६ कार्तिक २०८१, मंगलबार | October 22, 2024

चीनले कैशाल मानसरोवर यात्रा कठिन बनायो


0
Shares

काठमाडौं, २६ वैशाख । चीनले कैलाश मानसरोवर यात्रालाई कठिन बनाइदिएको छ । भीसालगायत विभिन्न शुल्क वृद्धिका साथै प्रवेश कडाई गरेपछि नेपाली र विदेशीका लागि यात्रा कठिन बनाएको हो । विशेषगरी भारतीय तीर्थयात्रीलाई लक्षित गरी नयाँ नियमहरु ल्याएको छ ।

कडा नियम बनाएर चीनले भारतका तीर्थयात्रीलाई रोक्न खोजेको विश्लेषण हुन थालेको छ । ट्राभल एजेन्सीहरुले यात्रीका लागि नियम सहज बनाउन पहल थालेका छन् । ट्रेकिङ एजेन्सी एशोशिएसन अफ नेपाल र एशोशिएसन अफ कैलाश टुर अपरेटर्स नेपालले चिनियाँ राजदूत चेन सोङलाई ध्यानाकर्षण पत्र समेत पठाएका छन् ।
यतिसम्मकी चीनले भारतीय तीर्थयात्रीका लागि यात्राशुल्क अन्य देशका पर्यटकको भन्दा बढी राखेको विषय ध्यानाकर्षणपत्रमा उल्लेख छ ।

भारतका पर्यटक तिब्बत जाने अनुमतिका लागि नयाँ दिल्लीमै भीसा लिनुपर्ने वाध्यता छ । पर्यटक आफै भीसाका लागि उपस्थित हुनुपर्छ अनलाइन आवेदन दिन पनि मिल्दैन । बायोमेट्रिक विवरण दूतावासमै लिने अनिवार्य गरिएको छ । विगतमा यो विवरण सीमानाकाको अध्यागमन कार्यालयमा बुझाउन सकिन्थ्यो ।

नयाँ नियम अनुसार कैलाश मानसरोवर यात्रामा जाने भारतीय पर्यटक कम्तिमा पाँच जनाको समूहमा हुनुपर्ने र कम्तिमा चारजना भीसाका लागि भौतिक रुपमा नै उपस्थित हुनुपर्ने छ ।

नेपालीका लागि पनि भीसा शुल्क बढाइएको छ । कोभिड महामारी अगाडि नेपालीले भीसा शुल्क ४२०० रुपैयाँ तिरे पुग्नेमा १३ हजार पुर्याइएको छ । तीर्थयात्रीको भरिया बनेर जानेले ३ सय डलर तिनुपर्ने भएको छ । यसअघि एक सय डलर तिरे पुग्दथ्यो । नेपालीका लागि पनि बायोमेट्रिक विवरण काठमांडूमै लिनुपर्ने व्यवस्था गरिएको छ ।

भारतीय तीर्थयात्रीलाई कडाई गरिएपछि नेपालका ट्राभल एजेन्सीहरु निरुत्साहित भएका छन् । नेपालको काठमाडौंबाट ल्हासा हवाई यात्रा हुँदै कैलाश मानसरोवर यात्रा नेपालगञ्जबाट सिमिकोटबाट हिल्सातर्फबाट हुने यात्राको तुलनामा महङ्गो पर्ने गरेको छ ।

कैलाश मानसरोवरको यात्रा सन् २०१६ यता निकै बढेको छ । तर, चीनले पछिल्लो समय गरेको कडा नियम र बढाएको भीसा शुल्कका कारण यात्रीहरु निरुसत्साहित हुने देखिएको छ ।

कैलाश मानसरोवर यात्रासम्बन्धी ट्राभल एजेन्सीहरुले ६० हजार डलर धरौटी राख्नुपर्ने मापदण्ड समेत चीनले तोकेको छ ।

हिन्दू धर्मालम्बीको पवित्र तीर्थस्थल कैलाश मानसरोवर यात्रमा चीनको कडाई र शुल्क वृद्धिले नेपालमा यससम्बन्धी व्यवसायी चिन्तित भएका छन् । तर, चीनले यसबारे नेपाली पक्षको कुरा सुन्ला कि नसुन्ला ? चासो बनेको छ ।

प्रतिक्रिया