३१ भाद्र २०८१, सोमबार | September 17, 2024

उपेन्द्र यादवले बाराबाट बाजी मारे


0
Shares

काठमाडौं, १३ वैशाख । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बारा २ को उपनिर्वाचनमा बाजी मारेका छन् । उनले निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहालाई ५ हजार ८१ मतान्तरले पराजित गरी महत्वपूर्ण जीत निकालेका हुन् ।

वैशाख १० गते भएको उपनिर्वाचनको अन्तिम नतिजामा यादवले २८ हजार ४१५ मत पाउँदा कुशवाहाले २३ हजार ३३४ मत पाएको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोजकुमार चौधरीले जानकारी गराए । नेकपा एमालेका पुरुषोत्तम पौडेल १० हजार २१६ मत पाएर तेस्रो स्थानमा रहे ।

बाराका ३ उम्मेदवार बाहेक कसैको पनि जमानत जोगिएन । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेल २ हजार ८२९ मत मात्र ल्याउन सफल रहे । आम जनता पार्टीका अरुणकुमार ज्ञवालीले २ हजार ७३८ मत ल्याए ।

उपेन्द्र यादव मंसिर ४ को चुनावमा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग सप्तरी २ बाट दोब्बर बढी मतान्तरले पराजित भएका थिए । बारा २ मा भने उनले राउतकै दलका उम्मेदवारलाई पराजित गरे ।

जसपाबाट सांसद बनेका रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएपछि बारा २ को सांसद पद रिक्त थियो । उपेन्द्र यादवलाई सांसद बन्ने ढोका खोल्न पनि रामसहायलाई उपराष्ट्रपतिमा बढाइएको थियो ।

प्रतिक्रिया