नम्बर कित्ताको जग्गा खान केही व्यक्ति सक्रिय भएका छन् । आफ्नो लालपूर्जा देखाउँदै नाप्न समेत थालेका छन् । यसमा वडाध्यक्ष ढकालको सेटिङ रहेको आरोप छ ।

 

शहरी योजना आयोगले गत जेठ १४ गते दिएको प्रतिवेदनलाई लत्याउँदै वडा कार्यालयले ८ नम्बर कित्ताको खेल मैदान र हरियाली मास्ने काम गरेको छ । सरकारले गरेको कम्तिमा १० लाख लगानी क्षति पुग्ने गरी वडा कार्यालयले डोजर चलाएको हो । मेयर बालेन बाहिर भएका बेला खेल मैदान र पार्कमा डोजर लगाइएको हो ।

९ नम्बर कित्ता गुठीमा लगेर हिनामिना गरेपछि ८ नम्बर कित्तामै वडाका जनप्रतिनिधिहरु वडा भवन बनाउन लागिपरेका छन् । वडा सदस्य सन्तोष ढुंगेलको नेतृत्वमा महानगर घेर्नेसम्मको कार्यक्रम गर्ने चर्चा छ ।

 

वडाध्यक्ष ढकालले आफ्नो बदमासीविरुद्ध आएका समाचारलाई डाइभर्ट गर्न डोजर लगाएको पाइन्छ । उनले हतारमा डोजर लगाएर आफ्नो कर्तुत ढाकछोप गर्न केही हदसम्म सफल भएका छन् । वडा भवन बनाउने विषयमा समाजलाई दुई भागमा विभाजन गरेर धोबीखोला सिध्याउने गरी सिफारिस गरेको इस्यूलाई डाइभर्ट गर्न वडाध्यक्ष ढकाल रणनीतिक रुपमा सफल भएका हुन् । तर, उनीविरुद्ध विभिन्न निकायले छानबिन गरिरहेको छ । स्वास्थ्य लाइभ

प्रतिक्रिया